मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत १२ बुधबार ०८:४७:००
Read Time : > 3 मिनेट
मुख्य समाचार

‘लकडाउन’मा युवा सांसदका योजना

Read Time : > 3 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत १२ बुधबार ०८:४७:००

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट बच्न नेपाल यतिवेला साताव्यापी ‘लकडाउन’मा छ । यसको असर सबै क्षेत्रमा परेको छ र संघीय संसद्का दुवै सदन स्थगित छन् । स्थगित सदन र लकडाउन भएका वेला सांसदहरू के गर्दै छन्, किरण दहाल र शान्ति तामाङले केही सांसदसँग जान्न चाहेका छन् ।

प्रतिनिधिसभाका युवा सांसद

रामकुमारी झाँक्री, नेकपा

अहिले फुर्सदको समयमा दुईवटा काममा व्यस्त भएकी छु । एउटा, घर सरसफाइमा समय बितिरहेको छ । दोस्रो, संसद् र समितिका रिपोर्टलगायत अन्य चिजबिज अध्ययन गरिरहेकी छु । अहिले घरको गेटबाट पनि बाहिर निस्केकी छैन । बरन्डाबाट सडकतिर हेर्दा मानिसहरू हतार–हतार गर्दै हिँडिरहेको देख्छु । अहिले सबैले घरमै आराम गरेर बसे हुने । म त बरु सामाजिक सञ्जाल चलाएर बस्छु, तर घरबाट बाहिर निस्किने मनस्थितिमा छैन ।

प्रकाश रसाइली, कांग्रेस

अहिले विशेषगरी राजनीतिक किताब पढिरहेको छु । त्यस्तै, बजारमा आएका चर्चित किताबहरू पनि किनेर ल्याएको छु । कतै निस्किन नभएपछि अब पढेर बस्ने योजना बनाएको छु । त्यस्तै, सामाजिक सञ्जालमा पनि चेतनामूलक भिडियो क्लिपहरू बनाएर राखिरहेको छु । अहिले भेटघाट सबै बन्द छ । काम पर्‍यो भने फोनमार्फत नै कुरा गरिन्छ ।

विमला विक, नेकपा

अहिले त बर्दिया आएकी छु । सरकारले लकडाउन गरेपछि हिजोआज घरतिर आएर परिवारसँग बसेकी छु । सकेसम्म भेटघाट कम गरेकी छु । कामै प¥यो भने पनि फोनमार्फत गफ गरेकी छु । कहिलेकाहीँ गाउँतिर निस्किएर मान्छेहरूलाई कोरोनाबाट बच्ने उपाय सिकाउँछु । पटक–पटक हात धुन भनिरहेकी छु । भेला, भेटघाट नगर्न भनिरहेकी छु । मेरो गाउँ भारतको बोर्डरसँग जोडिएको छ । अझै पनि मानिसहरू पूर्ण रूपमा भारततिरबाट आउन रोकिएका छैनन्, त्यसैले डर छ । अहिले तत्काल काठमाडौं आउन सम्भव छैन र आउने मनस्थिति पनि बनाएकी छैन । बरु यहीँ पुस्तकहरू पढ्ने, अनलाइनमा पत्रपत्रिका पढ्ने गरिरहेकी छु ।

राजकिशोर यादव, राजपा

म काठमाडौंमै छु । सरकारले लकडाउन गरेपछि घरबाट कतै पनि निस्किएको छैन । नेताहरूलगायत कसैसँग पनि भेटघाट गरेको छैन । अहिले जतिसक्दो ‘डिस्ट्यान्स’ बसिरहेको छु । अब दैनिकी फेरिएको छ । भेटघाट गर्दा आफूलाई मात्रै होइन, अरूलाई पनि खतरा हुन्छ । त्यसैले कसैलाई नभेट्दा नै सबैका लागि फाइदा हुन्छ । अहिले मेरो मुख्य काम नै अध्ययन गर्ने भएको छ । अध्ययन गर्छु, चिन्तन गर्छु । पढेका विषयहरूमाथि सोच्छु । आफूलाई ‘अपग्रेड’ गर्नका लागि मुख्य त अध्ययन गर्नमै समय बिताइरहेको छु । लकडाउन भएपछि मात्रै होइन, कोरोनाको जोखिम देखिएपछि नै भेटघाटतिर कमै लागेको छु ।

