१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अबिन ओझा
२०७६ चैत १६ आइतबार ११:००:००
Read Time : > 5 मिनेट
दृष्टिकोण

भूकम्पले जुटाएको कथा र कोरोनाले एक्ल्याएको व्यथा 

Read Time : > 5 मिनेट
अबिन ओझा
२०७६ चैत १६ आइतबार ११:००:००

भूकम्पपछि समूहमा बस्दा सुरक्षित महसुस गर्ने समाजमा कोभिड–१९ ले भने सामाजिक दूरी बढाएको छ, मानिसलाई एक्ल्याएको छ

 प्रसंग

०७२ को महाविनाशकारी भूकम्पको त्रासको स्मृति हाम्रो मानसपटलबाट हट्न नभ्याउँदै अहिले कोरोना भाइरस अर्थात् कोभिड–१९ ले विश्वलाई नै त्रसित बनाएको छ । यो आलेख तयार पार्दासम्म झन्डै चार लाख ३६ हजार संक्रमित भइसकेका छन् भने झन्डै २० हजारको ज्यान गइसकेको छ । धनको क्षतिको कुरा गर्ने हो भने त झनै विकराल अवस्था देखिएको छ । विश्व अर्थतन्त्र नै डगमगाउने संघारमा रहेको छ । यस आलेखमा भूकम्प र कोभिड–१९ का कारण भएको जनधनको क्षति वा यस्ता प्रकोपबाट बच्ने उपायबारे विश्लेषण गर्न खोजिएको छैन । यस आलेखमा यी दुई विपत्तिका कारण मानिसमा आएको मनोवैज्ञानिक विचलन र सामाजिक सम्बन्धको समाजशास्त्रीय दृष्टिबाट चर्चा मात्र गर्न खोजिएको छ । 

भूकम्पले ‘जुटाएको’ कथा 

१२ वैशाख ०७२ को शनिबार सायदै अहिलेको पुस्ताका नेपालीले बिर्सनेछन् । शनिबारको मध्यदिनमा गएको भूकम्पले नेपाल र नेपालीको भविष्य कम्तीमा एक दशक पछाडि धकेलिदिएको छ । हजारौँ परिवारले आफन्त गुमाए, हजारौँ अंगभंग भए, कैयौँले आफ्नो वासस्थान गुमाए । दैनिकजसो गइरहने परकम्पका कारण मानिस घरमा भन्दा बाहिर खुला मञ्च या चौरमा बस्न चाहन्थे । एक्लैभन्दा समूहमा बस्दा सुरक्षित महसुस गर्थे । 

घर भन्नेबित्तिकै दिनभरको थकान, अनेकन तनाव, र विभिन्न घबराहटबाट शान्त महसुस गर्ने ठाउँ हो । जहाँ अपनत्व हुन्छ, त्यहीँ मानिस आफूलाई सबैभन्दा सुरक्षित ठान्छ । तर, भूकम्पले यो सबै सोच र व्यवहारमा परिवर्तन ल्याइदियो । यद्यपि, त्यो केही दिन या महिनालाई मात्र थियो होला । त्यस समयमा मानिस दिन त जसोतसो खुला स्थान, पार्क या चौरतिर गएर बस्ने गर्थे । तर, जब सूर्य ढल्कँदै जान्छ, अँध्यारो छिप्पिँदै जान्थ्यो, सबै जीव, पशुपन्छी आफ्नो वासस्थानतर्फ लाग्थे । मानिसमा भने घर जाने भन्नेबित्तिकै एक किसिमको पीडा एवं त्रास बढ्थ्यो । राति कतै फेरि परकम्प गएर विनाश हुने त होइन भन्ने मनोवैज्ञानिक भय सबैमा थियो । 

त्यो वेला कैयौँ रात मानिसले महललाई खाली राखेर खुला चौर या चौराहामा पालमुनि रात बिताउनु सुरक्षित ठाने । आफन्त, साथीभाइ र छरछिमेकी निकट हुँदा आफूलाई सुरक्षित महसुस गरेर पीडित नेपाली खुसी हुन्थे । परदेशमा बसेका आफन्त र साथीभाइ घर फर्कंदा सबैले आफूलाई सुरक्षित र बलियो महसुस गर्थे । प्रसिद्ध समाजशास्त्री म्याक्स वेबरले भनेझैँ सामाजिक सम्बद्धता या सामाजिक मजबुती नै बलियो समाज तथा सामाजिक जीवनको आधार हो भन्ने तथ्य भूकम्पको पीडामा स्पष्ट देखिएको थियो । 

भूकम्पपछि आफन्त, साथीभाइ र छरछिमेकी निकट हुँदा आफूलाई सुरक्षित महसुस गरेर पीडित नेपाली खुसी हुन्थे । परदेशमा बसेका आफन्त र साथीभाइ घर फर्कंदा सबैले आफूलाई सुरक्षित र बलियो महसुस गर्थे ।

