मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रमेश सापकाेटा काठमाडाैं
२०७६ चैत १७ सोमबार ११:३९:००
Read Time : > 4 मिनेट
पालिका अपडेट

प्रश्न विद्यार्थी नेतालाई : कोरोनासँग जुध्न सरकारले के गर्नुपर्ला ?

Read Time : > 4 मिनेट
रमेश सापकाेटा, काठमाडाैं
२०७६ चैत १७ सोमबार ११:३९:००

कोरोना भाइरस (कोभिड–१९)बाट विश्व समुदाय नै पीडित छ । यसको असर नेपालमा पनि देखिन थालेपछि सरकारले लकडाउन गरेको छ । साताव्यापी लकडाउनले गरिब तथा दैनिक मजदुरी गरेर खाने नागरिक समस्यामा छन् । यस्तो अवस्थामा अब सरकारले के गर्नुपर्ला ? यही प्रश्न नयाँ पत्रिकाकर्मी रमेश सापकोटाले विद्यार्थी संगठनका नेताहरूसँग राखेका छन् :

उपचार गर्न नमान्ने अस्पताललाई कारबाही : ऐन महर, संयोजक, अनेरास्ववियु
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको नेपालमा पनि संक्रमण देखिन थालेको छ । यो दुःखदायी अवस्थाबाट बच्न हामी सबै सजग र सचेत हुन जरुरी छ । संक्रमणबाट नेपाल र नेपालीलाई बचाउन सरकारले थालेको पहल सकारात्मक छ । यो पहललाई अझै बढाउनुपर्छ । संक्रमण थप फैलन नदिन सरकार र जनताले जिम्मेवारी निभाउनुपर्छ । यसबीचमा सम्भावित संक्रमितको परीक्षण हुन बाँकी छ भन्ने आशंका उठेका छन् । संक्रमण भएका देशबाट आएकालाई क्वारेन्टाइनमा राखेर छिटो परीक्षण दायरामा ल्याउनुपर्छ । स्वास्थ्यकर्मीका लागि पिपिई, तालिमसहित उपचारका लागि बन्दोबस्तीको पर्याप्त तयारी गर्नुपर्छ । जनताले लकडाउनलाई उल्लंघन गर्ने होइन, सहयोग गर्नुपर्छ । जथाभावी हिँड्ने, डुल्ने, त्रास, निराशा फैलाउने, गलत समाचार फैलाउनेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । यो संकटको वेलामा केही निजी अस्पतालले उपचार गर्न नमानिरहेका समाचार आएका छन् । त्यस्ता अस्पताललाई कारबाहीको दायरामा ल्याउनुपर्छ । 

सचेतनाले मात्रै पुग्दैन परीक्षण मुख्य हो : राजीव ढुंगाना,अध्यक्ष, नेविसंघ

हाम्रोमा संक्रमण देखिन भर्खरै सुरु भएको छ । रोग फैलिहाल्यो भने हामीसँग पर्याप्त स्वास्थ्य उपकरणको अभाव छ । चिकित्सकलगायत स्वास्थ्यकर्मीका लागि पिपिई पर्याप्त छैन । समयमा अत्यावश्यक सामग्रीको व्यवस्था नगर्दा जतिखेर पनि जोखिममा पर्न सक्छौँ । तत्काल संक्रमण कम देखिनु भनेको तयारीको मौका हो । सरकारले तयारी बढाउनुपर्छ । सचेतना मात्रै फैलाएर हामीले उन्मुक्ति पाउदैनौँ । धेरैभन्दा धेरैको उपचार गर्न सक्ने गरी स्वास्थ्य सामग्री तत्काल जुटाउन विलम्ब गर्नुहुन्न । अहिलेसम्म विदेशबाटै आएकामा मात्रै संक्रमण देखिएको छ । अब विदेशबाट आउएकालाई परीक्षणको दायरामा ल्याउन ढिलाइ गर्नुहुन्न । विदेशबाट आएका र उनीहरूको परिवारलाई निगरानीमा राख्दै उपचारको व्यवस्था गर्नुपर्छ । लकडाउन बढाउँदै सेल्फ–क्वारेन्टाइनको आग्रह नमान्नेलाई कारबाही गर्नुपर्छ । दिनहुँ कमाएर खानुपर्ने वर्गका नागरिकलाई समस्या हुन थालेको छ । उनीहरूका लागि विशेष व्यवस्था गर्नुपर्छ । 

