मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
राज सरगम काठमाडाैं
२०७६ चैत १२ बुधबार ११:५१:००
Read Time : > 1 मिनेट
सप्तरंग

सिनेमामा कोरोना प्रभाव समस्यामा चलचित्र प्राविधिक

Read Time : > 1 मिनेट
राज सरगम, काठमाडाैं
२०७६ चैत १२ बुधबार ११:५१:००

ए मेरो हजुर–४’को सुटिङमा व्यस्त थिए, ‘स्पट ब्वाई’ राजु फँुयाल । कोरोना भाइरसका कारण बाँकी सुटिङ पछाडि सारेर २१ दिनमै फर्कियो, सुटिङ युनिट । हाल फुर्सदमा रहेका उनी कोरोनाको त्रास कहिलेसम्म रहने हो भन्ने द्विविधामा छन् । ‘ड्रेसमेन’ कमल मिश्रको चिन्ता पनि उस्तै छ ।

दैनिक ज्यालादारीमा घरखर्च चलाउनुपर्ने बाध्यता, तर काम नहुँदा आइपर्ने आर्थिक समस्याले उनलाई पिरोलेको छ । ‘एउटा फिल्ममा अनुबन्ध भए एक महिना घरखर्च चल्छ,’ उनी भन्छन्, ‘कोरोनाका कारण काम रोकिइरह्यो भने त आर्थिक संकट स्वतः बढ्छ ।’ सुटिङ रोकिनुले दैनिक जीवनमा धेरै प्रभाव पार्ने मेकअप आर्टिस्ट सरोज पाण्डेय बताउँछन् । भन्छन्, ‘कोरोनाभन्दा आर्थिक संकटसँग जुध्न गाह्रो हुने चिन्ता छ ।’

दैनिक ज्यालादारीमा काम गर्ने चलचित्र प्राविधिकहरू कोरोनाको प्रभाव लामो समय रह्यो भने दैनिक जीवनयापनमै समस्या आउने चिन्तामा छन् ।

कअप आर्टिस्ट सञ्जु ढकाल भने सबै क्षेत्रलाई उस्तै असर गर्ने बताउँछिन् । भन्छिन्, ‘आत्तिएर केही हुँदैन ।’ लाइटमेन सन्तोष पराजुलीको समस्या उस्तै छ । खाली बस्दा दैनिक खर्च मात्र बढिरहने उनको बुझाइ छ । भन्छन्, ‘महिनौँ खाली बस्दा आर्थिक खर्च बढ्ने भएकाले थप तनावमा भइन्छ ।’ स्पट ब्वाई सन्तोष खड्का र बन्धु के कोरोनाले दैनिकी चलाउनै मुस्किल पर्ने चिन्तामा छन् ।

नेपाल चलचित्र प्राविधिक संघमा अहिले एक हजार तीन सय सदस्य छन् । म्युजिक भिडियो र ठूलो पर्दाको फिल्ममा सक्रिय प्राविधिकको रोजीरोटीमा कोरोनाको डरले ठूलो प्रभाव परेको छ । चलचित्र हलहरू बन्द भइसकेका छन् । चलचित्रका प्रदर्शन मिति पनि धकेलिएको छ । निर्माणाधीन अधिकांश सिनेमाको छायांकन स्थगित भएको छ । नेपाली सिने क्षेत्रमा दैनिक मजदुरी गर्ने प्राविधिकहरूको अवस्था नाजुक रहेको लाइटमेन महेन्द्र लामा बताउँछन् । भन्छन्, ‘यस्तो अप्ठ्यारो अवस्थामा प्राविधिक संघले केही गर्ला कि भन्ने आशा छ ।’

चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले कोरोना भाइरसका कारण बेरोजगार बनेका प्राविधिकलाई आइपर्ने अभाव न्यूनीकरणका लागि छलफल चलाइरहेका छन् । तत्काल आपतकालीन अवस्थामा सहयोग गर्न सकिनेगरी आर्थिक कोषको स्थापनामा जुटेका छन्, उनी । भन्छन्, ‘तत्कालीन अभावलाई न्यूनीकरण गर्न कोष स्थापना गर्दैछौँ । बुधबारसम्म कोषमा रकम जम्मा हुन थाल्नेछ ।’

निरन्तर छायांकनमा नजाँदा दैनिक उपभोग्य सामान व्यवस्थापनमा गाह्रो देख्छन्, अध्यक्ष लामा । प्राविधिकहरू बिमारी भएको खण्डमा संघले थोरै राहतको व्यवस्था गरेको छ । लामा भन्छन्, ‘यस्तो वेलामा थोरै सहयोग पर्याप्त हुँदैन । त्यसकारण हामी कोष स्थापनामा लागिपरेका छौँ ।’ 

निर्देशक हिमाल उप्रेती पनि कोरोनाको असर लामो समयसम्म रह्यो भने प्राविधिकहरूमा आइपर्ने समस्यालाई लिएर चिन्ता व्यक्त गर्छन् । भन्छन्, ‘उनीहरूले ज्यालादारीमा काम गर्ने भएकाले गाह्रो छ ।’