Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७५ माघ ८ मंगलबार ०८:००:००
Read Time : > 4 मिनेट
सप्तरंग

पहिला भाइरल पछि अवसर

Read Time : > 4 मिनेट
२०७५ माघ ८ मंगलबार ०८:००:००

पछिल्लो समय नयाँ लुकेका प्रतिभाले युटुब र सामाजिक सञ्जालमा उचित ठाउँ पाइरहेका छन् । सामाजिक सञ्जाल र युटुबले गर्दा नै धेरैको जीवनस्तर सुध्रिएको छ । धेरै देशविदेशमा चिनिएका छन् । गायन, अभिनय र जोडीसम्मका व्यक्तिहरु भाइरल भइरहेका बेला एकातिर उनीहरु अझ चिनिन खोज्दैछन्, अर्कोतर्फ भने काठमाडौंमा अग्रज संगीतकर्मीहरुले अवसर दिइरहेका छन् । त्यसो त पछिल्लो केही महीना यता हेर्ने हो भने संगीतकारहरुले भाइरल हुनेहरुलाई काठमाडौं ल्याएर गीत रेकर्ड गराउने ट्रेण्ड देखिएको छ ।

०००

झापाका अशोक दर्जी सडकमा गीत गाउँदै हिँड्थे । गरिब परिवारका अशोकलाई विद्यालय टाढा थियो । झापाका डिजे रूपकले आफ्नो फेसबुकबाट उनको गायन कलालाई लाइभ गरे । पछि पूर्वकै केही युट्युब च्यानलले उनले सडकमा गाएको गीतको भिडियो बनाएर सार्वजनिक गरे । त्यसको केही हप्तामा अशोक गीत रेकर्ड गराउन काठमाडौं आए ।

अशोकको कला युट्युबमा देखेपछि गायक तथा संगीतकार टंक बुढाथोकीले काठमाडौं ल्याएका थिए । टंक र अशोकको स्वरमा ‘धनविनाको मन ठूलो कि’ गीत रेकर्ड भयो । टंकले भिडियो पनि बनाए । सो गीत युट्युबमा भाइरल भयो । ट्रेन्डिङसमेत भयो । त्यसअघि टंक बुढाथोकी आफैँ पनि खासै चिनिएका थिएनन् । त्यही गीतले टंक र अशोक दुवैलाई चिनायो । अशोकलाई स्टेज सोका लागि देशका विभिन्न स्थानबाट मात्र नभई विदेशबाट समेत निमन्त्रणा आउन थाल्यो । अशोकलाई लिएर टंक पनि स्टेज सोका लागि धेरै देश पुगिसकेका छन् ।

नरेश र झक्कडको फरक शैली
सामाजिक सञ्जालमा हालिने भिडियो भाइरल हुँदा धेरैलाई अवसर पनि सिर्जना हुने गरेको छ । भिडियो हेरेपछि कतिपय संगीतकारले नयाँ गायकलाई काठमाडौं ल्याएरै गाउने अवसर दिइरहेका छन् । यसरी सामाजिक सञ्जालमा भाइरल भएका केही कलाकार स्थापित भइरहेका छन् । केही हराएका छन् । भाइरल भिडियोमार्फत कतिपय भने हाँसोको पात्र पनि भएका छन् ।

नेपाल आइडल–२ बाट नरेश पातली एकाएक चर्चामा आए । भलै उनी काठमाडौं अडिसनका लागि छानिन सकेनन् । तर, उनले गाएको गीतको भिडियो सामाजिक सञ्जालमा धेरैले सेयर गरे । केही युट्युब च्यानलले उनको अन्तर्वार्ता लिए । ती अन्तर्वार्ता युट्युबको ट्रेन्डिङमा परे । उनका गीत पनि चर्चित भए ।

त्यसो त पछिल्लो केही महीना यता हेर्ने हो भने संगीतकारहरुले भाइरल हुनेहरुलाई काठमाडौं ल्याएर गीत रेकर्ड गराउने ट्रेण्ड देखिएको छ ।

वास्तवमा नरेशको स्वर मीठो भएर चर्चा भएको होइन । उनले गीतको लय नै बिगारेर गाउँदा ‘हिट’ भएका थिए । राज सिग्देलको गीत ‘ऊ जितेर गई या हारेर गई...’ गाउँदा नरेशको हाउभाउ गज्जबको थियो । स्वर बेसुरा । कतिपयले उनको बेसुरा स्वर नै मन पराए । कतिपयले रमाइलो र हाँसोका लागि हेरे । तर, जसरी हेरे पनि भिडियो भाइरल भयो । उनी ‘हिट’ भए । त्यसपछि काठमाडौं आए । ‘आई ह्याभ अ गर्लफ्रेन्ड’ बोलको गीत पनि रेकर्ड गराए र म्युजिक भिडियोसमेत बनाए । उनले गाएको सो गीतले भने खासै चर्चा पाउन सकेन ।

नेपाल आइडल–२ का नरेशसँग नेपाल आइडलकै पहिलो सिजनका झक्कड थापालाई दाँजेर भिडियो बनाइए । त्यसपछि झक्कड पनि चर्चामा आए । पहिलो सिजनको अडिसन राउन्डमा गीत गाउँदा सामाजिक सञ्जालमा उनको सामान्य चर्चा मात्र भयो । उनले गाएको देउडा उस्तै बेसुरा थियो । नरेशसँग दाँजेर बनाएको भिडियो युट्युबमा भाइरल भएपछि भने झक्कडको पनि खोजी हुन थाल्यो ।