सबै जिल्लामा परीक्षण गरौँ : कुन्दनराज काफ्ल, महामन्त्री, नेविसंघ

लकडाउन राम्रो छ । यसलाई व्यवस्थित गर्नुपर्छ । अकस्मात् लकडाउन हुँदा गरिबले खाने–बस्ने व्यवस्था पाएका छैनन् । मध्यम र निम्नस्तरका नागरिक समस्यामा परेका छन् । राज्यले उनीहरूलाई छिटोभन्दा छिटो खानपिनको बन्दोबस्त गर्नुपर्छ । बाटोमै फसेका नागरिकलाई गाउँ पुग्ने वातावरण बनाउनुपर्छ । विदेशमा रहेकाहरू नेपाल आउन चाहन्छन् भने सरकारले ल्याउनुपर्छ । दैनिक मजदुरी गर्नेका लागि विशेष कार्यक्रम ल्याउनुपर्छ । 

कोरोना भाइरसको संक्रमण हुन नदिन सरकारले पर्याप्त तयारी गर्नुपर्छ । तर, कोरोना लागेपछि के गर्ने भन्ने सरकारसँग योजना छैन । एकैपटक धेरै बिरामी भए भने कहाँ र कसरी उपचार गर्ने ? सबै जिल्ला सदरमुकाममा कोरोना जाँच्ने बन्दोबस्त गर्नुपर्छ । स्वास्थ्य मन्त्रालयका कर्मचारी कहाँ छन् ? सरकारलाई थाहा छैन । स्वास्थ्यमन्त्रीको टिप्पणी सुन्दा स्वास्थ्य मन्त्रालय छैन जस्तो देखिन्छ । यस्तो पाराले संक्रमणको दर बढ्दा हामीले थेग्न सक्दैनौँ । तसर्थ, अहिलेदेखि नै पर्याप्त तयारीमा जुटौँ । 

धेरैको परीक्षण गर्नुपर्छ : सुनीता बराल, नेत्री, अनेरास्ववियु

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले काम गरिरहेको छ । हिजो नै स्वास्थ्य सामग्री ल्याएको छ । धेरै ठाउँमा जाँच गर्दा हामी थप ढुक्क हुन सक्छौँ । किनकि अहिले मौसम परिवर्तनले गर्दा पनि रुघाखोकी लाग्ने वेला छ । परीक्षणपश्चात् मात्र नागरिक ढुक्कले घर बस्ने अवस्था रहन्छ । त्यसैले देशका धेरै ठाउँमा कोरोना परीक्षणको व्यवस्था सरकारले गर्नुपर्छ । विदेशबाट आएका सबैको परीक्षण अनिवार्य गर्नुपर्छ । उनीहरूका परिवारलाई पनि निगरानीमा राख्नुपर्छ । लकडाउनले नागरिकलाई सचेत गराएको छ । यो वेला सरकारले दैनिक ज्यालादारीमा काम गर्ने नागरिकलाई विशेष ख्याल गर्दै उचित राहत दिनुपर्छ । सचेतनाका लागि सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट सन्देश प्रवाह गर्नुपर्छ ।

स्वास्थ्यकर्मीलाई पहिलो प्राथमिकता : साधना घिमिरे, नेत्री, नेविसंघ

चीनमा धेरै अघि कोरोना भाइरस देखिए पनि नेपालले अहिलेसम्म पर्याप्त तयारी गरेन । संक्रमण देखिन थालेपछि पनि उपचार गर्ने स्वास्थ्यकर्मीका लागि सुरक्षा सामग्री छैनन् । स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत सबैलाई स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था गर्नुपर्छ । अनि मात्रै ढुक्क भएर उपचार, खाद्यान्न, सुरक्षाको प्रत्याभूति दिन सहज हुन्छ । 

स्वास्थ्य सामग्रीको अभावमै केही अस्पतालले बिरामी फर्काएका समाचार आएका छन् । विदेशबाट फर्किएका नेपालीको परीक्षण गर्न अब ढिलाइ गर्नुहुन्न । संक्रमण देखिए छिटो आइसोलेसनमा राख्नुपर्छ । जनताले अनावश्यक भीडभाड नगरी घरमै बस्दा जोखिम कम हुन्छ । यस्तोमा राज्यले अझै जनचेतना फैलाउन आवश्यक छ । 

विदेशबाट फर्किनेको खोजीखोजी जाँच : दीपक भट्टराई, महामन्त्री, नेविसंघ

रोग लागेपछि के गर्ने भन्ने पर्याप्त तयारीमा सरकार लागेको देखिएन । चीनमा कोरोना भाइरस फैलिएपछि पूर्वतयारी गर्नुपर्ने थियो । सरकारले समय छँदै गर्नुपर्ने तयारी गरेन । पिपिईसहितका स्वास्थ्य सामग्री पर्याप्त ल्याएको छैन । अहिले जतिलाई कोरोना भाइरसको संक्रमण देखिएको छ, उनीहरू चैतको पहिलो हप्ता नेपाल प्रवेश गरेका हुन् । विमानस्थलबाटै क्वारेन्टाइन र आइसोलेसनमा पठाएको भए संक्रमित यसरी गाउँगाउँमा पुग्ने थिएनन् । अब विदेशबाट आएकाको खोजीखोजी परीक्षण गर्न ढिलाइ गर्नुहुन्न । 

