मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ चैत १७ सोमबार १९:४५:००
Read Time : < 1 मिनेट
समाचार

न्यादी हाइड्रोपावर निर्माण कम्पनीका कर्मचारी र स्थानीयबीच झडप

Read Time : < 1 मिनेट
२०७६ चैत १७ सोमबार १९:४५:००

लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ ठूलोबेंसीमा निर्माणाधीन न्यादी हाइड्रोपावरको चिनियाँ निर्माण कम्पनीमा कार्यरत कर्मचारी र स्थानीयबीच झडप भएको छ । लकडाउनका वेला गाउँको बाटो भएर आयोजनाले निर्माण सामग्री बोकेको ट्रक गुडाएको भन्दै स्थानीयले विरोध गरेपछि सोमबार झडप भएको हो । 

घटनास्थलमा प्रहरी पुगेर स्थानीय र कम्पनीका कर्मचारीबीचको झडप मिलाइएको जिल्ला प्रहरी कार्यालय लमजुङका इन्स्पेक्टर ओमप्रकाश पुनले बताए । उनका अनुसार उक्त ट्रक लकडाउन खुलेपछि स्थानीयसँग वार्ता गरेर आयोजना निर्माणस्थलमा लगिनेछ । 

लकडाउनलाई कडाइ गर्न स्थानीयले गाउँ भित्रने नाकामा तगारो लगाएका थिए । सो तगारो भत्काएर निर्माण कम्पनीले टर्वाइन बोकेको दुईवटा ट्रक भित्र्याएको थियो । 

गाउँ हुँदै ट्रक भित्र्याउन खोजेपछि स्थानीय युवाहरूले अवरोध गरेका थिए । स्थानीयको अवरोध हटाउन कम्पनीका कर्मचारी स्थानीयमाथि जाइलागेपछि झडप भएको स्थानीय करण थापा बताउँछन् । स्थानीयले ढुंगामुढा गरेपछि कम्पनीका कर्मचारी  भागेका थिए । 

स्थानीयले हाइड्रोपावरको एउटा लोडरमा क्षति पुऱ्याएका छन् । यसअघि कोरना संक्रमित मुलुक चीनबाट कामदार गाउँ आएको भन्दै स्थानीय आक्रोसित बनेका थिए । सरकारले निर्माण कार्य रोकेर लकडाउनलाई कार्यान्वयन गर्न आग्रह गरिरहेका वेला काम नरोकी गाउँलेलाई त्रसित बनाएको स्थानीय थापा बताउँछन् ।

आयोजनामा कार्यरत स्थानीय विष्णुराज घिमिरेका अनुसार स्थानीयको डरका कारण आयोजनामा कार्यरत चिनियाँ र नेपाली कर्मचारी घरबाहिर निस्केका छैनन् । आयोजनाको टर्वाइनको सामान वीरगन्जबाट पास ल्याएर सरोकार समिति र स्थानीयसँग समन्वय गरेर काम गरेको घिमिरेले बताए ।

३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजनाको निर्माण चिनियाँ कम्पनी झी ज्याङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनी लिमिटेडले गरिरहेको छ ।