मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
करण ताम्राकार डडेल्धुरा
२०७६ चैत १८ मंगलबार १६:२९:००
Read Time : < 1 मिनेट
समाचार

डडेल्धुराका स्थानीय तहले मिलेर कोरोना परीक्षण ल्याब स्थापना गर्ने

Read Time : < 1 मिनेट
करण ताम्राकार, डडेल्धुरा
२०७६ चैत १८ मंगलबार १६:२९:००

जिल्ला समन्वय समितिलगायत डडेल्धुराका स्थानीय निकाय मिलेर कोरोना भाइरस परीक्षण गर्ने ल्याब स्थापना गर्ने भएका छन् । 

जिल्लाका दुई नगरपालिका र पाँचवटा गाउँपालिकाले आफू–आफू मिलेर आर्थिक लगानी गरी कोरोना भाइरस परीक्षण गर्ने ल्याब स्थापना गर्न लागेका हुन् । 

सुदूरपश्चिमको एक मात्रै सुविधासम्पन्न मानिएको र नाैवटै जिल्लाको केन्द्र मानिने डडेल्धुरा अस्पतालमा कोरोना भाइरस परीक्षण गर्न सक्ने ल्याब स्थापना गर्न स्थानीय तहले अभियान थालेका हुन् । 

कोरोना परीक्षण ल्याब निर्माण गर्न स्थानीय तहहरूको बैठकमा सातवटै स्थानीय तहले २० लाखका दरले रकम उपलब्ध गराउने र बाँकी रकमका लागि निजी क्षेत्रलाई अपिल गर्ने प्रस्ताव गरिएको अमरगढी नगरपालिका प्रमुख विशेश्वरप्रसाद ओझाले बताए ।

यस्तै सातवटै स्थानीय तहका ५२ वटा वडाबाट दुई लाखका दरले रकम संकलन गर्ने निर्णय गरिएको छ । 

त्यसैगरी जिल्ला समन्वय समितिमा रहेको संयुक्त कोषबाट एक करोड रुपैयाँ पनि ल्याब स्थापनाका लागि हाल्ने निर्णय भएको छ । 

नाैवटा जिल्ला रहेको सुदूरपश्चिममा एक मात्रै संघीय सरकारमातहत रहेको डडेल्धुरा अस्पताल सुविधासम्पन्न मानिन्छ । 

तर, अस्पतालमा सेवा सुविधा भने पर्याप्त छैन । ४२ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा अहिले आठजना मात्रै चिकित्सक छन् । तीमध्ये पनि दुईजना बिदामा छन् ।