मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
डा. डिला संग्रौला
२०७६ चैत १६ आइतबार १३:४०:००
Read Time : > 3 मिनेट
ब्लग

काेराेना राेकथामका लागि प्रधानमन्त्रीलाई १४ सुझाब

Read Time : > 3 मिनेट
डा. डिला संग्रौला
२०७६ चैत १६ आइतबार १३:४०:००

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारी मानव सभ्यताका लागि ठूलो चुनौती हो । यो रोग भय र त्रासको रूपमा आइरहेको छ । यसको नियन्त्रणका लागि नेपाल सरकार ज्यादै संवदेनशील, जिम्मेवार र गम्भीर बन्न जरुरी छ । सरकार जनताको अभिभावक हो । यो संकटबाट पार पाउन सरकार मात्र हाेइन सबै राजनीतिक दल र जनता हातेमालो गरिरहेका छन् ।

त्यसैले स्वयं प्रधानमन्त्रीज्यूले नेतृत्वदायी एवं अभिभावककाे भूमिका खेल्दै कोरोनाको सम्भावित संक्रमणलाई रोकथाम र नियन्त्रण गर्न प्रभावकारी पहलकदमी गर्नुपर्छ । अहिले जति काम भएका छन् यतिले पुग्दैन । जनतालाई तत्काल भरोसा दिलाउनुपर्छ । यसका लागि सम्माननीय प्रधानमन्त्रीज्यूलाई ध्यानाकर्षण गराउन चाहन्छु । 

१. तत्काल स्वास्थ्य सामग्री र उपकरणको पर्याप्त उपलब्धता
कोभिड–१९ विश्वव्यापी महामारीको रूपमा फैलिएको छ । चीनमा धेरैअघि देखिएको यो भाइरसपछि नेपाललाई आवश्यक स्वास्थ्य सामग्रीको जोहो गर्न पर्याप्त समय थियो । तर, समयमा पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई), परीक्षण किट, मास्क, स्यानिटाइजर, थर्मोमिटरसहितका स्वास्थ्य सामग्रीको व्यवस्था भएन । ढिलोगरी सरकारले गएरातिदेखि ल्याउन थालेको छ । तर, थोरै सामग्रीले पुग्दैन । धेरै स्वास्थ्य सामग्री ल्याएर शंकास्पद धेरैको परीक्षण गर्नुपर्छ । 

२. स्वास्थ्यकर्मीलाई विशेष व्यवस्था
कोरोना भाइरस लाग्न नदिन नागरिक सचेत हुनु एउटा पाटो हो । तर, अर्को महत्वपूर्ण पक्ष स्वास्थ्यकर्मी हुन् । जोखिमबीच सुरक्षित हिसाबले उपचार गर्न सक्ने गरी स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्रीले मात्रै पुग्दैन । स्वास्थ्यकर्मीको आत्मबल र मनोबल उच्च राख्नुपर्छ । यसका लागि अहोरात्र खटिने स्वास्थ्यकर्मीलाई विशेष सुविधा र भत्ताको व्यववस्था गर्नुपर्छ । 

३. लकडाउनका कार्यान्वयन
लकडाउन सरकारले लहडको भरमा गरेको होइन । विश्वव्यापी रूपमा फैलिएको प्रकोप नियन्त्रणका लागि सरकारको यो कदम धेरै सकारात्मक छ । यो हामी सबै नेपालीको सुरक्षाको लागि हो भनेर सबैले बुझ्ने र सहयोग गर्ने गर्नुपर्छ । देशव्यापी भएको लकडाउनलाई अझै कडाइ गर्नुपर्छ । सहरबजारमा कडाइ देखिँदा गाउँमा अझै खुल्लमखुल्ला मानिसहरू हिँडिरहेका छन् । सहरबजारबाट नागरिकहरू गाउँगाउँ जाने खुला रूपमा केही हुँदैन भनेर हिँड्ने, मर्निङ वाकमा निस्कने, मोटरसाइकल चलाउनेजस्ता काम भएका छन् यस्तो गलत कामलाई रोक्न लकडाउनलाई अझै कडाइ गर्नुपर्छ । 

