Skip This
Skip This

चेपाङबस्तीका अधिकांश किशोरी आमा

२०७५ पौष ३ मंगलबार ०७:०३:००

बेँसीसहर नगरपालिका–११ चितीको चेपाङ बस्तीमा कलिलै उमेरमा विवाह गर्ने क्रम अझै हट्न सकेको छैन । यहाँका अधिकांश किशोर–किशोरीले उमेर नपुगी विवाह गर्ने गरेका छन् । शिक्षा र चेतनाको अभावका कारण चेपाङबस्तीका अधिकांश किशोरी कलिलै उमेरमा आमा बन्न बाध्य छन् ।

अभिभावकमा छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेतनाको विकास हुन सकेको छैन । बस्तीनजिकै विद्यालय भए पनि बस्तीका अधिकांश बालबालिका विद्यालय जाँदैनन् । ‘घरनजिकै विद्यालय छ, हामीले हेर्दा विद्यालय नजानुपर्ने कुनै कारण देखिँदैन,’ पूर्वशिक्षकसमेत रहेका स्थानीयवासी लेखनाथ शर्माले भने, ‘यहाँका अभिभावक आफ्ना बालबालिका विद्यालय पठाउनमा ध्यान नै दिँदैनन् ।’ 

१३–१४ वर्षमै बन्छन् आमा
स्थानीय अमृता चेपाङले गाउँका बालिका १३–१४ वर्षदेखि नै आमा बन्ने गरेको बताइन् । ‘यहाँका किशोर–किशोरी कसैले अभिभावकको सहमतिमा र कसैले भागेर सानैमा विवाह गर्ने गरेका छन्,’ अमृताले भनिन् ‘अभिभावक र बालबालिकामा पढ्नुपर्छ भन्ने चेतना नै छैन ।’ घरबाट पढ्न पठाउँदा पनि बालबालिका अन्तै जाने गरेको उनले बताइन् । बालबालिकाले स्कुल जान जाँगर नगर्दा अभिभावकले पनि धेरै जोड गर्दैनन् । 

बरबोटमा चेपाङ समुदायको १० घर छ । गाउँका दुई/चार बालबालिकाबाहेक अधिकांश विद्यालय जाँदैनन् । १५ देखि १६ वर्षको उमेरमा गाउँका सबै किशोरी बच्चाको आमा बनिसक्ने स्थानीय कल्पना चेपाङले बताइन् । उनले भनिन्, ‘गाउँमा १६ वर्ष कटेका किशोरी भेट्नै मुस्किल पर्छ । 

पहिला–पहिला सानै उमेरमा विवाह हुन्थ्यो, त्यही चलन अझै यहाँ जस्ताको तस्तै छ ।’ आर्थिक अभाव र गरिबीका कारण चेपाङ किशोर–किशोरीले सानैमा बिहे गरेर घरजम गर्ने गरेका हुन् । 

बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले चेपाङ समुदायमा सानैमा विवाह गर्ने चलन अझै हट्न नसकेको बताए । ‘उमेर नपुगी विवाह गर्नु हुँदैन भनेर सम्झाउँछौँ, तर मान्दैनन्,’ मेयर अर्यालले भने, ‘चाँडै विवाह गर्ने साह्रै नराम्रो चलन बस्यो । अभिभावकको बेवास्ताले बालबालिका सानैमा विवाह गरेर हिँड्छन् ।’ बालबालिका विद्यालय नजानुमा मुख्य दोषी अभिभावक भएको उनले बताए । चेपाङ बालबालिकालाई विद्यालय पठाउने कुनै योजनासमेत नगरपालिकाले बनाएको छैन ।