१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
टोपलाल अर्याल गुल्मी
२०७६ चैत १७ सोमबार १३:०३:००
Read Time : > 1 मिनेट
समाचार

गुल्मीमा विदेशबाट १७ सयभन्दा बढी भित्रिए, तर क्वारेन्टाइनमा ५५ जना मात्र

Read Time : > 1 मिनेट
टोपलाल अर्याल गुल्मी
२०७६ चैत १७ सोमबार १३:०३:००

गुल्मीमा विदेशबाट आएकाहरूमध्ये अधिकांश घरघर पुगेको पाइएको छ । 

जिल्ला प्रशासन कार्यालयले संकलन गरेको तथ्यांकअनुसार आइतबारसम्म १२ वटै स्थानीय तहमा भारत र तेस्रो मुलुकबाट आउने मानिसको संख्या एक हजार सात सय २४ रहेको छ ।

विदेशबाट जिल्ला भित्रिने  जम्मा ५५ जना मात्रै विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा बसेका छन् । 

जिल्लाको कालिगण्डकी गाउँपालिकामा २०, मुसिकोट नगरपालिकामा चार, इस्मा गाउँपालिकामा ११, धुर्कोट गाउँपालिकामा १० जना र मालिका गाउँपालिकामा १० जना क्वारेन्टाइनमा रहेका छन् । 

उनीहरू सबै पछिल्लो समय भारतबाट आएका हुन् ।

करिब पाँच सय क्वारेन्टाइन बेड
जिल्लाका स्थानीय तहमा करिब पाँच सय बेड क्षमताका क्वारेन्टाइन निर्माण गरिएका छन् । 

दुई नगरपालिका र १० गाउँपालिकाकामध्ये गुल्मी दरबार गाउँपालिकाबाहेक ११ स्थानीय तहले अहिलेसम्म चार सय ९५ क्वारेन्टाइन बेड निर्माण गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले बताए । 

ढिला गरी बनाइयो क्वारेन्टाइन 
जिल्लाका अधिकांश स्थानीय तहलाई बल्ल क्वारेन्टाइन बनाउने लहर चलेको छ । जसका कारण अहिले गाउँगाउँ असुरक्षित बन्न पुगेका छन् । 

गाउँ फर्कनेहरू अधिकांश चैत पहिलो हप्ता नै गाउँ आइपुगेका थिए । तर, चैत ७ गते जिल्लास्तरीय सर्वपक्षीय बैठकले गाउँपालिका र वडाहरूमा क्वारेन्टाइन र आइसोलेसन हाउस बनाउने निर्णय गरेकाे थियाे। जसले गर्दा विदेशबाट आएकाहरू सबै आ–आफ्नो घरघरमा पुगिसकेका थिए । 

मुसिकोटमा चारजना क्वारेन्टाइन, चार सय घरमा 
मुसिकोट नगरपालिकामा तीन सय ९२ जना नेपालबाहिरबाट गाउँ आए । सबैभन्दा बढी  भारतबाट तीन सय ५० र अन्य मुलुकबाट ४२ छन् । 

तर, अहिलेसम्म चारजना मात्रै क्वारेन्टाइनमा छन् । उनीहरू सबै पछिल्लो समय भारतबाट गाउँ आएका हुन् । मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले जिल्लाको प्रमुख रिडी नाका व्यवस्थापनमा कमजोरी भएका कारण नागरिकहरू घरमै पुगेकाले क्वारेन्टाइनमा ल्याउन मुस्किल परेको बताए । 

‘नाकाबाटै पहिचान गरेर सम्बन्धित वडामा ल्याउन सकेको भए क्वारेन्टाइनमै व्यवस्थापन गर्न सकिन्थ्यो,’ सापकोटाले भने, ‘घर पुगेकालाई अब क्वारेन्टाइन पुऱ्याउन सकिएन ।’