कोरोना भाइरसको संक्रमण हुन नदिन सबै समुदाय र पार्टीको सहयोग छ । यस्तोमा सरकारले प्रभावकारी पहल लिनुपर्छ । हजारौँमाथि संक्रमणको आशंका गरिएको छ, तर क्षमता एक सयजनाको उपचार गर्ने पनि छैन । बिस्तारै संक्रमण बढ्दा यस्तो कमजोर तयारीले संकट बेहोर्नुपर्छ । यसैबीच देखिएको मूल्यवृद्धि र कालोबजारी रोक्नुपर्छ । श्रमजीवी, ज्यालादारी मजदुर, विद्यार्थी, सहरमा भाडामा बस्ने युवालाई राहतको व्यवस्था गर्नुपर्छ ।

मजदुर वर्गलाई राहत दिनुपर्छ : किशोरकुमार यादव,अध्यक्ष, राष्ट्रिय विद्यार्थी संघ

सरकारले लकडाउन गरेर राम्रो गरेको छ । कोरोना नियन्त्रणका लागि सरकारले लिइरहेको निर्णयलाई हामीले पालना गर्नुपर्छ । यसको विकल्प छैन । तर, लकडाउन लम्बिँदै जाँदा गरिब र मजदुर वर्गमा समस्या पर्न सक्ने प्रस्ट छ । त्यसका साथै दैनिक ज्यालादारीमा काम गर्नेको संख्या पनि कम छैन । सरकारले अब उनीहरूबारे पनि गम्भीर हुनुपर्छ । कोरोना भाइरस नियन्त्रणका लागि लकडाउनसहित अस्पतालको तीव्र सेवासँगै न्यून आय भएका नागरिकबारे सोच्नुपर्ने वेला आएको छ । अर्थतन्त्र पूरै धराशायी हुने देखिएकाले त्यसबारे अहिले नै गम्भीरता देखाउनुपर्ने हुन्छ ।

तीन तहका सरकारको समन्वय हुनुपर्छ : रूपनारायण श्रेष्ठ,अध्यक्ष, समाजवादी विद्यार्थी युनियन

सरकारको अहिले सम्पूर्ण शक्ति यसमै केन्द्रित गर्नुपर्ने छ । किनकि यो विश्वस्तरको समस्या हो । सरकारले लकडाउनसहित लिएका निर्णयहरू सही छन्, तर कोरोना भाइरस नियन्त्रणका लागि भइरहेका काममा समन्वयको खाँचो देखिएको छ । सरकारकै मन्त्रीहरूको फरक–फरक विचार आइरहेका छन् । अस्पताल, डाक्टर र स्वास्थ्य मन्त्रालयबीच तालमेल हुनुपर्छ । यो वा त्यो बहाना गर्नुहुन्न । सरकारको चनाखोपन अझै खड्किरहेको छ । 

सातै प्रदेशमा परीक्षणको व्यवस्था गर्नुपर्छ  : सुरेन्द्र बस्नेत, नेता, अनेरास्ववियु

कोरोना भाइरसको महामारीले नेपाललाई मात्र नभएर सिंगो विश्वलाई आक्रान्त पारेको छ । सावधानीका साथ यसको सामना गर्नुपर्छ । संकटका वेला प्रत्येक नागरिकले लकडाउनलाई साथ दिएर सहयोग गर्नुपर्छ । सरकार जनताको अभिभावक हो । यस्तो संकटमा सरकारको महत्व प्रकट हुन्छ । यसर्थ सरकारले बुद्धिमतापूर्वक कदम चाल्न जरुरी छ । अहिले थोरैमा देखियो भनेर ढुक्क हुने स्थिति छैन । धेरैको परीक्षण गर्नु जरुरी छ । परीक्षण बढाउँदा धेरै संक्रमित देखिएको विभिन्न देशको उदाहरणले देखाउँछ । यसकारण पर्याप्त स्वास्थ्य उपकरण ल्याएर सातै प्रदेश र मुख्य सहरमा परीक्षण गर्नुपर्छ । संकटको घडीमा सरकारले दैनिक गुजारा गर्ने नागरिकलाई राहतको व्यवस्था गर्नुपर्छ ।