मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ माघ ८ मंगलबार ११:३८:००
Read Time : > 1 मिनेट
खेलकुद

लेगस्पिनर सन्दीप फर्किए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ८ मंगलबार ११:३८:००

युएईविरुद्धको एकदिवसीय तथा टी–२० क्रिकेट सिरिज खेल्न स्टार लेगस्पिनर सन्दीप लामिछाने सोमबार नेपाल फर्किएका छन् । सन्दीप नेपाली टोलीसँग आबद्ध हुन बंगलादेश प्रिमियर लिग (बिपिएल) बीचमै छाडेर आएका हुन् । सन्दीप बिपिएलमा सिल्हेट सिक्सर्समा आबद्ध छन् । सन्दीपले आफू राम्रो फर्ममा रहेका कारण युएईविरुद्धको सिरिजमा आशा गरेझँै प्रदर्शन हुने बताएका छन् । 

सिरिजका लागि योजना छैन
नेपाली टोली मंगलबारै युएई प्रस्थान गर्नेछ । सन्दीप क्याम्पमा नबसी सीधै टोलीमा आबद्ध भएका  खेलाडी हुन् । नेपाली क्रिकेट इतिहासकै दोस्रो एकदिवसीय सिरिजका लागि कुनै योजना नबनाएको सन्दीपले बताएका छन् । ‘युएईविरुद्ध केही योजना छैन,’ सोमबार त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सन्दीपले भने, ‘त्यहाँ म सामान्य रूपमा खेल्छु ।’ सन्दीपले दबाबरहित प्रतिस्पर्धा गर्दा नतिजा आउने बताएका छन् । ‘तपार्इं जति मैदानमा सहज रूपमा खेल्नुहुन्छ, त्यति नै नतिजा आउने गर्छ,’ उनले भने । 

उत्कृष्ट फर्म
लगातार अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइज क्रिकेटमा सहभागी भइरहेका सन्दीप स्वयं आफू फर्ममा रहेको जनाएका छन् । यो एक महिनाभित्र उनले अस्ट्रेलियाको चर्चित लिग बिग बास र बंगलादेशको बिपिएलमा खेल्न भ्याए । तर, दुवै प्रतियोगितामा उनले आफू आबद्ध क्लबबाट पूरै लिग खेलेका छैनन् । बिपिएलमा पहिले नै खेल्ने वाचा गरेका कारण उनी बिग बासबाट बंगलादेश पुगेका थिए । यता अन्तर्राष्ट्रिय नियमअनुसार राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्दा खेलाडीलाई रिलिज गर्नुपर्ने हुन्छ । त्यही नियमअनुसार सन्दीप बिपिएल छाडेर नेपाली टोलीमा आबद्ध भएका हुन् । लगातार अन्तर्राष्ट्रिय टी–२० खेलमा कसिलो बलिङ र विकेट लिएका कारण सन्दीपले आफूलाई उत्कृष्ट फर्ममा रहेको दाबी गरे । ‘अहिले म राम्रो फर्ममा छु,’ उनले भने, ‘पक्कै पनि यो फर्मका साथ युएई पुग्दा केही हुन्छ होला ।’

समग्रमा १२ विकेट
सन्दीपले बिपिएल र बिग बासमा गरी समग्रमा १२ विकेट लिएका छन् । रमाइलो पक्ष के रह्यो भने सन्दीपले दुवै लिगको डेब्युमा उत्कृष्ट प्रदर्शन गरी विकेट लिएका थिए । सन्दीपले आफू आबद्ध फ्रेन्चाइज क्लबबाट डेब्यु गर्दा विकेट लिने गरेका छन् । ग्लेन म्याक्सवेलको कप्तानीमा रहेको मेलबर्न स्टार्सबाट सन्दीपले ४ खेलमा ८ विकेट लिएका थिए । यता बिपिएलमा डेभिड वार्नर नेतृत्वको सिल्हेटबाट ६ खेल खेल्दा उनले ४ विकेट हात पारे । लगातार दुई खेलमा खर्चिलो भएपछि सन्दीप बिपिएलको एक खेलमा बेन्चमै बस्न बाध्य भए ।   

 व्यस्त तालिका
सन् २०१९ को सत्रमा सन्दीप निकै व्यस्त रहने पक्का छ । युएईविरुद्धको सिरिजपछि सन्दीप बंगलादेशमा जानेछन् । बिपिएलपछि उनी अस्ट्रेलियाका लागि निस्किनेछन् । बिपिएलबाट बिग बासमा आबद्ध हुँदा लगभग अन्तिम सत्र चलिरहनेछ । त्यसपछि उनी पाकिस्तान सुपर लिग तथा इन्डियन प्रिमियर लिगमा आबद्ध हुनेछन् ।