मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका धनगढी
२०७६ चैत १६ आइतबार ०६:५४:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

सेती प्रादेशिक अस्पतालमा उपचाररत संक्रमितको गुनासो– स्वास्थ्यकर्मी  मेरो कोठामै छिर्दैनन्, उपचार गर्न नसक्ने भए काठमाडौं पठाइदिनू

डाक्टर भन्छन्– हामीसँग व्यक्तिगत सुरक्षा सामग्री छैन, यो अवस्थामा समस्या हुनु स्वभाविक हो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका धनगढी
२०७६ चैत १६ आइतबार ०६:५४:००

धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित युवाले उचित उपचार नपाएको गुनासो गरेका छन् । भर्ना भएदेखि चार दिनसम्म चेकजाँच त परको कुरा कोठामा स्वास्थ्यकर्मी समेत नछिरेको बताए । 

‘चार दिनसम्म मेरो कोठामा एउटै स्वास्थ्यकर्मी आएनन् । गुनासो बाहिर मिडियामा सार्वजनिक गरेपछि शनिबार दिउँसो चारजना झुल्किएका थिए, तर चेकजाँच गरेनन्,’ उनले नयाँ पत्रिकासँग भने, ‘भर्ना भएको दिन लेखिदिएको औषधि सकियो । कोठामा अक्सिजन पनि छैन । यहाँ उपचार हुँदैन भने मलाई काठमाडौं पठाउनुपर्‍यो ।’

११ चैतमा भर्ना भएका उनलाई कोरोना पुष्टि भएको रिपोर्ट शुक्रबार आएको थियो । त्यसपछि उनलाई पुरानो कोठाबाट शवघरनजिकको कोठामा सारिएको थियो । तर, त्यतिबेलासम्म पनि आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी नगराएको उनले बताए । ‘कोरोनाको बिरामी भेटिएको भन्ने खबर सञ्चार माध्यमबाट थाहा पाएपछि डाक्टरलाई फोन गरेर सोधेँ । त्यसपछि मात्रै जानकारी पाएँ,’ उनले भने । 

शनिबार उनले गुनासो सार्वजनिक गरेपछि दिउँसो प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. हेमराज पाण्डेयसहितको टोलीले भेटेको छ । तर, कुनै चेकजाँच नगरी केहीबेर कुरामात्रै गरेर गएको बिरामीको गुनासो छ । आफन्तले पनि स्वास्थ्यकर्मी बिरामीसँग तर्सिएर भाग्ने गरेको बताए । 

अस्पतालका डाक्टर जगदीशप्रसाद जोशीले बिरामी जाँच्दा स्वास्थ्यकर्मीले लगाउनुपर्ने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) नहुँदा समस्या भएको बताए । ‘व्यक्तिगत सुरक्षा नहुँदा स्वभाविक रुपमा केही समस्या हुन्छ । अहिले सुनिएका कुरा त्यसैसँग जोडिएका छन्,’ जोशीले भने । तर, बिरामीले उपचार नै नपाएको भन्ने चाहिँ गलत भएको उनको दाबी छ । मेडिकल सुपरिटेण्डेण्ट पाण्डेयले चिकित्सकको निगरानीमा संक्रमितको उपचार भइरहेको र अवस्था सामान्य रहेको बताए । 

धनगढीका संक्रमित ७ चैतमा दुबईबाट दिल्ली हुँदै काठमाडौं आएका थिए । विमानस्थलमा मामाको छोरोले रिसिभ गरेका उनी त्यस दिन काठमाडौंस्थित मामाकै घरमा बसेका थिए । भोलिपल्ट बुद्ध एअरको विमानमा नेपालगञ्ज पुगेको उनले बताए । नेपालगञ्ज विमानस्थलबाट कोहलपुरसम्म रिक्सा र कोहलपुरबाट अत्तरियासम्म हायसमा यात्रा गरेको बताए । अत्तरियाबाट धनगढी बजारसम्म विंगर प्रयोग गरेका उनले त्यहाँबाट घरसम्म पुग्न अटो रिक्सा प्रयोग गरेको बताए । घरपरिवारबाहेक अरुसँग आफ्नो भेटघाट नभएको उनको भनाई छ । 

९ गते बेलुकी ज्वरो आएजस्तो भएपनि केही समयमै ठिक भएको उनको भनाई छ । अर्को दिन समान्य रुघा लागेको पनि बताए । ‘१० चैतमा पनि रुघाखोकी लागिरहेपछि श्रीमतीले अस्पताल जान भनिन् । अनि भोलिपल्ट एक नातेदार भाइसँग मोटरसाइकलमा सेती अस्पताल आएको हो,’ उनले भने । 

संक्रमितका परिवार अस्पताल ल्याउन पनि समस्या 

युवामा संक्रमण पुष्टि भएपछि प्रहरीले शुक्रबार राति नै परिवारका सदस्यलाई अस्पताल ल्याउन खोजेको थियो । तर, एम्बुलेन्स चालकले व्यक्तिगत सुरक्षा सामग्री नभएको भन्दै जान नमानेपछि रोकियो । 

संक्रमित परिवारका आठ सदस्य र उनलाई उपचारका लागि ल्याउने एक आफन्तलाई शनिबारमात्रै प्रहरीले अस्पताल ल्याएको छ । उनीहरूलाई पनि आइसोलेसनमा राखिएको छ । सबैको खकार परीक्षण हुनेछ । सेती प्रादेशिक अस्पतालमा अन्य १० शंकास्पदको परीक्षण रिपोर्ट आउन बाँकी रहेको डा. पाण्डेयले बताए ।