१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
भवानीश्वर गौतम काठमाडाैं
२०७६ चैत २० बिहीबार ०६:४०:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

विदेशमा रहेका पाँच लाख विद्यार्थीलाई तत्काल फिर्ता नल्याउने सरकारको नीति

Read Time : > 2 मिनेट
२०७६ चैत २० बिहीबार ०६:४०:००

अध्ययनका लागि विदेशमा रहेका नेपाली विद्यार्थीलाई सरकारले ‘उद्धार’ नगर्ने भएको छ । समस्यामा परेका विद्यार्थीलाई सम्बन्धित देशको दूतावास र नियोगमार्फत सहयोग गर्ने, तर तत्काल फिर्ता नल्याउने सरकारले जनाएको छ । 

शिक्षामन्त्री गिरिराजमणि पोखरेलका अनुसार ६९ देशमा पाँच लाखको हाराहारीमा नेपाली विद्यार्थी छन् । उनीहरूलाई फिर्ता ल्याउँदा कोरोना संक्रमणको जोखिम पनि बढ्ने हुँदा सम्बन्धित देशमै सुरक्षित बस्न सरकारले अपिल गरेको छ । ‘मानिसको आवतजावतसँगै कोरोना भाइरस सर्ने भएकाले देशभर लकडाउन गरिएको छ । यस्तो वेला सरकारले विद्यार्थी फर्काउँदैन, समस्या परेकालाई एम्बेसी र नियोगमार्फत सहयोग हुन्छ,’ मन्त्री पोखरेलले भने ।

शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार सबैभन्दा बढी विद्यार्थी अस्ट्रेलिया, जापान, भारत, अमेरिकालगायतका देशमा अध्ययन गर्न गएका छन् । यी देशमा कोरोनाको संक्रमण भयावह छ । दैनिकी अस्तव्यस्त भएका कारण स्वदेश फर्किन चाहेर पनि कतिपय विद्यार्थी फर्कन सकेका छैनन् । घरमै बस्दा खर्च नहुने, शैक्षिक संस्थाको पठनपाठन ठप्प हुनुका साथै कतिपय विद्यार्थी विश्वविद्यालय र विषय परिवर्तन गर्नसमेत नपाएर समस्यामा परेका छन् । 

विदेशमा रहेका विद्यार्थीलाई खर्चको समस्या हुन नदिन नेपालबाट रकम पठाउन सकिने व्यवस्था सरकारले गरेको मन्त्री पोखरेलले बताए । ‘अस्ट्रेलिया, साइप्रसमा रहेका विद्यार्थीको खर्चमा समस्या आएको थियो । राष्ट्र बैंकसँग आग्रह गरेर रकम पठाउन सजिलो बनाएपछि समस्या समाधान भएको छ । अरू, देशमा रहेका विद्यार्थीलाई समस्या भएमा रकम पठाउन सक्ने व्यवस्था सरकारले गरेको छ,’ उनले भने ।

तर, नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेले सरकारले दाबी गरे पनि रकम पठाउन व्यवहारमा सहज नभएको बताए । ‘नेपाली विद्यार्थी धेरै जाने देश कोरोना भाइरस संक्रमणबाट अति प्रभावित भएका छन्, आंशिक काम गरेर खर्च जुटाउने विद्यार्थीलाई कठिन छ,’ पाण्डेले भने, ‘नेपालबाट सहजै खर्च पठाउन पनि सकिँदैन, खुलेका सबै बैंकबाट पठाउन सकिँदैन, कि त मुख्य ब्रान्च वा राष्ट्र बैंकमै पुग्नुपर्ने अवस्था छ ।’

चालू वर्षमै ३३ हजारले लगे एनओसी, सबैभन्दा बढी अस्ट्रेलिया

मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार ६८ देशमा अध्ययनका लागि चालू आर्थिक वर्षमा मन्त्रालयबाट ३२ हजार सात सय १७ विद्यार्थीले एनओसी लगिसकेका छन् । अघिल्लो वर्षमा ६३ हजारभन्दा बढी विद्यार्थीले एनओसी लगेका थिए । 