कोभिड–१९ एक्ल्याएको व्यथा 

नोभेम्बर २०१९ को अन्त्यतिर चीनको वुहानबाट जैविक कीटाणु (कोरोना भाइरस) को उद्गम भएको मानिन्छ । सुरुमा यो चीनको मात्र समस्या हो भन्ने विश्व समुदायको बुझाइ रह्यो । चीनले यति दिनमा अस्पताल बनायो रे, उति जनसंख्या यो जीवाणुको संक्रमणमा आए रे भन्ने समाचारमै विश्व रुमल्लियो । विश्वका अतिविकसित मानिएका राष्ट्रले त यो जीवाणुको संक्रमणलाई बहसको विषयसम्म बनाएनन् । रोकथाम र उपचारबारे चिन्तन त परको विषय, पूर्वसावधानीका उपायलाई प्राथमिकतामा समेत राखेनन् । अमेरिकी राष्ट्रपतिदेखि नेपाली मन्त्रीहरूले सम्म हाम्रो शरीरको प्रतिरक्षा प्रणाली मजबुत भएकाले कोरोना भाइरस हामीसम्म आउने सार्मथ्य नै राख्दैन भन्नसम्म पछि परेनन् । तर, यो जीवाणु यति निर्दयी भएर विश्वभर फैलियो कि यसले आज विश्व प्रणालीलाई परिवर्तन गरिदिनेसम्मको चुनौती दिइरहेको छ । अमेरिका, युरोप, एसियाका शक्तिशाली राष्ट्रहरूको अस्तित्वलाई नै चुनौती दिँदै छ, कोभिड–१९ ।

यो जीवाणु निकै नै संक्रामक देखिएको छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा तीव्र ज्यामितीय दरमा सर्ने गुण नै यो जीवाणुको सबैभन्दा ठूलो जटिलता हो । उपचारका लागि औषधि तथा खोपको विकास नभएको वर्तमान परिस्थितिमा कोभिड–१९ को नियन्त्रणको उपाय भनेको ‘सेल्फ आइसोलेसन’ हो भनिन्छ । कैयौँ देशले ‘सेल्टर इन प्लेस’ या ‘लकडाउन’लगायत विभिन्न नाम दिँदै देशव्यापी रूपमा मानिसलाई अत्यावश्यकबाहेकका अन्य व्यवसाय सञ्चालनमा रोक लगाउँदै, मानिसको आवतजावतमा समेत बन्देज गरेको स्थिति छ । 

मानिसलाई आफ्नै घरमा बस्न निर्देशन दिइएको छ । आज मान्छेले मान्छेलाई देख्दा मात्रै पनि आफू असुरक्षित महसुस गर्ने अवस्था सिर्जना भएको छ । साथीभाइ तथा इष्टमित्रसँगको भेटघाट पनि अप्रिय भएको छ । सामाजिक भेटघाट एवं सामूहिक कार्यहरू त्रासदीपूर्ण बनेको छ । परदेशमा बसेका या रोजगारीका सिलसिलामा बिदेसिएका आफ्नै नागरिकले आफ्नो देश फर्कनसमेत नपाउने गरी सरकारले निषेध गरेको छ । आफ्नो सावधानीको उपाय खोज्नु र आफूलाई सुरक्षित राख्ने विकल्प रोज्नु सबैको नैसर्गिक अधिकार हो । तर, यस्ता सावधानी अपनाउँदा, सामाजिक जीवनमा पर्न सक्ने दीर्घकालीन असरबारे पनि सचेत हुनु जरुरी छ । 

भूकम्पले बढाएको निकटता र कोभिड–१९ ले बढाएको सामाजिक दूरी 

भूकम्प र कोभिड–१९ को सन्दर्भ नियाल्दा सामाजिक निकटता र दूरीबारे देखिएका केही दृष्टान्तको विश्लेषण गरौँ । भूकम्पका समयमा हजारौँ मानिसले एकताबद्ध भई महिनौँसम्म खेलमैदान, खुला चौर, पार्क, टेन्ट या सामूहिक रूपमा खुला आकाशमुनि रात बिताए । त्यतिखेर परिवारजन, आफन्त तथा साथीभाइ सबै एकै ठाउँमा भेला हुनु, बस्नुलाई सबैभन्दा ठूलो शक्तिका रूपमा लिइन्थ्यो । यसरी समूहमा बस्दा सबैले सुरक्षित महसुस गर्थे । मानिसमा सामाजिक सम्बद्धता बढेको थियो । जात, धर्म र धनका आधारमा विभेद केही हदसम्म कम भएको थियो । 

तर, कोभिड–१९ ले भने सामाजिक दूरी बढाएको छ । खेलमैदान, पार्कलगायत सामाजिक स्थलमा मानिसको आवतजावत करिब–करिब ठप्प छ । सडकपेटीतर्फ हिँडिरहेको अवस्थामा एक मानिस अर्काेसँग डराएको छ । तर्केर हिँडिरहेको छ । यस सन्दर्भमा न्युयोर्क सहरमा यस पंक्तिकारले देखेका केही सन्दर्भलाई यहाँ प्रस्तुत गरिएको छ : 

