मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका बुटवल
२०७६ चैत १७ सोमबार १९:२८:००
Read Time : < 1 मिनेट
समाचार

सीमामा अलपत्र परेकालाई समूह बनाएर सम्बन्धित जिल्ला पठाउने प्रदेश ५ को निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका बुटवल
२०७६ चैत १७ सोमबार १९:२८:००

प्रदेश ५ सरकारले सीमा क्षेत्रमा अलपत्र परेकालाई समूह बनाई सम्बन्धित जिल्लामा पठाउने र उनीहरूलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने तथा खानपिनको व्यवस्था गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको प्रदेश  मन्त्रिपरिषद्को बैठकले निर्माण क्षेत्रमा काम गर्ने मजदुरलाई घर पठाउने व्यवस्था गर्ने, त्यसका लागि यातायातका साधनको पासको व्यवस्था प्रमुख जिल्ला अधिकारीले मिलाउने तथा सम्बन्धित निर्माण कम्पनीले गाडीको व्यवस्था गर्ने निर्णय पनि गरेको छ । 

खेती स्याहार्ने वेला भएकाले कृषि प्रयोजनमा प्रयोग हुने थ्रेसर, कम्बाइन मेसिनलगायतका सामग्री प्रयोग गर्न गाउँ र नगरपालिकाभित्र कार्यकारी अधिकृतले तथा जिल्लाभित्र र बाहिरका लागि प्रमुख जिल्ला अधिकारीले पासको व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ । 

मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीका अनुसार बैठकले पाँचबुँदे निर्णय गरेको छ । केसीका अनुसार एम्बुलेन्सचालकका लागि १२ वटै जिल्ला प्रशासन कार्यालयमा पिपिई पठाइएको र प्रमुख जिल्ला अधिकारीले वितरण गर्ने निर्णयमा उल्लेख छ । 

बैठकले प्रदेश ५ मा तीनवटा प्रयोगशाला स्थापना गर्ने निर्णय पनि गरेको छ । भैरहवाको गहुँ बाली अनुसन्धान केन्द्र परिसर,  दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगन्जको भेरी अस्पतालमा  तत्काल प्रयोगशाला स्थापना गरी कोरोना भाइरसको परीक्षण सुरु गर्ने निर्णय बैठकले गरेको छ ।