Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २४ शनिबार
  • Saturday, 08 August, 2020
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १९ बुधबार १७:५१:००
समाचार

प्रहरी कर्मचारी र सेवाग्राहीको ज्वरो गेटमै नाप्दै ट्राफिक प्रहरी

नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १९ बुधबार १७:५१:००

महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोना भाइरस (कोभिड– १९) संक्रमण फैलन नदिन कार्यालयको गेटमै ज्वरो मापन गर्न थालेको छ ।

कोरोना भइरस संक्रमणलाई मध्यनजर गर्दै बाहिरी प्रवेश गेटमै पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) लगाएका स्वास्थ्यकर्मीले थर्मल गनमार्फत ज्वरो नाप्ने व्यवस्था मिलाइएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए ।

महाशाखाले यसअघि नै कार्यालय प्रवेश गर्नुअघि हरेक प्रहरी कर्मचारी र सेवाग्राहीले अनिवार्य रूपमा साबुनपानीले हात धुनुपर्ने व्यवस्था मिलाइसकेको छ । महाशाखामातहतका ४४ वटै ट्राफिक कार्यालयमा पनि नियमित रूपमा हात धुने व्यवस्था मिलाइएको महाशाखा प्रमुख ढकालले जानकारी दिए ।

महाशाखा प्रमुख ढकालले भने, ‘कार्यालयमा ट्राफिक प्रहरी कर्मचारीसँगै विभिन्न काम लिएर सेवाग्राही पनि आइरहने तथा दैनिक प्रत्यक्ष रूपमा सडकमा खटिनुपर्ने भएकाले कोरोना भाइरस संक्रमणबाट बच्न पूर्वसावधानीका रूपमा ज्वरो नाप्न थालिएको हो ।’

महाशाखाले प्राविधिकहरूको सहयोगमा आफैँ स्यानिटाइजर उत्पादन गरेर प्रत्येक ट्राफिक प्रहरीहरूलाई मास्कसँगै स्यानिटाइजर पनि वितरण गरिसकेको प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै कोरोना भाइरस संक्रमणबारे सचेतना पनि दिइएको महाशाखा प्रमुख ढकालले बताए ।

कोरोना भाइरस समन्वय डेस्क स्थापना
ट्राफिक महाशाखाले स्वास्थ्यकर्मीसहित डिएसपीको कमान्डमा कोरोना भाइरस समन्वय डेस्कसमेत स्थापना गरेको छ । त्यस्तै महाशाखाले २५ जनाका लागि क्वारेन्टाइन वार्ड पनि तयार पारेको छ । त्यसैगरी ब्यारेकमा पनि सुत्ने खाटको दूरी कम्तीमा एक मिटर कायम गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

महाशाखाले विशेष परिस्थिति र आवश्यकताको आधारमा मात्र बिदा र छुट्टी दिने व्यवस्था मिलाएको छ भने बिदाबाट फर्किएकालाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर जाँचपछि मात्रै ड्युटीमा खटाउने प्रबन्ध मिलाएको छ ।