मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७६ चैत १८ मंगलबार १०:१९:००
Read Time : > 2 मिनेट
नयाँCity

कोरोना संक्रमणबाट जोगिन आमनागरिकको भूमिका

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७६ चैत १८ मंगलबार १०:१९:००

डा. असरफ हुसेन, इन्टरनल मेडिसिन नेसनल मेडिकल कलेज तथा टिचिङ अस्पताल

कोरोना भाइरस (कोभिड–१९)को जोखिम विश्वभर बढ्दो छ । यस्तो परिस्थितिमा नेपालमा पनि सरकारले लकडाउन गरेको छ । सामाजिक दूरी कायम राखेर आममानिसलाई घरभित्रै बस्न निर्देशन दिएको छ । नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएकाले यस्तो सावधानी अपनाउन जरुरी भएको छ ।

सरकारले लकडाउन गर्नेसँगै विदेशबाट मानिस नेपाल भित्रिन नदिने । संक्रमण फैलिएका स्थानबाट आएकालाई सेल्फ क्वारेन्टाइनमा बस्ने व्यवस्था गरेको छ । स्वास्थ्यकर्मीले जोखिम मोलेरै बिरामीको सेवा गरिरहेका छन् । लकडाउनलाई व्यवस्थित गर्न सुरक्षाकर्मी लागिपरेका छन् ।

गुणस्तरीय मास्क, पिपिई र पन्जाजस्ता सुरक्षाका आधारभूत सामग्रीविना नै काममा खटिरहेका प्रहरी पनि संक्रमणको उच्च जोखिममा छन् । त्यस्तै लकडाउन उल्लंघन गर्नेलाई पक्रन जाँदासमेत संक्रमण फैलन सक्ने जोखिमा छन् प्रहरी । यस्तो अवस्थामा संक्रमणबाट बच्न र अरूलाई पनि बचाउन आमनागरिकले आफ्नोतर्फबाट पनि भूमिका निर्वाह गर्न आवश्यक छ । यसका लागि यी नियम पालना गरे राम्रो हुन्छ ।

१४ दिन क्वारेन्टाइनमा अनिवार्य बस्ने 

पछिल्लो समय भारतबाट नेपाल फर्किनेहरूको सीमानाकामा भिड लागेको छ । लकडाउनका कारण परीवारसहित आएकाहरूले बाटोमै समस्या भोग्नुपरेको छ । यसरी संक्रमण फैलिएको क्षेत्रबाट आएका व्यक्तिहरूबाट घरपरिवार र समाजमा थप संक्रमण फैलिन सक्ने उच्च जोखिम रहन्छ । तसर्थ, बाहिरबाट नेपाल फर्केका मानिस र तिनका परिवारले सेल्फ क्वारेन्टाइन वा सरकारले व्यवस्था गरिदिएका क्वारेन्टाइनमा कम्तीमा पनि १४ दिनसम्म अनिवार्य बस्नुपर्छ । 

व्यवस्थित क्वारेन्टाइन

देशबाहिरबाट आएका व्यक्तिमा संक्रमण देखिने क्रम सुरु भएकाले आमनागरिकले सावधानी अपनाउनुपर्ने हुन्छ । सेल्फ क्वारेन्टाइनमा बस्दा छुट्टै कोठा या घरमा बस्ने, अलग सामानको प्रयोग गर्ने, अन्य सदस्यसँग दूरी कायम गर्ने र छुट्टै शौचालय प्रयोग गर्नुपर्ने हुन्छ । गाउँघरमा सानो घर हुने भएकाले संक्रमणबाट बच्न सुरक्षित आधारभूत संरचनाको अभाव छ ।

संक्रमण फैलिएको क्षेत्रबाट आएका व्यक्तिहरूबाट घरपरिवार र समाजमा थप संक्रमण फैलिन सक्ने उच्च जोखिम रहन्छ । तसर्थ, बाहिरबाट नेपाल फर्केका मानिस र तिनका परिवारले सेल्फ क्वारेन्टाइन वा सरकारले व्यवस्था गरिदिएका क्वारेन्टाइनमा कम्तीमा पनि १४ दिनसम्म अनिवार्य बस्नुपर्छ । 

