१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ चैत १९ बुधबार २१:५३:००
Read Time : < 1 मिनेट
समाचार

पुनर्निर्माण प्राधिकरण रसुवाका प्रमुख गाडीसहित प्रशासनको नियन्त्रणमा

Read Time : < 1 मिनेट
२०७६ चैत १९ बुधबार २१:५३:००

पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख लेखनाथ पोखरेललाई गाडीसहित स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ ।

लकडाउनको समयमा विनापास सरकारी गाडी लिएर घुमफिरमा निस्किएको पाइएपछि प्रमुख पोखरेललाई गाडीसहित गत्लाङबाट स्थानीय प्रशासनले नियन्त्रणमा लिएको हो । स्थानीयका अनुसार मदिरा पिएको अवस्थामा आमाछोदिङ्मो गाउँपालिका–३ गत्लाङमा उनी सरकारी गाडीसहित भेटिएका थिए ।

डिजेल र पेट्रोल लिन भन्दै प्रमुख पोखरेलले जिल्ला प्रशासन कार्यालयबाट पुनर्निर्माण प्राधिकरण कार्यालयको बा.२झ ३८७९ नम्बरको गाडीको सदरमुकाम धुन्चेदेखि बेत्रावतीसम्मको पास लिएका थिए । तर, उनी गत्लाङ पुगेका थिए । स्थानीयले प्रमुख पोखरेलसँगै पुनर्निर्माण प्राधिकरण रसुवाका पाँचजना कर्मचारीलाई समेत नियन्त्रणमा लिएर स्थानीय प्रहरी चौकीमा बुझाएका थिए ।

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार जानकारी नदिई उनीहरू गत्लाङ पुगेको पाइएको छ । तर, पुनर्निर्माण प्रमुख पोखरेलले भने प्रशासनसँग अनुगमनका लागि गएको दाबी गरेका छन् । सवारीचालक रुघाखोकीले ग्रस्त रहेको र अन्य चारजनाले मदिरा पिएको अवस्थामा नियन्त्रणमा लिइएको स्थानीयले बताएका छन् । थाम्बुचेतबाट प्रहरीले नियन्त्रणमा लिएको गाडी मानचेतस्थित नेपाली सेनाको ब्यारेकमा राखिएको छ ।