Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रामकृष्ण थापा
२०७५ पौष ३ मंगलबार ०६:५०:००
Read Time : > 1 मिनेट
प्रदेश

तीन वर्षमा पनि पूरा भएन सिन्धुपाल्चोकका ४६ विद्यालयको पुनर्निर्माण

चिसोले बालबालिकाको पढाइ प्रभावित

Read Time : > 1 मिनेट
रामकृष्ण थापा
२०७५ पौष ३ मंगलबार ०६:५०:००

चिसो बढेसँगै सिन्धुपाल्चोकका बालबालिकाको पढाइ प्रभावित भएको छ । भूकम्पले ध्वस्त विद्यालयको पुनर्निर्माण नहुँदा चिसोमा बालबालिकालाई पठनपाठनमा समस्या भएको हो । तीन वर्षअघि बनेको थोत्रो अस्थायी सिकाइ केन्द्र (टिएलसी)मा बसेर पढ्दा बालबालिका बिरामी पर्न थालेका छन् । 

एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा जिल्लाका ४६ विद्यालय निर्माणाधीन अवस्थामा छ्रन् । समयमै विद्यालय नबन्दा बालबालिका टहरामा बसेर पढ्न बाध्य भएका हुन् । निर्माण कम्पनीको ढिलासुस्ती र इन्जिनियरको कमिसन मोहले समयमै विद्यालय भवन बन्न नसकेको जानकारहरू बताउँछन् ।

भवन पास गर्न इन्जिनियरलाई घुस
जिल्ला आयोजना कार्यान्वयन एकाइले विद्यालय पुनर्निर्माणको जिम्मा लिएको छ । भदौमै सकिनुपर्ने काम ठेकेदारको ढिलासुस्तीले बीचैमा रोकिएको छ । शिक्षा एकाइका कर्मचारीले कमिसन मागेर समयमै भुक्तानी नदिँदा काममा ढिलाइ भएको निर्माण व्यवसायीले बताएका छन् । इन्जिनियर शेरबहादुर पुजाराले घुस नदिएसम्म डिजाइन र भवन पास नगर्ने भएकाले निर्माणमा ढिलाइ भएको आरोप व्यवसायीले लगाएका छन् । 

३८ विद्यालयको निर्माण कार्य अन्तिम चरणमा पुगेको जिल्ला आयोजना कार्यान्वयन एकाइका कृष्णप्रसाद सुवेदीले बताए । ‘समयमा काम नसकिएकाले विनासर्त तीन महिना थपेका छौँ,’ उनले भने, ‘यदि सो अवधिमा पनि नसकिए पेनाल्टी लिएर फेरि तीन महिना थप्ने हाम्रो तयारी छ ।’ जिल्लाका ३८ वटा विद्यालय भवन वैशाखयता निर्माण नहुने उनले बताए ।

भवनलाई २ देखि १३ करोडसम्म 
निर्माणाधीन आधारभूत, प्रावि, निमावि र मावि सबै तहका विद्यालयलाई आवश्यक कक्षाकोठा र शौचालयका लागि दुई करोडदेखि १३ करोड रुपैयाँसम्म बजेट विनियोजन गरिएको छ । एडिबीले बर्सेनि रकम विनियोजन गर्छ । जिल्लाकै जेठो विद्यालय कृष्ण रत्नगंगाको ३२ कोठे भवन बन्दै छ । 

भवन निर्माणमा नौ कम्पनी
डेढ अर्बभन्दा बढी अनुदानमा निर्माणाधीन ४६ विद्यालयको ठेक्का नौवटा निर्माण कम्पनीले लिएका छन् । गुणस्तरीय कामसहित समयमै सक्ने गरी काम भइरहेको धुकुचु कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रोप्राइटर बादल लामाले बताए । गोल्मादेवी मावि कदम्बास र सेतीदेवी शारदा मावि पांग्रेटारको पुनर्निर्माणको ठेक्का लिएका लामाले तोकिएको समयमा काम सक्ने दाबी गरेका छन् ।

३८ विद्यालयको एक सय २० वटा भवन गत तीन वर्षदेखि निर्माणाधीन अवस्थामा छ । यो वर्ष पुनः आठ विद्यालयको २४ भवन बनाउन ठेक्का सम्झौता भएको छ । काम ढिला गर्नेलाई पुनः ठेक्का दिएकाले निर्माण कार्य सकिन लामो अवधि लागेको हो ।