१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
उपप्रधानमन्त्री तथा कोरोना नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेल
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २० बिहीबार ०७:३२:००
Read Time : > 2 मिनेट
अन्तर्वार्ता

ईश्वर पोखरेल भन्छन्–डाक्टरहरू के–के भन्छन्, मैले बुझेको छैन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २० बिहीबार ०७:३२:००

कोरोना भाइरस नियन्त्रणको सम्बन्धमा सरकारले गरेको तयारीको विषयमा केही प्रश्न उठेका छन् । लामो समयको प्रतीक्षापछि औषधि र उपकरण ल्याउन सरकारले एउटा कम्पनीलाई ठेक्का दिएको थियो, तर अचानक आज त्यो पनि रद्द भएको छ । यसले गर्दा हामी ‘मिडल अफ नो ह्वेर’को अवस्थामा छौँ । अब सरकारको कदम के हुन्छ ?

त्यो स्वास्थ्य सेवा विभागको डाइरेक्टरसँग सोध्नुभएन ? 

उहाँलाई सोधियो, तर कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको संयोजक तपाईं हो, तपाईंहरूको तयारी के छ भनेर बुझ्ने खोजेको हो ।

स्वास्थ्य सेवा विभागका डाइरेक्टरले सम्झौता गरेको हो, स्वास्थ्य सेवा विभागका डाइरेक्टरले नै रद्द गरेको हो । 

स्वास्थ्य सेवा विभाग पनि सरकारकै अंग हो । त्यसको नेतृत्वमा तपाईंहरू हुनुहुन्छ । त्यसैले सम्झौता किन रद्द भयो र अब के हुन्छ भन्ने विषयमा जनतालाई चासो छ नि?

मैले भनिहालेँ नि । स्वास्थ्य सेवा विभागका डाइरेक्टरले सम्झौता गरेको हो, उहाँले नै रद्द गरेको हो । 

तर, सरकारले तयारी के गरेको छ भन्ने हाम्रो चासो हो ।

हाम्रो तयारी हामीले गरिरहेका छौँ । 

संसार अहिले विपत्तिको अवस्थामा छ । नेपाल सरकारले ल्याएको स्वास्थ्य सामग्री काम नलाग्ने भएर ठेक्का सम्झौता रद्द भएको छ । त्यसैले अब के हुन्छ भनेर हामीले सोध्ने र तपाईंले जवाफ दिने कर्तव्य हो नि ?

स्वास्थ्य सेवा विभागका डाइरेक्टरले के भन्नुहुन्छ, त्यो सुन्नुपर्‍यो नि तपाईंले । हामी औषधिको अभाव हुन दिन्नौँ । अहिले आएका सामान स्काई ट्रक र गाडीबाट गइरहेका छन् । 

टेस्ट किटहरू जे आएका छन्, त्यसको गुणस्तरमाथि प्रश्न उठेको छ । कोरोना नभएको मान्छेको रिपोर्ट पोजेटिभ आउने र अस्पतालमा बस्ने, तर कोरोना भएको मान्छेको रिपोर्ट नेगेटिभ आउने र बजारतिर डुल्ने स्थिति आयो भने भयावह हुन्छ भनेर विज्ञहरू नै चिन्तित छन् । प्रयोगशालाका प्राविधिक र डाक्टरहरूको पनि यसमा चासो छ । जनता र स्वास्थ्यकर्मीलाई विश्वासमा लिने कर्तव्य तपाईंहरूको हो नि ।

मैले भन्नुपर्ने कुरा तपाईंलाई बताएँ, डाक्टरहरू के–के भन्छन् मैले बुझेको छैन । तर, आवश्यक सामग्री स्वास्थ्य सेवा विभागको अगुवाइमा सबै ठाउँमा गएका छन् । अरू हामीले जान्ने कुरा भएन ।

तर, एकातिर स्वास्थ्य सेवा विभागका महानिर्देशकले नै बजारभाउभन्दा २० प्रतिशत बढी मूल्य तिरेर सम्झौता गरेको स्वीकार्नुभएको छ । त्यस्तै, राष्ट्रिय प्रयोगशालाका प्राविधिकहरूले अहिले आएको टेस्टिङ किट प्रयोग गर्न अस्वीकार गर्नुभएको छ...

त्यस्तो हुँदैन, सबै सामग्री उपयोग हुन्छ ।

देश इमर्जेन्सीमा छ । शुक्रबार तपाईंहरूले निर्णय गरेर सम्झौता गर्नुभयो, शनिबार जहाज पठाउनुभयो । आइतबार सामान आयो । तर, पूरा सामान नआउँदै बुधबार सम्झौता रद्द गर्नुभयो । त्यसमा जनताले जान्न खोज्छन् भने तपाईंहरूमाथि अन्याय नहोला नि ।

यसमा स्वास्थ्य सेवा विभागका डाइरेक्टरले जे बताउनुभयो, त्यही हो । 

यो विपत्तिको वेलामा सरकारले गरेको सम्झौता अचानक खारेज हुँदा जे अवस्था सिर्जना भएको छ, त्यसका लागि कोही त जिम्मेवार होला नि ?

जिम्मेवारी छ । स्वास्थ्य सेवा विभागको डाइरेक्टरले बताइसक्नुभयो नि । 

तर, यो महेन्द्र श्रेष्ठले चलाएको सरकार त होइन नि ? चुनावमा महेन्द्र श्रेष्ठ होइन, तपाईंहरू उम्मेदवार हुनुभएको हो नि । 

स्वास्थ्य सेवा विभागको डाइरेक्टरले जवाफ दिइसक्नुभयो नि । 

तपाईं जनताको प्रतिनिधि, देशको उपप्रधानमन्त्री र कोरोनो नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको संयोजक भएको नाताले तपाईंको जवाफदेहिता रहन्छ । देश इमर्जेन्सीमा छ भनेर शुक्रबार तपाईंहरूले सम्झौता गर्नुभयो, तर बुधबार त्यही खारेज गर्नुभयो । यो खालीपन किन र कसरी आयो ?

यो ठेक्का दिने सम्पूर्ण प्रबन्ध गर्ने स्वास्थ्य सेवा विभाग हो । स्वास्थ्य सेवा विभागका डाइरेक्टरले हस्ताक्षर गरेर सम्झौता भएको छ । तर, हामीलाई भनेअनुसारको सामग्री आएन भनेर उहाँले खारेज गर्नुभयो । उहाँले भनेअनुसारको समयमा सामग्री आएन र आउने छाँट भएन भनेर सम्झौता रद्द गरेको घोषणा गर्नुभयो । 

अब के हुन्छ ? 

खाली हुँदैन । जे अभाव छ त्यो पुर्ताल गर्छौँ । औषधि र स्वास्थ्य सामग्रीको अभाव हुँदैन ।