४. शंकास्पदको यथाशीघ्र पहिचान
विश्वमा कोरोनाको संक्रमण भाइरल भएपछि खुला बोर्डरको फाइदा उठाउँदै र विदेशबाट थुप्रै नेपाली हवाई माध्यमबाट स्वदेश आएका छन् । कोरोनाको विश्वव्यापी त्रासपछि थुप्रै मानिस एकैपटक स्वदेश आउँदा सीमानाका र एयरपोर्टमा पर्याप्त परीक्षण गरिएको छैन । अहिलेसम्म विदेशबाटै आएकाहरूमा कोरोना पोजेटिभ भएको देखिएको छ । यसर्थ विदेशबाट आउने सबै नागरिकलाई परीक्षणको दायरामा ल्याउनुपर्छ । उनीहरूको परिवार र साथीहरुलाई क्वारेन्टाइनमा राख्नुपर्छ । विदेशबाट फर्किएकाको खोजीखोजी पहिचान गर्न जति ढिलाइ हुन्छ संक्रमणको दर त्यति नै बढेर जान्छ । 

५. क्वारेन्टाइनको पर्याप्त व्यवस्था
कोरोनाको औषधि पत्ता नलागेकाले यसबाट सतर्क हुनु नै पहिलो उपचार हो । रोग फैलन नदिनु सबैभन्दा प्रभावकारी सतर्कता हो । तर, हाम्रा तीन तहका सरकारबीच समन्वय गरेर धेरैभन्दा धेरै क्वारेन्टाइन बनाउनुपर्छ । वडा तहसम्मै क्वारेन्टाइन बनाएर कोरोनाका शंकास्पदहरूलाई राख्नुपर्छ ।

६. परीक्षण तत्काल सर्भसुलभ
अहिले काठमाडौंको एक ठाउँ, मुख्य सहरमा मात्र कोरोनाको परीक्षण गरेर पुग्दैन । संक्रमण थप फैलन नदिन प्रदेशको केन्द्र, जिल्ला सदरमुकाम, पालिकाको केन्द्र र प्रत्येक वडामा कोरोना परीक्षणको व्यवस्था गर्नुपर्छ । जनसमुदायसम्म परीक्षण गरेपछि हामी बल्ल जोखिम कम समर्थ हुनेछौँ । 

७. निम्नवर्गलाई तत्काल राहत
लकडाउनले मजदुर, किसान, श्रमिकहरू सबैभन्दा बढी मारमा परेका छन् । बिहान, दिउँसो काम गरेर परिवारको गुजारा चलाउनुपर्ने दायित्वले यी वर्ग विवश छन् । तसर्थ उनीहरूलाई खाद्यान्नको प्रबन्ध सरकारले सबैभन्दा पहिले गर्नुपर्छ । 

८. विज्ञ एवं अनुभवीको सुझाब
लकडाउन सरकारको मात्रै समस्या होइन । यो विश्व र पूरै नेपालको समस्या हो । तसर्थ डाक्टर, नागरिक समाज, पेसागत संगठनका प्रतिनिधिसहित समाजका अनुभवीहरूको सुझाबलाई सरकारले ध्यान दिएर कार्यान्वयनमा लाग्नुपर्छ । सबैका साझा सुझाबलाई समेटेर कार्यान्वयनमा जाँदा कोरोनाको बढ्दो जोखिममा प्रभावकारी काम गर्न सकिन्छ । यसर्थ, यतिखेर सबैको साथ, सहयोग र सुझाब सरकारका लागि अपरिहार्य छ । 

