मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
बेंसीसहर नगरपालिका– २ भकुण्डेस्थित बालकल्याण माविमा निर्माण गरिएको क्वारेन्टाइनमा भारतीय नागरिक ।
२०७६ चैत १५ शनिबार २१:१३:००
Read Time : > 1 मिनेट
समाचार

विदेशबाट फर्केकाको तथ्यांक संकलन गर्दै लमजुङका स्थानीय तह

जिल्लाका सबै स्थानीय तहमा गरी सात सय ८५ बेडको क्वारेन्टाइन निर्माण

Read Time : > 1 मिनेट
२०७६ चैत १५ शनिबार २१:१३:००

लमजुङका स्थानीय तहले तेस्रो मुलुक तथा छिमेकी देश भारतबाट आएकाहरूको तथ्यांक संकलन थालेको छ ।

स्थानीय तहबाट खटिएका स्वयंसेवक एवं जनप्रतिनिधिले घरघरमा गएर विदेशबाट फर्केकाहरूको विवरण संकलन सुरु गरेका हुन् । लमजुङको बेंसीसहर नगरपालिकाले जनप्रतिनिधि नै खटाएर विदेशबाट फर्केकाहरूको विवरण संकलन गरिरहेको छ ।

उनीहरूको स्वास्थ्य अवस्थाबारे स्वास्थ्यकर्मीलाई उपलब्ध गराएर आइसोलेसन वा क्वारेन्टाइनमा राख्न पठाउने गरिएको बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताए । नगरप्रमुख अर्यालका अनुसार शनिबार मात्र आठजना भारतीय नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ ।

बेंसीसहर नगरपालिकाले कोरोना संक्रमणको सम्भावित बिरामी राख्न एक सय ६० बेड रहेको क्वारेन्टाइन निर्माण गरेको छ । यस्तै, मध्यनेपाल नगरपालिकामा १० जना क्वारेन्टाइनमा बसेका छन् । जसमा तीनजना भारतीय नागरिक रहेको मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले बताए । पाण्डेका अनुसार मध्यनेपाल नगरपालिकाले ४३ बेडको क्वारेन्टाइन निर्माण गरेको छ ।

यस्तै, राइनास नगरपालिकाले पनि विदेशबाट फर्केर आएकाहको तथ्यांक संकलन गर्ने र उनीहरूको निगरानी गर्ने काम सुरु गरेको नगरप्रमुख सिंहबहादुर थापाले बताए । उनका अनुसार राइनास नगरपालिकाले नगरमा १० बेडको क्वारेन्टाइन तयार गरेको छ ।

सुन्दरबजार नगरपालिकाले पनि विदेशबाट फर्केर आएका व्यक्तिको तथ्यांक संकलन गरेको नगरप्रमुख जनकराज मिश्रले बताए । मिश्रका अनुसार नगरपालिकामा एक सय ३४ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । क्होँलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले शनिबारसम्म चार सय ३७ बेडको क्वारेन्टाइन निर्माण गरेको र १३ जनालाई क्वारेन्टाइनमा राखिएको बताए ।

मस्र्याङ्दी गाउँपालिकामा एकजना क्वारेन्टाइनमा राखिएको छ । जिल्लाको दोर्दी गाउँपालिकामा पनि १० बेडको क्वारेन्टाइन निर्माण गरिएको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताए । जिल्लामा हालसम्म सात सय ८५ बेडको क्वारेन्टाइन निर्माण भइसकेको लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बताए ।

सहायक प्रजिअ शाहीले धादिङका कोरना भाइरस संक्रमित व्यक्तिसँगै विमानमा आएका लमजुङका ६ जनामध्ये पाँचजनाको पहिचान भइसकेको भन्दै एकजनालाई क्वारेन्टाइनमा राखिएको बताए । बाँकी चारजना भने सेल्फ होम क्वारेन्टाइनमा रहेको उनको भनाइ छ । उनीहरूमा कोरोनाको कुनै लक्षण नदेखिए पनि जोखिम न्यूनीकरणका लागि क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताए ।