मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कञ्चन न्यौपाने काठमाडाैं
२०७६ चैत १८ मंगलबार ११:३७:००
Read Time : > 1 मिनेट
साहित्य

लकडाउन जिन्दगी : फुर्सदमा अनलाइन किताब

Read Time : > 1 मिनेट
२०७६ चैत १८ मंगलबार ११:३७:००

नेपालमा हालसम्म पाँचजनामा कोभिड–१९ को संक्रमण देखिएको छ । यसलाई फैलिन नदिन सरकारले लकडाउन लम्ब्याएको छ । मोबाइल मात्रै चलाएर दिक्क लागिसकेका सिर्जनात्मक परख गर्न रुचाउनेहरूका लागि पुस्तक अध्ययन फुर्सदको समय बिताउने गतिलो माध्यम बन्न सक्छ । तर, पुस्तक पसलहरू बन्द छन् । सधैँ भिडभाड रहने सहर सुनसान छ । बाहिर निस्कने अवस्था छैन । यसले पुस्तकप्रेमीहरूलाई निकै पीडा दिएको छ । त्यसका बाबजुद पुस्तक पढ्ने उपाय नभएको होइन । धेरैको हात–हातमा मोबाइल छ र इन्टरनेटको पहुँच पनि । अनलाइनमा उपलब्ध पुस्तकहरू पढ्दै ज्ञानको दायरा बढाउन सकिने उपाय नभएको होइन । यस्ता केही उपाय सुझाउन प्रयास गरेका छौँ :

नेपाली साहित्यका किताब ‘इ–पुस्तकालय डटओराजी’मा उपलब्ध छन् । साहित्य मात्र होइन, यस साइटमा पाठ्यसामग्री, शैक्षिक सामग्री, पत्रपत्रिका र म्यागेजिन पनि पढ्न पाइन्छ । बालबालिकालाई कथा सुनाउने चलन नेपाली समाजबाट हराउँदै गएको छ । इ–पुस्तकालयमा बालकथा उपलब्ध छन् र तिनका अडियो पनि । आफ्ना बालबालिकालाई मनपर्ने बालकथा इ–पुस्तकालयमा खोजेर सुनाउन या पढाउन सकिन्छ ।

यसबाट बालबालिकाको पठन सीप बढ्ने मात्र होइन, मनोरञ्जन पनि प्राप्त हुन्छ । बालसुलभ सन्दर्भ सामग्रीले उनीहरूको मानसिक र बौद्धिक विकासमा सहयोग गर्छ । त्यसका लागि यो लकडाउन उपयुुक्त समय हुन सक्छ । इ–पुस्तकालयमा ‘मकैको रोटी’, ‘के कसरी बन्छ’, ‘दसैँ, पिङ र हात्ती’, ‘रमाइलो पढ्ने तरिका’, ‘गणित पढ्छौँ’जस्ता बालसुलभ पठन सामग्री उपलब्ध छन् ।

धेरैको हात–हातमा मोबाइल छ र इन्टरनेटको पहुँच पनि । अनलाइनमा उपलब्ध पुस्तकहरू पढ्दै ज्ञानको दायरा बढाउन सकिने उपाय नभएको होइन ।

यस्तै, साहित्यका पाठकका लागि ६ सय आठवटा साहित्यिक सामग्री छन् । मन लागेका किताब त्यहाँ खोजीखोजी पढ्न सकिन्छ । ‘उन्माद’, ‘काउकुती’, ‘भानुभक्तका लघुरहचनाहरू’, ‘अमेरिका’, ‘घुम्ने मेचमाथि अन्धो मान्छे’, ‘जय भुँडी’, ‘अतृप्ति’, ‘ऋतुविचार’, ‘मुनामदन’, ‘जंगबहादुरको बेलायती कापी’, ‘जंगबहादुरको बेलायत यात्रा’, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘दोषी चस्मा’, ‘रवीन्द्रनाथका नाटकहरू’, ‘रनमाया’, ‘हिटलर र यहुदी’लगायत चर्चित साहित्यिक कृति उपलब्ध छन् त्यहाँ ।

यस साइटमा वृत्तचित्र पनि हेर्न पनि पाइन्छ । हाल एसइई परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि पाठ्यक्रम पनि उक्त साइटमा उपलब्ध छन् । इ–पुस्तकालयमा ६ हजारभन्दा बढी किताब संग्रहित छन् भने दुई हजारभन्दा बढी अडियो बुक्स उपलब्ध छन् । नेपाली भाषाका मात्र नभई इ–पुस्तकालयले नेवारी, हिन्दी, अंग्रेजी र संस्कृतका किताब पनि आफ्नो साइटमा राखेको छ ।

यस्तै, कतिपय पुस्तक युट्युबबाट पनि सुन्न सकिन्छ । पढ्न अल्छी मान्ने पाठकलाई सुन्ने रुचि हुन्छ । हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’, मदनकृष्ण श्रेष्ठको ‘महको म’, बुद्धिसागरको ‘कर्णाली ब्लुज’, सुबिन भट्टराईको ‘समर लभ’ र ‘प्रिय सुफी’, जिएस पौडेलको ‘एक सर्को माया’, नगेन्द्र न्यौपानेको ‘दरबार बाहिरकी महारानी’, विश्वेश्वरप्रसाद कोइरालाको ‘सुम्निमा’, विजयकुमार पाण्डेको ‘खुसी’, तसलिमा नसरिनको ‘फ्रान्सेली प्रेमी’को नेपाली अनुवादको अडियो पनि युट्युबमा उपलब्ध छन् ।

पछिल्लो समय अंग्रेजी किताब पढ्न रुचाउने पनि बढेका छन् । त्यस्ता पाठकका लागि मोबाइलमा ‘एनी बुक्स’ नामको एप उपलब्ध छ । उक्त एप डाउनलोड गरेर कला, साहित्य, फिक्सन, ननफिक्सन, रोमान्सलगायत विधाका पुस्तक खोजीखोजी पढ्न सकिन्छ । यस्तै, ‘पिडिएफ फाइल’ नामको अर्को वेबसाइट पनि छ, जससँग ११ करोडभन्दा बढी अंग्रेजी पुस्तक उपलब्ध छन् । उक्त वेबसाइटमा गएर पनि आफूलाई मनपरेका पुस्तक खोजीखोजी पढ्न सकिन्छ ।