प्रदीप यादव, समाजवादी पार्टी

अहिले पर्सामा छु । सरकारले लकडाउन गरेपछि रुटिन फेरेको छु । अहिले विशेषगरी लेख्ने, पढ्ने काम भइरहेको छ । घरमा छोराछोरीसँग बसेर लुँडो खेलिरहेको छु । किनकि घरबाट निस्किन भएन । कम्प्युटरमा रमाइला–रमाइला गेम खेलेर बस्छु । अघि–पछि खेल्ने फुर्सद पनि हुँदैन । लकडाउन हुनुअघि मेरो अर्कै रुटिन थियो । टेम्पोमा माइकिङ गर्दै कोरोनाबाट जोगिन अपनाउनुपर्ने सावधानीबारे जानकारी दिन्थेँ । स्थानीय रेडियो, टेलिभिजनमार्फत अन्तर्वार्ता दिएर सजग गराएँ । कोरोनाको त्रास बढ्नेबित्तिकै जिल्लातिर आएर मानिसहरूलाई मास्क, स्यानिटाइजरहरू बाँडेँ । तर, मानिसहरू हिँडिरहेका छन्, खेलिरहेका छन्, भेला भइरहेका छन् । यसलाई रोक्नुपर्छ भनेर मैले यहाँको सुरक्षा निकायसँग पनि कुरा गरिरहेको छु । सर्वसाधारणले बुझ्ने भाषामा अहिले ऋण लागे पनि घरभित्रै बस्नुस्, काममा नजानुस् भनेर सम्झाएको छु । दुई हप्ताभन्दा बढी समयदेखि मेरो काम नै यही भएको थियो । अहिले सरकारले लकडाउन गरेपछि आफैँलाई पनि सुरक्षित राख्न घरबाट निस्किएको छैन ।

राष्ट्रिय सभाका युवा सांसद

कोमल वली, नेकपा 

घरभित्र सेल्फ क्वारेन्टाइनमा बसिरहेकी छु । अस्तिसम्म कोरोना भाइरसको सचेतना जगाउने खालको गीतमा सानो एउटा लिफ्टिङ गरेकी थिएँ । कोही मानिसलाई घरभित्र पस्न पनि दिएका छैनौँ । कोही आफन्त पनि आउनुभएको छैन । हामी पनि गएका छैनौँ । फेसबुक, ट्विटर र फोनमार्फत जनचेतना जगाउने काम गरिरहेकी छु । परीक्षण गर्ने किट काठमाडौंमा मात्र सीमित छ भन्ने हो होइन । बाहिरबाट पनि परीक्षण गर्नपर्छ भनिरहेकी छु । केही नेपाली भारतबाट आएर गड्डाचौकीमा केटाकेटीसँग बसिरहेको भन्ने खबर आएको छ । स्वास्थ्यमन्त्रीसँग उनीहरूलाई भारतमा भनेर केही व्यवस्था गर्न सकिन्छ कि भनेर कुरा गरेँ । उद्योगमन्त्रीसँग पनि कुरा गरेँ । खाद्यवस्तु, अत्यावश्यक वस्तु कतिवेला किन्न पाइन्छ भनेर सूचना दिनुपर्छ भनेर भर्खर कुरा गरेँ । केही बिरामी भएका आफन्तलाई नआत्तिनु, एक दिन भइहाल्यो, यसरी नै दिन बितिहाल्छ भनेर सान्त्वना दिने काम गरिरहेकी छु । उहाँहरू अस्पताल जान पाइँदैन कि, औषधि हुँदैन कि भनेर आत्तिनुभएको छ ।

