१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७६ चैत १८ मंगलबार १२:०८:००
Read Time : > 1 मिनेट
विश्व

विश्वका ६६ लाख शरणार्थी कोरोना भाइरसको उच्च जोखिममा

Read Time : > 1 मिनेट
एजेन्सी
२०७६ चैत १८ मंगलबार १२:०८:००

कोरोना भाइरस संक्रमणकाे रूपमा विश्वव्यापी फैलिएपछि विभिन्न देशमा रहेका शरणार्थी शिविरमा त्रास बढेको छ ।

ती शिविरहरूमा भाइरस संक्रमण निकै भयानक हुन सक्ने चेतावनी विज्ञहरूले दिएका छन् । सिरियादेखि बंगलादेशसम्म लाखौँ शरणार्थी छन्, उनीहरू शिविरमा आधारभूत सुविधाको अभावको सामना गरिरहेका छन्, जुन कोरोना भाइरसका लागि अनुकूल हुन सक्छ । 

संयुक्त राष्ट्र संघको तथ्यांकअनुसार विश्वभर ६६ लाख मानिस शरणार्थी शिविरमा छन् । संघका अनुसार हरेक दुई सेकेन्डमा विश्वमा मानिसहरू विस्थापित भइरहेका छन् । यो जनसंख्या सजिलै कुनै पनि महामारीको निशाना बन्न सक्छ । 

सिरिया

दशकौँदेखि चलिरहेको युद्धका कारण सिरिया र टर्कीको इडलिब प्रान्तका १० लाख विस्थापित मानिस शरणार्थी शिविरमा छन् । यी शिविरमा हात धुने पानी छैन, खानेपानीको समेत अभाव छ र सामाजिक दूरी कायम राख्न पनि यहाँ ठूलो चुनौती छ । आइसोलेसनमा राख्ने ठाउँ पनि छैन । 

यी शिविरमा स्वास्थ्य सेवा समयमै नपुगे भाइरसको संक्रमणबाट एक लाख शरणार्थीको मृत्यु हुन सक्ने चेतावनी स्वास्थ्य अधिकारीले दिएका छन् । गत साता पहिलोपटक त्यस शिविरमा परीक्षण किट पुगेको थियो । 

अहिलेसम्म त्यहाँ सबै परीक्षण नकारात्मक देखिएको छ । सिरियाका अस्पतालमा औषधि र उपकरणको पनि अभाव छ । उक्त शिविरमा भाइरस फैलियो भने निकै घातक हुने अनुमान गरिएको छ । 

बंगलादेश 
सिरियाको जस्तै भयावह अवस्था बंगलादेशको कक्स बजारमा रहेका रोहिंग्या शरणार्थीहरूको पनि छ । शिविरमा बसोवास गर्ने करिब १० लाख रोहिंग्या शरणार्थी कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको बंगलादेशका अधिकारकर्मीले बताएका छन् । त्यहाँ अधिकांश रोहिंग्या मुसलमान सन् २०१७ मा म्यानमारको सैनिक आक्रमणपछि आएर बसेका थिए ।

बंगलादेशमा अहिलेसम्म कोरोना भाइरसबाट पाँचजनाको मृत्यु भएको छ भने संक्रमितको संख्या करिब ५० पुगेको छ । सरकारले मार्च २६ बाट १० दिनसम्मका लागि देश लकडाउन गरेको छ । 

त्यहाँ १० परिवारका लागि एउटा शौचालय छ, ५० परिवारका लागि एउटा ट्युबेल छ । ती शिविरमा सामाजिक दूरी कायम राख्नु असम्भवजस्तै रहेको, स्यानिटाइजर, मास्क विरलै देख्न पाइने अधिकारकर्मी बताउँछन् । 

संयुक्त राष्ट्र संघको शरणार्थी एजेन्सी युएनएचसिआरका अनुसार अहिलेसम्म उक्त शिविरमा भाइरसको संक्रमण देखिएको छैन । युएनएचसिआरले शिविरमा चार सय मानिस राख्न मिल्ने आइसोलेसन वार्ड र थप हजार शय्या बनाउने बताएको छ ।

योबाहेक बोसनिया, लेबनान र अफ्रिकामा शरणार्थीको संख्या धेरै छ । यी सबै शिविरमा भाइरसको संक्रमण फैलियो भने नियन्त्रण गर्न निकै गाह्रो हुने भन्दै चिन्ता व्यक्त गरिएको छ । 

शरणार्थीमा संक्रमण नफैलियोस् भनेर विश्व स्वास्थ्य संगठनले संयुक्त राष्ट्र संघका एजेन्सी र ती देशका सरकारसँग मिलेर काम गरिरहेको छ ।