मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ चैत ११ मंगलबार १९:०२:००
Read Time : < 1 मिनेट
समाचार

दोर्दीखोला जलविद्युत आयोजनामा कार्यरत भारतीय कामदारलाई ज्वरो

Read Time : < 1 मिनेट
२०७६ चैत ११ मंगलबार १९:०२:००

लमजुङको दोर्दी खोलामा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत आयोजनामा कार्यरत एक भारतीय कामदारलाई ज्वरो आएपछि कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंका गरिएको छ ।

भारतमा होली मनाएर काममा फर्किएका बिहारको सिपोलका २४ वर्षीय ती युवकलाई कोरोना संक्रमण भएको आशंका गरिएको हो । मंगलबार जिल्ला सामुदायिक अस्पताल ल्याइएका उनलाई आइसोलेसनमा राखेर जाँच गर्दा ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउको दुख्ने, छातीमा संक्रमणजस्ता लक्षण देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

भारतस्थित घरबाट होली मनाएर फर्किएको एक सातापछि उनमा देखिएको लक्षण कोरोना संक्रमणसँग मिल्दोजुल्दो देखिएको उपचारमा संलग्न चिकित्सकलाई उधृत गर्दै अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए । आइसोलेसनमा राखेर उपचार गरिएका ती युवकमा ज्वरो भने कम हुँदै गएको पनि उनले बताए । ती युवकलाई कोरोना संक्रमण परीक्षणका लागि काठमाडौं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र रेफर गरिएको छ ।

युवक गत आइतबार एक्कासी ज्वरो आएपछि आयोजनास्थलमै सामान्य औषधि खाएर बसेका थिए । ज्वरो बढ्दै गएपछि मंगलबार बिहानै ती युवकलाई एम्बुलेन्समार्फत बेँसीसहरस्थित जिल्ला सामुदायिक अस्पताल ल्याइएको थियो ।

जलविद्युत आयोजनाका कार्यकारी निर्देशक गुरुप्रसाद ढकालका अनुसार युवक केही समयदेखि आयोजनामा कार्यरत छन् । आइतबार परेको पानीमा भिजेपछि उनलाई ज्वरो आएको र अस्पताल ल्याइएको पनि उनले बताए । ढकालका अनुसार ती युवकसँगै होली मनाएर आयोजनास्थल फर्किएका अन्य चार जनालाई क्वारेन्टाइनमा राखिएको छ ।