१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १५ शनिबार ०६:२२:००
Read Time : < 1 मिनेट
अर्थ

चैतभर बिमाशुल्क संकलन कार्य स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १५ शनिबार ०६:२२:००

बिमा समितिले जीवन बिमा कम्पनीहरूलाई चैत मसान्तसम्म बिमाशुल्क संकलन कार्य स्थगन गर्न निर्देशन दिएको छ । समितिले बिहीबार एक परिपत्र जारी गरी संक्रमणको अवधि निश्चित नभएकाले चैत मसान्तसम्म बिमाशुल्क संकलनमा रोक लगाएको हो । चैत मसान्तपछि बिमाशुल्क बुझाउँदा ब्याज नलिनसमेत समितिले निर्देशन दिएको छ । त्यस्तै, समितिले विद्युतीय माध्यमबाट बिमितले बिमा पोलिसी नवीकरण गर्न चाहेमा सोको व्यवस्था गर्नसमेत निर्देशन दिएको छ । 

बिमा समितिले बिमा कम्पनीहरूलाई विद्युतीय माध्यमबाट नै दाबी भुक्तानी गर्न निर्देशन दिएको छ । समितिले परिपत्र जारी गर्दै जीवन बिमा कम्पनीहरूलाई परिपक्व भएको बिमा पोलिसीको हकमा विद्युतीय माध्यमबाट नै बिमितिको खातामा बिमा रकम भुक्तानी गर्न निर्देशन दिएको हो । 

त्यस्तै, समितिले अन्य जीवन बिमा दाबीको हकमा विद्युतीय माध्यमबाट नै दाबी गर्न सकिने व्यवस्था गरेको छ । यस्तो अवस्थामा यथेष्ट प्रमाण संकलन गरी विद्युतीय माध्यमबाट नै भुक्तानी गर्नसमेत निर्देशन दिएको छ । निर्जीवन बिमा कम्पनीले भने दाबी निवेदन विद्युतीय माध्यमबाट नै लिन सक्नेछन् । तर, अवस्था सामान्य भएपछि तुरुन्तै सर्भेयर खटाउनुपर्नेछ । 

बिमा सर्भेयर र बिमा अभिकर्ताले बिमा समितिको बैक खातामा नवीकरण रकम जम्मा गरी भौचर पेस गरेको अवस्थामा विलम्ब शुल्क नलाग्ने बिमा समितिले जनाएको छ । बिमा अभिकर्ताले बिमकमार्फत बिमा समितिको नबिल बैंकमा रहेको खाता नम्बर ०११००१३०११००१ मा नवीकरण शुल्क जम्मा गर्न सक्नेछन् । त्यस्तै, बिमा सर्भेयरसमेत चैत मसान्तसम्म समितिको उक्त खाता नम्बरमा रकम जम्मा गरेमा जरिवाना नलाग्ने समितिले स्पष्ट पारेको छ । 

बिमा समितिको निर्देशनअनुसार बिमा कम्पनीहरूले बिमितलाई बिमा सेवा उपलब्ध गराउन सम्पर्क व्यक्ति तोक्ने बिमक संघले जनाएको छ । बिमक संघको निर्णयअनुसार प्रत्येक कम्पनीले बिमा सेवाका लागि निश्चित व्यक्ति तोक्नेछन् । तोकिएको व्यक्तिमार्फत बिमितले बिमा सेवा प्राप्त गर्न सक्नेछन् ।