मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ चैत १८ मंगलबार १०:४०:००
Read Time : < 1 मिनेट
समाचार

लकडाउन अवज्ञा हुन थालेपछि रौतहटमा निषेधाज्ञा

Read Time : < 1 मिनेट
२०७६ चैत १८ मंगलबार १०:४०:००

रौतहटमा लकडाउन उल्लंघन गर्ने क्रम बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। भारतको बिहार राज्यसँग सीमा जोडिएको रौतहटमा सर्वसाधारणले लकडाउन अवज्ञा गर्ने क्रम बढेपछि निषेधाज्ञा जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ। 

अति आवश्यक उपभोग्य सामग्रीको ढुवानी र औषधि उपचारबाहेक अन्य सबै गतिवधिमा पूर्ण रूपमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए। ‘विभिन्न बहाना हुने मानिसहरूको भिडभाड र आवतजावतलाई पूर्ण रूपमा रोकेका छौँ,’ उनले भने। 

लकडाउन उल्लंघन गर्नेविरुद्ध रौतहट प्रहरी कडा रूपमा प्रस्तुत हुन थालेको छ।  मंगलबार बिहानैदेखि लकडाउन उल्लंघन गरेर सडकमा निस्किएका मानिसलाई प्रहरीले सडकमै उठबस गराउने, पुसअप गराउने, जहाँको त्यहीँ उभ्याएर राख्नेलगायतका सजाय दिइरहेको छ। 

जिल्लाका कतिपय स्थानमा विनाकारण सडकमा निस्किएकालाई प्रहरीले सामान्य लाठीचार्जसमेत गरेर घर पठाएको छ। ग्रामीण इलाकामा नियमित रूपमा मोबाइल गस्तीको व्यवस्था मिलाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए। 

जिल्लाका विभिन्न स्थानमा लकडाउन उल्लंघन गर्ने एक सय तीन व्यक्ति र सयभन्दा बढी सवारीसाधन नियन्त्रणमा लिइएको उनले बताए। 

प्रहरीले बिरामी, औषधि किन्न हिँडेकाबाहेक अरूलाई सडकमा निस्कन दिएको छैन। एम्बुलेन्स र पास लिएकाबाहेक अन्य सवारीसाधन सञ्चालनमा कडाइ गरिएको प्रहरीले जनाएको छ। पासविना सडकमा निस्किएका सवारीसाधनलाई प्रहरीले नियन्त्रण लिएको छ।  

मेडिकलबाहेक अन्य कुनै पनि पसल खुलेका छैनन्। कतिपय स्थानीय तहले विक्रेतासँग सहकार्य गरेर उपभोक्तालाई घरमै खाद्यान्न पुऱ्याउने व्यवस्था मिलाइएको जनाएका छन्।