१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १९ बुधबार ०८:१७:००
Read Time : > 1 मिनेट
समाचार

०७७ सालमा ६७ दिन सार्वजनिक बिदा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १९ बुधबार ०८:१७:००

०७७ सालमा शनिबारसहित राष्ट्रिय रूपमा ६७ दिन राष्ट्रिय बिदा हुने भएको छ । आगामी वर्ष ५२ दिन शनिबारबाहेक अन्य १५ दिन मात्र देशव्यापी रूपमा बिदा हुनेछ । सोमबार राजपत्रमा सूचना निकाली सरकारले २०७७ सालका बिदा सार्वजनिक गरेको हो ।

२०७६ साल र आगामी वर्षको बिदामा कुनै हेरफेर गरिएको छैन । विभिन्न धर्मावलम्बीहरूले मनाउने चाडमा सम्बन्धित धर्मावलम्बी समुदायलाई मात्र बिदा दिने निर्णय कायमै राखिएको छ । राष्ट्रिय पर्वमा दसैँ र तिहारबाहेक चार दिन मात्र बिदा हुनेछ । नव वर्ष (१ वैशाख), महाशिवरात्रि (२७ फागुन) र फागुपूर्णिमा (पहाडमा १५ चैत, तराईमा १६ चैत) मा मात्र बिदा हुने भएको छ । २५ वैशाखमा पर्ने बुद्ध जयन्तीमा पनि देशव्यापी बिदा हुने निर्णय गरिएको छ । १९ वैशाखमा पर्ने विश्व मजदुर दिवस, ३ असोजको संविधान दिवस र २४ फागुनको अन्तर्राष्ट्रिय महिला दिवसमा पनि देशव्यापी सार्वजनिक बिदा हुने गृह मन्त्रालयले जनाएको छ ।

विगतमा जस्तै दसैँमा पाँच दिन र तिहारमा तीन दिन बिदा हुनेछ । जसअनुसार यो वर्षमा दसैँमा ७ देखि ११ कात्तिक र तिहार २९ कात्तिकदेखि १ मंसिरसम्म बिदा हुनेछ । उपत्यकाका चार दिन जात्राको बिदा हुनेछ । २० साउनमा गाईजात्रा, १६ भदौमा इन्द्रजात्रा, २९ चैतमा घोडेजात्रा र भोटो देखाउने जात्रामा उपत्यकामा बिदा हुनेछ । २५ कात्तिकको फाल्गुनन्द जयन्ती र १५ मंसिरको गुरुनानक जयन्तीमा सम्बन्धित धर्मावलम्बीहरूलाई मात्र बिदा हुनेछ । 

१५ जेठको गणतन्त्र दिवस, २२ भदौको निजामती सेवा दिवस, २७ पुसको राष्ट्रिय एकता दिवस, १६ माघको सहिद दिवस र ७ फागुनको प्रजातन्त्र दिवसलाई राष्ट्रिय रूपमा मनाउने, तर कार्यालयहरू खुल्नेछन् । त्यस्तै, तीज (५ भदौ) मा महिलालाई, तथा २५ भदौमा जितिया पर्व मनाउने महिलालाई बिदा हुनेछ । वसन्त पञ्चमीमा शैक्षिक संस्थाहरू बन्द हुनेछन् । १८ मंसिरमा पर्ने अन्तर्राष्ट्रिय अपांगता दिवसमा अपांगता भएका कर्मचारीले बिदा पाउनेछन् । 

१२ दिन विभिन्न समुदायलाई बिदा 
विभिन्न धर्म र समुदायका व्यक्तिहरूले आफूहरूको चाडमा सार्वजनिक बिदा दिन माग गरे पनि सरकारले सम्बन्धित समुदायलाई मात्र दिने भएको छ । यस्ता बिदा १२ दिन हुनेछन् । २५ वैशाखमा उभौली, १० भदौमा गौरा पर्व, ५ मंसिरमा छठ पर्व, १० पुसमा क्रिसमस, १५ पुसमा तमु ल्होसार, १ माघमा माघे संक्रान्ति तथा माघी, ३० माघमा सोनाम ल्होसार, १ चैतमा पर्ने ग्याल्पो ल्होसारमा सम्बन्धित समुदायलाई बिदा हुनेछ । त्यस्तै, पछि मिति तय हुने पर्वहरू इद, बकर इद, सिरुवा पावनी र धवथाम्बु छेउचिक पर्वमा केही जिल्लामा मात्र बिदा हुने गृह मन्त्रालयले जनाएको छ ।  धेरै सार्वजनिक बिदाका कारण देशको अर्थतन्त्रमै असर परेको भन्दै दुई वर्षयता सरकारले विभिन्न समुदायले मात्र मनाउने पर्व र विभिन्न जन्मजयन्तीको बिदा कटौती गरेको हो ।