मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी लन्डन
२०७६ चैत १९ बुधबार ०६:५६:००
Read Time : < 1 मिनेट
खेलकुद

अरूलाई घरमै बस्न सन्देश दिएको केही घन्टामै दुर्घटनामा परे ग्रेलिस

Read Time : < 1 मिनेट
एजेन्सी लन्डन
२०७६ चैत १९ बुधबार ०६:५६:००

कोरोना भाइरस संक्रमणबाट बच्न सबै देशले आफ्ना नागरिकलाई घरभित्रै बस्न अनुरोध गरेका छन् । विश्वव्यापी देखिएको यो संकटबाट जोगिन स्टार खेलाडीहरूले पनि आफ्ना समर्थकलाई सुरक्षित रहन घरभित्रै बस्न सामाजिक सञ्जालमार्फत सन्देश दिइरहेका छन् । 

बेलायती फुटबलर ज्याक ग्रेलिस भने अरूलाई दिएको आफ्नै सन्देश पालना नगर्दा दुर्घटनामा परेका छन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत आफ्ना समर्थक र सबैलाई कोरोना भाइरसबाट बच्न घरभित्रै बस्न र कुनै गल्ती नगर्न सन्देश दिएका थिए । 

आफूले अरूलाई घरमै बस्न सन्देश दिएको केही घन्टामै उनी घरबाट बाहिर निस्किए । त्यसमा उनले आफूले अरूलाई दिएको सन्देश त बिर्सिए, सरकारको लकडाउनको सूचनाको पनि अवज्ञा गरे । त्यसलगत्तै उनी दुर्घटनामा परे । 

इंग्लिस प्रिमियर लिगको टोली एस्टन भिल्लाका कप्तानसमेत रहेका २४ वर्षीय ग्रेलिस आफैँले चलाएको रेन्ज रोवरविपरीत दिशातर्फबाट आइरहेको अर्काे कारसँग ठोक्किन पुग्यो । यो घटनाले उनको चर्काे आलोचनासमेत भएको छ । 

घटना सार्वजनिक भएपछि उनले सामाजिक सञ्जालमार्फत नै माफीसमेत मागेका छन् ।  उनले घटनाबाट आफू लज्जित भएको समेत उल्लेख गरेका छन् । ‘यो घटनाबाट आफैँले लज्जित महसुस गरेको छु । यो गल्ती फेरि दोहोरिने छैन,’ ग्रेलिसले भनेका छन्, ‘तपाईंहरूसामु फेरि पनि अनुरोध गर्न चाहन्छु कि आफूलाई सुरक्षित राख्न घरभित्रै बस्नुहोला ।’ उनले साथीले आफूलाई भेट्न गरेको अनुरोध अस्वीकार गर्न नसक्दा आफूबाट गल्ती हुन पुगेको बताएका छन् । 

दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । यद्यपि, दुर्घटनाबाट दुवै कार भने क्षतिग्रस्त बनेका छन् । सार्वजनिक भएको तस्बिरमा ग्रेलिसको रेन्ज रोबरमा बढी क्षति पुगेको देखिएको छ ।