९. सरकारी पदाधिकारीमा संवेदनशीलता
अरूका सल्लाह र सुझाबमा सरकारले प्रभावकारी काम गर्नु अहिलेको आवश्यकता हो । तर, प्रधानमन्त्री, मन्त्री, जनप्रतिनिधि, प्रदेश, स्थानीय तहसहित राज्यका सबै संयन्त्रले संवेदनशील र प्रभावकारी भएर यो जोखिममा काम गर्नुपर्छ । राज्यका यी फरकफरक निकायहरूले एउटै विषय र सन्दर्भमा फरकफरक बोलिरहेका छन् । एकैखालको सूचना, सन्देश र काम गर्न नसक्दा कुनै पनि काम प्रभावकारी बन्दैनन् । सबैले आपसी समन्वयमा काम गर्न सके मात्र नागरिक पंक्तिमा सरकारले गरेका कामप्रति विश्वास बढ्छ । 

१०. सबै संयन्त्रबीच समन्वय
केन्द्रदेखि प्रदेश, स्थानीय तह र राज्यका अरू निकायबीच समन्वय भए मात्रै कोरोना नियन्त्रणका लागि प्रभावकारी काम गर्न सकिन्छ । केन्द्रले एकथोक कामग र्ने र प्रदेश र स्थानीय तह आ–आफ्नै तालमा हुने हाे भने प्रभावकारी काम गर्न सकिँदैन । तसर्थ आपसी समन्वयको खाँचो छ ।

११. गुनासोको तत्काल सम्बोधन
एकातिर कोरोनाको त्रास छ । अर्कोतिर जनताको गुनासो र समस्या कोरोनाबाहेकका विषयमा पनि छन् । कोरोना नलागेका, तर सामान्य रुघा, खोकी  र ज्वरो आउँदा पनि नागरिकहरू डराएका छन् । उनीहरूको डरबीच निजी अस्पतालले बिरामी लिन मानिरहेका छैनन् । नागरिकका यस्ता गुनासाहरू राज्यले तत्काल सुन्नुपर्छ । कोरोनाबाहेकका अरू निकै संवेदनशील रोगको उपचार गर्ने प्रबन्ध पनि अहिले हुनुपर्छ । 

१२. सूचना र सचेतनाको व्यापकता
कोरोनाको जोखिम यति धेरै हुँदा पनि अझै मान्छे सुसूचित भइसकेको छैन । मान्छे के हुन्छ त भनेर घरबाट निस्किरहेका छन् । कतिलाई यो रोग कति संवेदनशील छ भन्ने पनि हेक्का छैन । यसकारण सबै सञ्चारमाध्यम, सामाजिक सञ्जालबाट सूचना र सन्देश दिएर सरकारले नागरिकलाई अझै सचेत पार्नुपर्नेछ । 

१३. अत्यावश्यक सेवाको असहजता
रोगको संक्रमणको जोखिम एकातिर भए पनि खाद्यान्न, तरकारी, फलफूल, खानेपानी, दूधसहितकाअत्यावश्यक वस्तुको पनि उत्तिकै आवश्यकता पर्छ । रोग संक्रमण हुन नदिने गरी यस्ता सामग्री पाउने व्यवस्था सरकारले गर्नुपर्छ । सामान किन्न जाँदा हुन सक्ने सम्भावित भिडलाई लक्षित गरी अनलाइन सपिङ र तालिकाबद्ध रूपमा सामानहरूको बेचबिखनको व्यवस्था सरकारले गर्नुपर्छ । 

१४. दुरुपयोगतर्फ सजगता
विश्वदेखि आफ्नो देशमा समेत कोरोनाले गर्दा संकट उत्पन्न भइरहँदा केही व्यापारीहरू अमानवीय हर्कत देखाउन उद्यत छन् । अप्ठ्यारोकाे फाइदा उठाउँदै कालोबजारी गर्ने, मूल्यवृद्धि गर्ने व्यापारीहरूबाट सरकार सचेत हुनुपर्छ । यस्तो कठिन अवस्थामा पनि दुरुपयोग गर्नेलाई सरकारले पहिचान गरी त्यस्तो नगर्न रोक्नुपर्छ । कसैले निरन्तर यस्ता काम गरे कारबाही गर्नुपर्छ । 

(कांग्रेस केन्द्रीय सदस्य एवं सांसद डा. संग्रौलासँग रमेश सापकोटाले गरेको कुराकानी)