मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १९ बुधबार ०८:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता छानबिन गर्न कांग्रेसको माग 

अख्तियार भन्छ– उजुरी परेपछि छानबिन गर्छाैँ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १९ बुधबार ०८:१७:००

प्रमुख प्रतिपक्षी कांग्रेसले कोरोना नियन्त्रणका लागि सरकारले गरेको स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नुपर्ने माग गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार सामाजिक सञ्जाल ट्विटरमार्फत छानबिनको माग गरेका छन् । 

प्रवक्ता शर्माले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततालाई ‘नोटिस’मा लिन अख्तियारको ध्यानाकर्षण गराएका छन् । संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउन नहुने उनले उल्लेख गरेका छन् । ‘अख्तियारलाई स्मृतिपत्र ! संकटमा सरकारलाई साथ दिनु दल र नागरिकको दायित्व । साथ दिइरहँदा अनियमितता नोटिसमा लिन अख्तियारको दायित्व ध्यानाकर्षण । अहोरात्र जारी मिहिनेतलाई प्रोत्साहन गरौँ, तर ...संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनुहुन्न,’ उनले ट्विटमा लेखेका छन् ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले अनियमितताबारे उजुरी परेपछि मात्रै छानबिनको प्रक्रिया अघि बढ्ने बताए । ‘अनियमितताका विषय उजुरीका रूपमा दर्ता हुनुपर्छ, यसपछि मात्रै अख्तियारको कारबाही प्रक्रिया अघि बढ्छ,’ उनले भने ।

कोरोनाको संक्रमण बढ्दै जाँदा देश लकडाउन गरिएपछि सरकारले विनाप्रतिस्पर्धा ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिमार्फत चीनबाट एक अर्ब २४ करोड ६८ लाखका स्वास्थ्य सामग्री खरिद गरेको थियो । त्यसअघि स्वास्थ्य सामग्री खरिदका लागि गरिएको टेन्डर रद्द गरेर सरकारले नियमविपरीत प्रक्रिया अघि बढाएको थियो । त्यतिखेर व्यवसायीहरूले हालेको कोटेसनको ४८ गुणासम्म महँगोमा सामान खरिद गरिएको छ ।