Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १८ मंगलबार ०७:३४:००
Read Time : < 1 मिनेट
खेलकुद

कोरोनाविरुद्ध क्रिकेट खेलाडीको सहयोग 

सिपान अवार्ड स्थगित गर्दै पुरस्कार रकमको चार लाख ६२ हजार सरकारी कोषमा जम्मा गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १८ मंगलबार ०७:३४:००

क्रिकेट खेलाडी संघ नेपाल (सिपान) ले प्रत्येक वर्ष आयोजना गर्दै आएको एनसिसिएस–सिपान क्रिकेट अवार्ड कार्यक्रम यो वर्ष नहुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण त्रासका कारण यसअघि मिति तय भएर पनि स्थगित गरिएको अवार्ड वितरण कार्यक्रम यो वर्ष आयोजना नगर्ने निर्णय भएको सिपानले विज्ञप्तिमार्फत जनाएको छ ।

यससँगै, सिपानले अवार्डका साथ खेलाडीलाई प्रदान गर्ने चार लाख ६२ हजार रकम कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचारका लागि सरकारले स्थापना गरेको कोषमा जम्मा गर्ने निर्णय गरेको छ । ‘सिपान अवार्ड कार्यक्रममा पुरस्कारबापत दिइने रकम सम्पूर्ण क्रिकेट खेलाडीको प्रतिनिधित्व गर्दै कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले स्थापना गरेको कोषमा जम्मा गरी सहयोग गर्ने व्यहोरा जानकारी गराउन चाहन्छौँ,’ सिपानले विज्ञप्तिमा भनेको छ ।

सिपानले प्रत्येक वर्ष महिला र पुरुषतर्फ एक–एक उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, वर्षको उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अवार्ड गरी विभिन्न पाँच विधामा अवार्ड प्रदान गर्ने गरेकोे छ । यस वर्ष ३ चैतमा अवार्ड वितरण गर्ने कार्यक्रम थियो । 

कोरोना भाइरस त्रासका कारण सरकारले देश नै ‘लकडाउन’ गर्ने निर्णय गरेपछि सिपानले तत्काललाई अवार्ड कार्यक्रम स्थगित गर्ने निर्णय सार्वजनिक गरेको थियो । सोमबार विज्ञप्तिमार्फत अवार्ड कार्यक्रम स्थगित गरी त्यसबापतको रकम सरकारी कोषमा जम्मा गर्ने निर्णय भएको सिपानले जनाएको हो । सिपानले सोमबार विज्ञप्तिमार्फत अवार्ड कार्यक्रम अर्काे वर्ष मात्रै आयोजना गरिने जानकारी गराएको छ ।

‘सिपान अवार्डको अर्काे संस्करण सन् २०२१ मा आयोजना हुने जानकारी गराउँछौँ,’ अध्यक्ष मनीषराज पाण्डे र महासचिव पारस खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । सिपानले यो संकटको अवस्थामा अग्रपंक्तिमा रहेर सेवा गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलगायतको प्रशंसासमेत गरेको छ ।