मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ चैत १२ बुधबार १४:५७:००
Read Time : > 1 मिनेट
अर्थ

प्रदेश मन्त्रीले गरे तरकारी तथा फलफूल बजार अनुगमन

Read Time : > 1 मिनेट
२०७६ चैत १२ बुधबार १४:५७:००

कोरोना संक्रमण नियन्त्रणका लागि देश नै लकडाउन गरिएका वेला तरकारी तथा फलफूल आपूर्तिको अवस्था बुझ्न गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्साल आफैँ अनुगमनमा निस्केका छन् । 

बुधबार बिहान उनी प्रदेश अनुगमन टोलीसहित पोखराको तरकारी तथा फलफूल उपज बजार रानीवन पुगेका हुन् । झन्डै डेढ घन्टा तरकारी बजारमा बिताएका उनले आपूर्ति व्यवस्थापनबारे चासो राखेका थिए । 

विषम परिस्थितिमा पनि तरकारी र फलफूलको आपूर्ति व्यवस्थापन राम्रो पाएको उनले अनुगमनपछि  प्रतिक्रिया दिए ।

तरकारी र फलफूलका विभिन्न स्टल अवलोकन गर्ने क्रममा व्यवसायीले आफूहरूले झेल्नुपरेका समस्याबारे मन्त्रीलाई जानकारी गराएका थिए ।

अनुगमनमा मन्त्रीसँगै कास्कीका सिडिओ ज्ञानबहादुर ढकाल, प्रदेश अनुगमन टोलीका संयोजक गोकुल शर्मा पौडेल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक दानबहादुर कार्की र उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालालगायत सहभागी थिए । 

तरकारी बजार खोल्ने समय थप दुई घन्टा बढाउन माग
तरकारी तथा फलफूल उपज बजार अनुगमन गर्न पुगेको टोलीलाई व्यवसायीहरूले बिहान तरकारी बजार खुल्ने समय केही बढाउन माग गरे । 

राति आउने फलफूल तथा तरकारी बिहान चार बजेदेखि झार्ने र ६ बजेसम्म जम्मा दुई घन्टासम्म मात्र खोल्दा समस्या भएको भन्दै उनीहरूले यसलाई बढाएर बिहान ८ बजेसम्म खोल्न दिन आग्रह गरे । 

व्यवसायी राजकुमार गुप्ताले बिहान चार बजे आउने सामान मिलाएर ६ बजेसम्म बेच्न नै नभ्याइने गुनासो पोखे । ‘रातिराति सामान आउँछ, ४ बजे खोलेर ६ बजेसम्म बेचिसक्नुपर्छ, भ्याइँदैन,’ उनले भने, ‘बजार पठाउन नपाएर फलफूल यहाँ कुहिने, तर बजारमा भने अभाव हुने अवस्था भयो ।’ 

व्यवसायीका गुनासो सुनेपछि सिडिओ ढकालले आपूर्ति व्यवस्थापनमा सहज बनाइने बताए । 

प्रदेश अनुगमन टोलीका संयोजक गोकुल शर्मा पौडेलले बजारको अवस्था सहज नै रहेको आफूहरूले पाएको बताए । 

उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले खुद्रा पसलेकोमा समस्या देखिएको प्रतिक्रिया दिए । ‘होलसेलमा समस्या छैन, खुद्रा र साना पसलेहरूले नै बढी मूल्य लिएर उपभोक्ता ठग्ने गरेको पाइयो,’ उनले भने ।