मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गगन अयडी बाजुरा
२०७६ चैत १९ बुधबार १६:०२:००
Read Time : < 1 मिनेट
समाचार

बाजुराको पुडाबाब्ला गाउँका अधिकांश बासिन्दा रुघाखोकीबाट थला परे

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
२०७६ चैत १९ बुधबार १६:०२:००

बाजुराको खप्तड छेडेदह गाउँपालिका– ३ पुडाबाब्ला गाउँका अधिकांश बासिन्दा रुघाखोकीको संक्रमणबाट पीडित बनेका छन् । 

एक सातादेखि फैलिएको रुघाखोकीका कारण पुडाबाब्लाका करिब दुई सय ५० जना बिरामी परेका छन् । 

एक सातादेखि घरका दुईदेखि पाँचजनासम्म रुघाखोकी र ज्वरोको प्रकोपका कारण बिरामी परेको वडाध्यक्ष दीपक रावतले बताए । 

स्वास्थ्यकर्मी गणेश रावतले सामान्य खोकी लाग्ने, ज्वरो आउने, रिँगटा लाग्ने, खान मन नलाग्ने र शरीर थकित हुनेजस्ता लक्षण बिरामीमा देखिएको बताए । गाउँका अधिकांश रुघाखोकीका कारण थला परेपछि सहयोग गर्नेसमेत मानिस नभएको वडाध्यक्ष रावतले बताए । 

हरेक परिवारका धेरैजसो बिरामी भएपछि घरमा पालिएका गाईवस्तुलाई मात्र नभई परिवारका सदस्यलाई चाहिने पानीसमेत बोकेर ल्याउने कोही नभएको उनले बताए । 

सिँगो गाउँ नै प्रभावित बनेपछि स्थानीय कोरोना हो कि भनेर त्रसित बन्न पुगेका छन् । 

गाउँपालिकाका स्वास्थ्य संयोजक नन्दबहादुर राउतले भने मौसम परिवर्तनका कारण रुघाखोकीको प्रकोप देखिएकाले डराइहाल्नुपर्ने अवस्था भने नरहेको बताए ।

रुघाखोकीको संक्रमणले अधिकांश गाउँले थला परेपछि गाउँपालिका अध्यक्षसहित स्वास्थ्यकर्मीको टोली आएर गाउँमै आधारभूत स्वास्थ्य इकाइ सञ्चालन गरिएको छ ।

गाउँको अवस्थालाई ध्यान दिएर स्वास्थ्य इकाइ नै सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष नरबहादुर रावतले बताए ।