अस्ट्रेलियाका लागि सबैभन्दा बढी १० हजार ५२ विद्यार्थीले एनओसी लगेका छन् । त्यस्तै, जापानका लागि ६ हजार ७२, साइप्रसका लागि दुई हजार चार सय ७८ र दक्षिण कोरियाका लागि एक हजार सात सय ८० विद्यार्थीले एनओसी लगेका छन् । 

यसैबीच, काम र पढाइ नहुँदा मानसिक तनावमा रहेका अस्ट्रेलियास्थित नेपाली विद्यार्थीका लागि त्यहाँको सरकारले राहत प्याकेज ल्याएको छ । एसोसिएसन अफ अस्ट्रेलियन एजुकेसन रिप्रिजेन्टेटिभ्स इन नेपाल (एरी नेपाल)का अध्यक्ष द्विराज शर्माले पीडामा रहेका नेपालसहितका अन्तर्राष्ट्रिय विद्यार्थीका लागि अस्ट्रेलियन सरकारले राहत प्याकेज ल्याएको बताए । 

शर्माका अनुसार भाडामा बसेका विद्यार्थीलाई भाडा नतिरेमा निकाल्न नपाउने, सरकारले प्रतिविद्यार्थी एक हजार डलरका दरले ६ महिनासम्म खर्च दिने, सुपरमार्केटमा जति समय पनि काम गर्न पाउने, नर्सिङ अध्ययन गरेकालाई वृद्धाश्रम र घर हेरचाहको काम गर्न पाउने निर्णय भएको छ । त्यस्तै, भिसाको रकम तिर्न ढिलाइ भए पनि भिसा रद्द नगर्ने, भिसा बढाउन समस्या नहुने, कलेज जान नसके घरबाटै अनलाइन कक्षा लिन सक्ने, कुनै कलेजले पढाउन नसकेमा र विद्यार्थीले रकम फिर्ता चाहेमा दिन सक्ने निर्णय पनि अस्ट्रेलियन सरकारले गरेको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेल भन्छन्–तत्काल विद्यार्थी फिर्ता ल्याउन्नौँ, समस्यामा परे दूतावासमार्फत सहयोग गर्छौँ

अस्ट्रेलिया र साइप्रसमा रहेका नेपाली विद्यार्थीको खर्चमा समस्या देखिएको थियो । राष्ट्र बैंकसँग आग्रह गरेर रकम पठाउन सजिलो बनाएका छौँ । अरू देशमा रहेका विद्यार्थीलाई समस्या भए यहाँबाट रकम पठाउन सक्ने व्यवस्था सरकारले गरेको छ । 

हामीले नेपालमा रहेका विदेशीलाई सुरक्षित गरेका छौँ । विदेशमा रहेका नेपाली विद्यार्थीलाई पनि सम्बन्धित देशको सरकारले सहयोग गर्नुपर्छ । मानिसको आवतजावतसँगै कोरोना भाइरस सर्ने भएकाले देशभर लकडाउन गरिएको छ । यस्तो वेला सरकारले विद्यार्थी फिर्ता ल्याउँदैन, समस्या परेकालाई सम्बन्धित देशको दूतावास र नियोगमार्फत सहयोग हुन्छ । 

विश्वका ६९ देशमा पाँच लाखको हाराहारीमा नेपाली विद्यार्थी छन् । कोरोनाको संक्रमण फैलिएका देशमा रहेका विद्यार्थी समस्यामा परेका छन् । कतिपयलाई खर्चको समस्या छ । कतिपयको विश्वविद्यालय र विषय परिवर्तन गर्ने समय भएको थियो । उनीहरूले त्यहाँ रहेको नेपाली दूतावास र नियोगको सम्पर्कमा जानुपर्छ । शिक्षा मन्त्रलायले पनि देशबाहिर रहेका विद्यार्थी कुन अवस्था छन् भनेर अद्यावधिक गर्दै छ । पद्धतिगत ढंगले थाहा पाउने गरी विवरण तयार गर्दै छौँ ।