प्रकाश पन्थ, कांग्रेस

सदन स्थगित हुनेबित्तिकै गृहजिल्ला तनहुँ आएँ । अहिले घरमै बसेर अध्ययन गरिरहेको छु । पार्टीका मानिसहरूसँग फोनबाटै कुराकानी गरिरहेको छु । यस्तो वेला सतर्कता अपनाउने नै हो । तर, फोनबाट अपडेट भने भइरहेको छु । स्थानीय संयन्त्रलाई कसरी हुन्छ, सघाइरहेको छु । यो एक हप्ता नयाँ किताब पढेर बस्ने सोच छ । 

भगवती न्यौपाने, नेकपा

अध्ययन गरेर बसिरहेकी छु । जिल्लावासीसँग सम्पर्क पनि भइरहेको छ । जिल्लाको अवस्था के छ भनेर बुझ्ने काम गरिरहेकी छु । अरू साथीहरूसँग सामाजिक सञ्जालमार्फत कुरा गर्ने, सचेतना फैलाउने काम गरिरहेकी छु । तनहुँमा दाइ–भाउजू हुनुहुन्छ । म यहाँ भाइबहिनीसँग छु । तनहँुमा पनि कुरा भइरहेको छ । सरकारको निर्देशन पालना गर्ने, सरसफाइ तथा खानपिनमा ध्यान दिने र एक–आपसमा सेयर गर्ने काम भइरहेको छ । यतिवेला घरबाट बाहिर निस्केकी छैन । एक–आपसमा फोन, मेसेन्जरमार्फत कुरा गर्ने गरिरहेका छौँ । सामाजिक सञ्जालमा सचेत गराउने काम भइरहेको छ ।

राधेश्याम पासवान, राजपा

सदन स्थगित हुनेबित्तिकै काठमाडौंबाट सर्लाही फर्केँ । स्थानीय जनप्रतिनिधिसँग मिलेर काम गरिरहेको छु । सचेतनाका काम गर्न, ठाउँठाउँमा साबुनपानीको व्यवस्था गर्न, स्यानिटाइजर राख्न लगाएँ । बजार बन्द गर्न लगायौँ । म आफैँले पनि बाहिर हिँड्दा मास्क लगाउने गरेको छु । बाहिर गएर आएपछि साबुनपानीले हात धुन्छु । स्यानिटाइजर लगाउँछु । टाढा भएर कुराकानी गरिरहेका छौँ । दिनमा दुई–तीनपटक बाहिर गइरहेको छु । भेटघाट गरिरहेको छु । वृद्धवृद्धालाई सम्झाउने काम गरिरहेको छु । साबुन पानी र डिटोलले हात धुनु भनिरहेको छु । 

डा. विमला राई पौड्याल, नेकपा

लकडाउनको अवस्थामा धैर्यपूर्वक सुरक्षित भएर बसेका छौँ । सबै सूचना भरपर्दा हुँदैनन् । त्यसैले सरकारले दिएको सूचनालाई अवलम्बन गर्ने, सरकारलाई सहयोग गर्नेबाहेक केही पनि नगर्ने हो । म घरमै बसिरहेकी छु । डब्लुएचओले भनेअनुसार हात धुने, सफा रहने, बुढाबुढीलाई घरबाहिर निस्किन नदिने, केटाकेटीलाई बाहिर जान नदिने, घरमै आफूलाई मन परेको काम गरेर बसिरहेका छौँ । यो हप्ताको अवस्थालाई हेर्ने हो । यो हप्तापछि नयाँ घटनाहरू देखिएनन् भने स्थिति नियन्त्रणमा छ भन्ने बुझ्न पर्छ । नयाँ केस आए भने कहाँ केस आए, त्यहाँ फोकस हुनुपर्छ ।