मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
पोखरामा निर्माणाधिन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल । तस्बिर : नयाँ पत्रिका
केदार दाहाल काठमाडौं
२०७६ चैत १२ बुधबार ११:२७:००
Read Time : > 2 मिनेट
अर्थ

भैरहवा र पोखरा  विमानस्थलको काम ठप्प

निर्माणको काम कम्तीमा ६ महिना ढिलो हुने

Read Time : > 2 मिनेट
केदार दाहाल, काठमाडौं
२०७६ चैत १२ बुधबार ११:२७:००

निर्माण सम्पन्नको अन्तिम चरणमा पुगेका मुलुकका प्रमुख दुई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल कोरोना संक्रमणको जोखिमले प्रभावित बनेका छन् । यही चैत मध्यसम्म निर्माण सम्पन्न गरी असारदेखि सञ्चालनको तयारीमा रहेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल मजदुर र निर्माण सामग्रीको अभावले प्रभावित देखिएको छ । त्यसैगरी, सन् २०२१ जुलाईभित्र निर्माण सक्ने लक्ष्य लिइएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि यस्तै समस्यामा परेको छ । 

चीनमा फैलिएको कोराना संक्रमणका कारण भैरहवा विमानस्थलका लागि आउनुपर्ने निर्माण सामग्री त्यही रोकिएका छन् । चीनबाट ल्याइएका केही मजदुरसमेत उतै रोकिएका छन् । पोखरामा काम गर्ने चिनियाँ मजदुरसमेत आउन सकेका छैनन् ।  

भैरहवा र पोखरा दुवै आयोजनामा मंगबारदेखि भने पूर्ण रूपमा काम ठप्प भएको छ । भैरहवामा धेरैजसो कामदार घर गएको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । ‘अहिले आयोजनामा २० देखि २५ जना चिनियाँ कामदार मात्रै छन्,’ अधिकारीले भने, ‘एक सयभन्दा बढी नेपाली कामदार सोमबार राति नै घरतर्फ लागेका छन् ।’ आयोजनामा २ सय २५ जना चिनियाँ र १ सय ५० भन्दा बढी नेपाली कामदार कार्यरत छन् । 

आयोजनामा २ दिन काम रोकिँदा १५ दिन धकेलिने अधिकारीको विश्लेषण छ । ‘यो अवस्था लम्बिँदै गए सबै लक्ष्यमा असर पर्नेछ,’ उनले भने । अधिकारीका अनुसार कामदारको भन्दा पनि बत्ती, कन्भेरबेल्टलगायत इलेक्ट्रिक सामानहरू ल्याउन पाइएको छैन । यसले काम अघि बढाउन मुस्किल भएको छ । 

भैरहवा विमानस्थलको म्याद बढेको बढ्यै

विमानस्थल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी चिनियाँ नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले पाएको छ । उक्त कम्पनीले सन् २०१४ मा निर्माणको ठेक्का पाएको हो । एसियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१६ देखि मात्र निर्माण सुरु गरिएको थियो । २०१८ सञ्चालनमा ल्याउने घोषणा गर्दै निर्माण सुरु गरिए पनि हालसम्म पनि सम्पन्न हुन सकेको छैन । यो आयोजना निर्माण कम्पनीकै कारण धेरै समय बिथोलिएको थियो । भूकम्पका कारण पनि आयोजना एक वर्ष धकेलियो । अहिले कोरोना त्रासका कारण कम्तीमा ६ महिना धकेलिने अधिकारीको भनाइ छ । 

सन् २०२० जनवरीसम्ममा सम्पन्न गर्ने लक्ष्यसहित गत जुनमा ६ महिनाको म्याद थपिएको थियो । तर, जनवरीमा फेरि तीन महिना म्याद थापियो । पछिल्लो अन्तिम म्याद चैत १५ सम्ममा सकिँदै छ । उक्त समयमा पनि निर्माण सम्पन्न नहुने निश्चित भएको छ । 

६० लाख यात्रु धान्न सक्ने गुरुयोजनामा निर्माण गरिएको विमानस्थलको धावनमार्ग ३ हजार मिटर लामो र ४५ मिटर चौडाइ छ । धावनमार्गको कालोपत्रेको काम सम्पन्न भइसकेको छ । टर्मिनल भवनसमेत निर्माणको अन्तिम चरणमा पुगेको छ । विद्युतीय जडान, रडार र प्रविधि जडानको काम भने अझै हुन सकेको छैन । 

गेट बन्द गरेर पोखरा विमानस्थलमा काम, तर सिमेन्टकै अभाव

पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पनि तोकिएको समयमा सम्पन्न नहुने देखिएको छ । चीनबाट आउनुपर्ने सिमेन्ट रोकिए पछि ढलान र अन्य काम नै रोकिएको आयोजना प्रमुख विनेश मुनकर्मीले बताए । ‘आयोजनामा अहिले पनि २ सय ७१ चिनियाँ काममा छन्,’ उनले भने, ‘तर सामग्री र इक्युपमेन्टको अभावले एकतिहाइले मात्रै काम पाएका छन् ।’ 

सोमबारदेखि आयोजनामा कसैलाई पनि भित्र जान दिएको छैन, भित्रै खाने–बस्नेलाई मात्रै काम लगाइएको र बाँकीलाई घर पठाइदिएको मुनकर्मीले जानकारी दिए । विमानस्थलका लागि सिमेन्ट, इलेक्ट्रिकल सामग्रीदेखि डेकोरेसनको सामानसमेत नेपाल ल्याउन नसक्दा काम रोकिएको मुनकर्मीको भनाइ छ । 

विमानस्थलको कुल लागत २१ करोड ७० लाख डलर (२१ अर्ब ४७ करोड रुपैयाँ) हो । चिनियाँ एक्जिम बैंकसँग ऋण लिएको उक्त रकमबाट चिनियाँ कम्पनीले २ हजार ५ सय मिटर लम्बाइ र ५० मिटर चौडाइको धावनमार्ग तथा टर्मिनल भवन निर्माण गर्ने सम्झौता भएको छ । सन् २०२१ को जुलाईमा सम्पन्न गर्ने लक्ष्य रहे पनि कोरोनाको असर लम्बिँदा समयमा सम्पन्न हुन कठिन हुने मुनकर्मी बताउँछन् ।