कोरोनाका कारण मान्छेले मान्छेलाई देख्दा पनि असुरक्षित महसुस गर्ने अवस्था सिर्जना भएको छ । साथीभाइ तथा इष्टमित्रसँगको भेटघाट पनि अप्रिय भएको छ । सामाजिक भेटघाट एवं सामूहिक कार्य त्रासदीपूर्ण बनेका छन् ।

दृश्य नं. १ : ज्याक्सन हाइट्सबाट जमैका सेन्टरका लागि छुटेको ई–ट्रेनको दृष्टान्त । ट्रेनमा सवार एकजना अफ्रो–अमेरिकी महिला मौसमी फ्लुका कारण रुघाले ग्रस्त देखिन्थिन् । उनी हाछ्युँ गर्दै, खोक्दै नाकको विकार पुछ्दै थिइन् । उनको त्यस्तो हर्कत देख्दा ट्रेनको सो डिब्बामा रहेका प्रायः सबै यात्रु एकाएक त्रसित भए । कोही उनलाई गाली गर्न थाले । अर्को स्टप आउनासाथ प्रायः सबै यात्रु अर्को डिब्बामा सरे । 

दृश्य नं. २ : जमैका सेन्टरबाट वल्र्ड टे«ड सेन्टरका लागि छुटेको ई–ट्रेनको अर्को दृश्य । योर्क कलेजकी एक छात्रा मास्क लगाएर ट्रेनमा बसेकी थिइन् । उनी बसेको सिटमा उनीबाहेक अन्य पाँचजना यात्रु बस्न मिल्ने ठाउँ थियो । तर, त्यहाँ कोही पनि बस्न तयार भएनन् । त्यसो त उनी बसेको सिटको ठीक अगाडि रहेको ६ यात्रु क्षमताकै सिट पनि पूर्ण रूपमा खाली थियो । यत्तिकैमा एक वृद्ध महिला आइन् र ती छात्रालाई प्रश्न गरिन्– के तिमीलाई सबै ठीक छ ? छात्राले प्रश्नको प्रसंग बुझिन् र उत्तर दिइन्– हो, मलाई सबै ठीक छ, यो मास्क त सुरक्षा सतर्कताका लागि मात्र हो । तब मात्र ती वृद्धा उनको ठीक अगाडिको सिटमा बसिन् । त्यसपछि ती विद्यार्थीले मास्क निकालिन् । अर्को स्टपमा सबै सिट भरिए ।

दृश्य नं. ३ : वुडसाइडस्थित आफ्नो डेराबाहिरबाट सडकपेटीतर्फ पंक्तिकारले नियाल्दै गर्दा, साइड वाकमा हिँड्ने मान्छेहरू एकले अर्कालाई छल्दै र दूरी मेन्टेन गर्दै हिँडेको दृश्य देखियो । हिजोसम्म ठेलमठेल गर्दै हिँड्ने जमात आज आफैँ सजग भएको छ, सतर्क बनेको छ । एकले अर्कालाई छल्दै हिँडेको छ । सामान्य दैनिकीमा यस्तो अवस्था या त जातीय घृणाका कारण देखिन्थ्यो, या त कोहीले कसैसँग असुरक्षित महसुस गरेको अवस्थामा । ग्रोसरी पसल होस् या सार्वजानिक यतायात, जताततै एक मानिस अर्को समकक्षीसँग त्रसित भएको छ । सामाजिक जीवन निकै फरक भएको छ, कष्टकर भएको छ । प्रत्येकले हरेक अर्कोलाई प्राणघातक सम्झेको छ । परिणामतः कोरोनाका कारण आज हाम्रो सामाजिक पद्धति नै फेरिएको छ । 

अन्त्यमा, 
यी त भए केही प्रतिनिधि उदाहरण मात्र । कोभिड–१९ को त्रासले केवल सामाजिक दूरी तथा असम्बद्धता मात्र बढाएको छैन, यसले सबैमा मनोवैज्ञानिक त्रास पनि फैलाएको छ । धेरै अवस्थामा घृणा अपराध या सामाजिक घृणा पनि निम्त्याएको छ । सिद्धान्ततः सामाजिक सम्बद्धताले सामाजिक सम्मानको प्रवद्र्धन गर्छ भने सामाजिक दूरीले सामाजिक घृणाको । हुन त, यस्ता भैपरी आउने या प्राकृतिक प्रकोपको प्रभाव केही समय रहने हुनाले समाजमा सामाजिक असर क्षणिक रहने भए पनि यस्ता प्रकोपले निम्त्याउने सामाजिक घृणा या अपराधको असर भने दीर्घकालीन हुन पनि सक्छन् । यसबाट भने सबै सचेत हुनु जरुरी छ । समाजशास्त्री वेबरले भनेझैँ सधैँ बलियो सामाजिक सम्बद्धता मजबुत समाजको आधार नहुन पनि सक्छ । विषम परिस्थितिमा फरक सामाजिक व्यवहार अपनाउनु र सामाजिक दूरी बढाउनु पनि मजबुत समाजको बलियो आधार हो । 

(लेखक न्युयोर्कस्थित योर्क कलेज, क्युनीका प्राध्यापक हुन्)