मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
काठमाडौं गैरीधारास्थित सोसल क्याफेबाट भइरहेको ‘म्युजिकल आउटब्रेक’ लाइभ ।
२०७६ चैत १७ सोमबार १०:१४:००
Read Time : > 1 मिनेट
नयाँCity

लकडाउनको पट्यारलाग्दो दैनिकीलाई त्राण दिने प्रयत्नमा सर्जक

लकडाउनको डिजिटल दैनिकी

Read Time : > 1 मिनेट
२०७६ चैत १७ सोमबार १०:१४:००

गत शनिबार साढे ३ बजे अभिनेता तथा रंगकर्मी नाजिर हुसेन फेसबुक पेज ‘स्टोरी टाइम इन नेपाल’मा लाइभ आए । त्यस क्रममा उनले ‘भोको राक्षस’, ‘मजुरको प्वाँख’ शीर्षकका कथा वाचन गरे । 

करिब साढे तीन हजार रियल टाइम भ्युअर्सले उनको प्रस्तुतिबाट मनोरञ्जन लिए । त्यसअघि आधा घन्टा सोही पेजमा शाश्वत पराजुलीले ‘खोज्दा खोज्दै हैरान’ र ‘ज्ञानी कि उल्लु’ कथा वाचन गरेका थिए । दिलभूषण पाठक, रूपेश श्रेष्ठ, यशु श्रेष्ठ, धु्रव घिमिरे, राजीवधर जोशीलगायत स्रष्टाले पनि उक्त पेजमार्फत कथा वाचन गर्दै आएका छन् ।

‘स्टोरी टाइम इन नेपाल’, ‘म्युजिकल आउटब्रेक’, फेसबुक लाइभमार्फत ‘रंगमञ्च महोत्सव’लगायत भर्चुअल अभियानबाट लकडाउनको पट्यारलाग्दो दैनिकीबाट मानिसलाई त्राण दिने प्रयत्नमा छन्, सर्जकहरू ।

लकडाउनका कारण पट्यारलाग्दो बनेको दैनिकीलाई मनोरञ्जनात्मक बनाउँदै त्रासबाट अलग्याउने उद्देश्यले यो अभियान सुरु गरिएको ‘स्टोरी टाइम इन नेपाल’का संस्थापक राजीवधर जोशी बताउँछन् । 

खासमा, यो अभियान सन् २०१२ देखि नै सुरु भएको हो । तर, कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले लकडाउन घोषणा गरेपछि घरघरमै थन्किएका सर्जक र सिर्जनाप्रेमीमाझ यसको प्रभावकारिता देखिएको छ । किनकि, लकडाउनमा समय व्यतीत गर्न अधिकांश मानिस सामाजिक सञ्जालमा झुन्डिएका छन् । भौतिकभन्दा भर्चुअल संसार नै उनीहरूका लागि साथी बनेको छ । सामाजिक सञ्जालहरूमाथि अफवाह सिर्जना गर्ने माध्यम बनेको आरोप लागिरहँदा जोशीले त्यसलाई सिर्जनशील बनाउने प्रयास गरेका हुन् । 

काठमाडौं गैरीधारास्थित सोसल क्याफेले यही समयमा ‘म्युजिकल आउटब्रेक’ नामक डिजिटल कन्सर्ट चलाइरहेको छ । नेपाल म्युजिक फेस्टिभलका अध्यक्ष रञ्जन ओझा यस अभियानका प्रणेता हुन् । क्याफेका सञ्चालक पनि हुन् उनी । भन्छन्, ‘संगीत र खेल त्यस्ता कला हुन्, जुन सजिलै घरघरमा पुग्न सक्छन् ।’ लकडाउनको पहिलो दिनदेखि सुरु भएको लाइभ कन्सर्टमा छैटौँ दिन पूरा हुँदा २८ कलाकारले आ–आफ्नो प्रस्तुति दिइसकेका छन् । छैटौँ दिन आइतबार ६ जना कलाकारले प्रस्तुति दिए ।

यस्तै, विश्व रंगमञ्च दिवसको अवसर पारेर फेसबुक लाइभमार्फत ‘रंगमञ्च महोत्सव’ आयोजना गरिएको छ । थिएटर मल कीर्तिपुर र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी)को संयुक्त आयोजना रहेको महोत्सवमा अपराह्न ५ बजेदेखि दैनिक एउटा नाटक देखाइने गरेको छ । ‘संकटको समयमा रंगमञ्च र दर्शकबीचको सम्बन्धलाई निरन्तरता दिन महोत्सव आयोजना गरेका हौँ,’ निर्देशक केदार श्रेष्ठ भन्छन् ।

कोरोनाको विश्वव्यापी कहरसँगै भौतिक संसारमा ठूलो सन्नाटा छ । ‘लकडाउन’, ‘क्वारेन्टाइन’, ‘सेल्फ आइसोलेसन’जस्ता मानिसलाई एक्ल्याउने शब्दावली अहिले जीवन रक्षाका मानक बनेका छन् । यहीवेला एक्लिएको मानव जीवनमा सामाजिकीकरणको प्राण भरिरहेको छ, भर्चुअल संसारले ।

यो अभ्यास नेपालमा मात्र होइन, संसारभरि नै छ । बिबिसीका अनुसार अमेरिका र चीनमा निर्मित सिनेमाहरू पनि इन्टरनेटमार्फत रिलिज गर्नेबारे बहस सुरु भएको छ । सिनेमाका सर्वाधिक दर्शक भएका मुलुक हुन्, चीन र अमेरिका । सिनेमा उद्योगमा भएको ठूलो घाटा इन्टरनेट रिलिजमार्फत पूर्ति गर्न सकिनेबारे दुवै मुलुकमा बहस सुरु भएको हो ।