१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत १७ सोमबार ०७:१४:००
Read Time : > 1 मिनेट
समाचार

स्थानीय तहले छर्किए कीटनाशक औषधि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत १७ सोमबार ०७:१४:००

कोरोना भाइरस संक्रमण फैलिन सक्ने जोखिमलाई कम गर्न काठमाडौं उपत्यकाका महानगर र नगरपालिकाहरूले सार्वजनिक स्थान र सडकमा किटनाशक औषधि छर्किएका छन् । 

काठमाडौं, ललितपुर र भक्तपुरका १८ नगरपालिका समेटिएको उपत्यका नगरपालिका फोरमले कोरोनाविरुद्ध लड्न अभियानकै रूपमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । फोरमको निर्णयबमोजिम नगरपालिकाहरूले सडक, सार्वजनिक स्थान र टोल–टोलसम्म पुगेर किटनाशक औषधि छर्किएका हुन् । 

फोरमले कोरोनाविरुद्ध अभियानकै रूपमा लकडाउनको पूर्ण पालना गर्ने–गराउने, कोरोना फैलिन नदिन सचेतना फैलाउने, सार्वजनिक स्थल, टोल र सडकमा रोग निवारण औषधि छर्कने, क्वारेन्टाइन निर्माण गर्ने, आ–आफ्नो नगरपालिकामा हेल्थ डेस्क स्थापना गर्ने, निःशुल्क स्वास्थ्य परीक्षण तथा शंकास्पद बिरामीको नमुना संकलन गर्ने, मास्क र स्यानिटाइजरको वितरण र उपलब्धतालाई सहज बनाउनेलगायत गतिविधि भइरहेको जनाएको छ ।

स्थानीय बजारमा अत्यावश्यक वस्तुको उपलब्धता तथा खरिद गर्दा उपभोक्ताको भीड हुन नदिनसमेत नगरपालिकाहरूले जोड दिएका छन् । काठमाडौं र ललितपुर महानगरपालिका तथा काठमाडौंका दश, ललितपुरका दुई र भक्तपुरका चार नगरपालिकाले कोरोना भाइरस फैलिन नदिन सचेतनामूलक कार्य गरिरहेका उपत्यका नगरपालिका फोरमका सचिव तथा मध्यपुरठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले बताए ।  

सूर्यविनायकका रिसोर्टलाई क्वारेन्टाइन बनाउने तयारी

भक्तपुरकै सूर्यविनायक नगरपालिकाले पनि दशवटै वडामा रोग निवारण गर्ने काम गरिरहेको छ । उपप्रमुख जुना बस्नेतले भनिन्, ‘नगर क्षेत्रमा कोरोना भित्रिन र फैलिन नदिन हरसम्भव कोसिस गरिरहेका छौँ, विदेशबाट फर्किएकाको पनि पहिचान भएको छ, उहाँहरू सबै स्वस्थ हुनुहुन्छ ।’ उनले नगरपालिकाले तत्काललाई सय बेडको क्वारेन्टाइन तयार गरेको बताइन् । नगरपालिकाले डोलेश्वर रिसोर्ट, सिटीगाउँ रिसोर्ट, रानीकोट र घ्याम्पेडाँडा रिसोर्टमा क्वारेन्टाइन राख्ने तयारी गरेको छ । 

मध्यपुर डिसइन्फेक्सनमा नेपाली सेनाको सहयोग

मध्यपुरठिमी नगरपालिकाले नेपाली सेनाको सहयोगमा लोकन्थली, कौशलटार, गठ्ठाघर, सानोठिमी, नगदेश, बोडे, तिगनी, निकोसेरा, राधेराधेलगायत क्षेत्रमा रोग निवारण गर्ने औषधि छर्किने काम सकेको छ । मेयर श्रेष्ठले भने, ‘मुख्य–मुख्य ठाउँमा नगरपालिकाले आफैँ पनि रोग निवारण अर्थात् डिसइन्फेक्सन गरेको छ, अन्य ठाउँमा स्थानीयको मागबमोजिम औषधि छर्ने तयारी छ ।’ काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रका अधिकांश सडक सफाइ र डिसइन्फेक्सन गरेको छ ।

महानगरले पानीमा किट मिलाएर सडक, सार्वजनिक स्थल र कीटाणु बढी भएका क्षेत्रमा डिसइन्फेक्सन गरेको हो । महानगर प्रहरी प्रमुख धनपति सापकोटाका अनुसार महानगरले चार हजार लिटर क्षमताका तीनवटा जेट मेसिन र केही साना ट्यांकरको सहयोगमा रोग निवारण औषधि छर्किने काम गरिरहेको छ । नगरपालिकाका सबै वडाका टोल–टोलमा पुगेर कोरोनाविरुद्ध सचेतनासँगै रोग निवारण औषधि छर्किन जनप्रतिनिधि परिचालित भएका चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले बताए । 

कीटनाशक औषधि छर्कंदै ललितपुर महानगर

ललितपुर महानगरपालिकाले महानगरका वडाहरूमा कीटनाशक औषधि छर्किएको छ । कोरोना भाइरस संक्रमण जोखिमलाई न्यूनीकरण गर्न महानगरले शनिबारबाटै कीटनाशक औषधि छर्कन सुरु गरेको हो ।

कुपण्डोल, पुल्चोक, जावलाखेल, महालक्ष्मीस्थान, लगनखेल सातदोबाटो, ग्वार्कोलगायतका क्षेत्रमा शनिबार औषधि छर्किएको ललितपुर महानगरपालिकाले जनाएको छ । महानगरका जिन्सी शाखाका प्रमुख सागर थापाले २३, २४, २७, २९ लगायतका वडामा आइतबार औषधि छर्किएको बताए । सबै वडामा औषधि छर्किने महानगरको योजना छ । वडा नम्बर २४ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक दिनेश कार्कीका अनुसार चोक, गल्ली र मूलबाटोमा औषधि छर्किएको हो ।