यस्तो अवस्थामा सकेसम्म बाहिरबाट आएका व्यक्तिले सरकारले व्यवस्था गरिदिएको क्वारेन्टाइनमा बस्नु उपयुक्त छ । गाँउघरतिर अधिकांश परिवारले बाहिरबाट आएका आफन्तलाई घरमा बस्न लगाउने गरेको पाइन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार संक्रमितमध्ये अधिकांश व्यक्तिमा कोरोनाको कुनै लक्षण नदेखिने भएकाले सावधानी नअपनाउने गरिएको छ । जसले झनै जोखिम बढेर जाने गरेको छ ।

आपत्कालीन सेवामा जोडिएकाले सावधानी अपनाउने

स्वास्थ्य संस्थासँग सम्बधित कर्मचारी जस्तै, चिकित्सक, नर्स, सरसफाइ गर्ने व्यक्ति, प्रशासनका मानिस, एम्बुलेन्स सेवाअन्तर्गतका कर्मचारी, सुरक्षाकर्मी, रिपोर्टिङमा हिँड्ने मिडियाकर्मी आदिले झनै सावधानी अपनाउन आवश्यक छ । जोखिममा रहेका यस्ता व्यक्तिले आफूले लगाएको लुगा छुट्टै राख्ने, राम्ररी सफा गरेर मात्र प्रयोग गर्ने, सरसफाइ नगरीकन बालबालिका र वृद्धवृद्धाबाट टाढा बस्ने तथा सकेसम्म घरपरिवारसँग सामाजिक दूरी कायम राख्नुपर्छ । 

औषधि सेवन गरिरहेका सजग रहने

लामो समयदेखि कुनै पनि रोगको औषधि सेवन गरिरहेका व्यक्ति संक्रमणको उच्च जोखिममा रहन्छन् । दीर्घरोगको उपचार गराइरहेका व्यक्तिमा प्रतिरोधी क्षमता कम हुने भएकाले उनीहरूमा कोरोना संक्रमण छिटो हुन सक्छ । यस्ता व्यक्तिले समय–समयमा चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ । लकडाउनको समयमा इमर्जेन्सीबाहेक अस्पताल नजाने, चिकित्सकसँग आफ्नो स्वास्थ्यबारे फोनबाटै परामर्श लिने र घरमै औषधि सेवन गर्नुपर्छ । 

धुमपान र मध्यपान नगर्ने

नियमित धुमपान र मध्यपान गर्ने व्यक्तिमा प्रतिरोधी क्षमता तुलनात्मक रूपमा कम हुने गर्दछ । जसले गर्दा उनीहरूमा अन्य व्यक्तिभन्दा संक्रमणको जोखिम धेरै हुने गर्छ । तसर्थ लकडाउनको समयमा सकेसम्म शाकाहारी भोजन गर्ने, धुमपान र मध्यपानबाट टाढा रहने, राम्ररी पकाएर मात्रा खाद्य पदार्थ प्रयोगमा ल्याउने गर्नुपर्छ ।

आधिकारिक सञ्चारमाध्यम मात्र पछ्याउने

यो वेला सामाजिक सञ्जालमा अनावश्यक सामग्री नहेर्ने वा सेयर नगर्ने । आधिकारिकता नभएका भिडियो वा समाचार हेर्नुहुँदैन । त्रास फैलाउने समाचारका स्रोतले आममानिसमा मानसिक समस्या निम्त्याउने हुँदा घरमा अभिभावकले विशेष ध्यान दिन आवश्यक छ । जस्तै, वृद्धवृद्धा, अशिक्षित व्यक्ति र बालबालिकासँग दूरी कायम राखेर यसबारे छलफल गर्नुपर्छ । संक्रमण फैलिन सक्ने डरले सामान्य व्यक्तिमा तनाव र डिप्रेसन निम्त्याउने हुँदा घरका शिक्षित व्यक्तिले उनीहरूको क्रियाकलापमा समेत सजग हुन आवश्यक हुन्छ ।