६ महिनाकी छोरीको हत्या गर्ने बाबु प्रहरी नियन्त्रणमा
आफ्नै छोरीको हत्या गरेको आरोप लागेका हुम्ला जिल्ला चंखेली गाउँपालिका– ३, कालम्बाडाका २९ वर्षीय दिनेश चौलागाईंलाई प्रहरी पक्राउ गरेको छ ।
दुई दिनअघि चौलागाईंले आफ्नी ६ महिनाकी छोरीको घरमै हत्या गरेको आरोप लागेको छ ।
प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले प्रहरीको नियन्त्रणमा रहेका चौलागाईंले छोरीको हत्या गरेको स्वीकार गरेको बताए ।
घटनास्थलबाट चौलागाईंलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेर जिल्ला सदरमुकाम ल्याएको र उनले हत्याको स्वीकार गरेको प्रहरीको भनाइ छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घरमा श्रीमान्–श्रीमतीबीच प्रायः झगडा भइरहने र श्रीमतीसँग झगडा भएको क्रममा आरोपी चौलागाईंले छोरीमाथि काठले प्रहार गरेको अनुमान गरिएको प्रहरीले जनाएको छ ।
बालिकाको शव जिल्ला अस्पतालमा शुक्रबार पोष्टमार्टम भएको छ ।