तर, अडिसन राउन्ड पार हुन नसकेपछि झक्कड मजदुरीका लागि भारत गएका थिए । सामाजिक सञ्जालमा चर्चा चुलिँदै जाँदा उनी स्वदेश फर्किए । केही युट्युब च्यानलहरूले उनको भिडियो अन्तर्वार्ता सार्वजनिक गरे । त्यसपछि संगीतकार वसन्त सापकोटाले उनलाई काठमाडौं झिकाएर ‘भेरी सेती’ बोलको गीत रेकर्ड गराए । केही दिनअगाडि अर्को एक म्युजिक भिडियोसमेत बनाएका छन् । त्यति मात्र नभई नरेश र झक्कडले हास्य टेलिफिल्ममा अभिनयको अवसर पनि पाएका छन् ।

युट्युबकी सेक्युरिटीवाली
त्यसो त पछिल्लो समय सुनील छिदाल र हेमा राई पनि युट्युबमा चर्चित छन् । उनीहरूका गीत भाइरल भइरहेका छन् । हेमा सेक्युरिटी गार्ड हुन् । उनी युट्युबमा ‘सेक्युरिटीवाली’का नामले चर्चित छिन् । उनको ‘मैना रानी’ गीत भाइरल भइरहेको छ । अहिलेसम्म झन्डै चार लाख ७० हजारपटक हेरिएको छ ।

हेमा राई सेक्युरिटी गार्ड हुन् । उनी युट्युबमा ‘सेक्युरिटीवाली’का नामले चर्चित छिन् । उनको ‘मैनारानी’ गीत भाइरल भइरहेको छ । अहिलेसम्म झन्डै चार लाख ७० हजारपटक हेरिएको छ ।

पोखराकी समीक्षा अधिकारी पनि केही हप्ताअगाडि एउटा युट्युब च्यानलको अन्तर्वार्तामा देखिइन् । त्यसपछि उनी युट्युबमा भाइरल भइन् । युट्युब च्यानलहरूमा लगातारजसो अन्तर्वार्ता हुन थाले । समीक्षाले यसअघि ‘नाइँ नभन्नु ल ४’को ‘बालापनको उमेर’ गीतमा पनि स्वर दिइसकेकी थिइन् । जुन गीत चर्चित भए पनि श्रोताले उनलाई ख्याल गरेकै थिएनन् । युट्युबमा अन्तर्वार्ता ‘हिट’ भएपछि उनले काठमाडौंमा नयाँ गीत रेकर्डको अवसर पाइन् ।

समीक्षालाई पनि संगीतकार वसन्त सापकोटाले नै अवसर दिएका थिए । उनले केही गीतमा स्वर दिइन् । आफैँले गाएको ‘वनमा काफल’ गीतमा समीक्षाले अभिनय पनि गरेकी छिन् । सो गीतको भिडियो संगीतकार सापकोटाले आफ्नो युट्युब च्यानलमा राखेका छन् । अहिलेसम्म सो भिडियो १० लाख ६५ हजारभन्दा बढीपटक हेरिसकिएको छ । 

 कोही जमे, कोही गुमनाम
अशोकलाई काठमाडौं ल्याएर गीत रेकर्ड गरेपछि अशोक र उनको परिवारको जीवन फेरियो । यता अशोकलाई अन्य गीत गाउन नदिएको, उनलाई आफैँसँग राखेकोलगायत विषयमा बुढाथोकीको चौतर्फी आलोचनासमेत भयो । तर, अशोक देश–विदेशमा आफ्नो प्रस्तुति दिन सक्ने भएका छन् ।

नरेश एउटा गीतपछि गुमनामजस्तै भएका छन् । झक्कडले संगीत क्षेत्रलाई निरन्तरता दिने सम्भावना निकै कम रहेको संगीतकार वसन्त सापकोटा बताउँछन् । संगीत क्षेत्रमा मात्र नभई अभिनय वा अन्य क्षेत्रमा समेत त्यस्तै छ । चुप्पी डन, बखत विष्ट, झक्कड थापा, नरेश पातलीलगायतले म्युजिक भिडियो र टेलिफिल्ममा समेत अभिनय गर्न भ्याए । तर, नियमित हुन सकेनन् । कतिपय क्षमताले भन्दा पनि रमाइलो र हाँसोका पात्र बनेर भाइरल भएकैले हराउँदै गए ।

पोखराकी समीक्षाले धमाधम गीत र म्युजिक भिडियो सार्वजनिक गरिरहँदा संगीतकार वसन्त सापकोटालाई अधिकांशले सकारात्मक प्रतिक्रिया दिएका छन् । तर, केहीले भने अशोक र टंकसँग तुलना गर्न थालेका छन् । समीक्षामाथि वसन्तले एकाधिकार जमाउने त हैनन् भन्ने प्रश्नसमेत आउन थालेको छ । उनी भने समीक्षाको क्षमता बाहिर ल्याउन आफूले पहिलादेखि नै योजना बनाएको बताउँछन् । आफूले समीक्षामाथि एकाधिकार नजमाउने तथा सिन्डिकेट पनि नलगाउने उनको भनाइ छ । 

‘समीक्षालाई मैले भाइरल भएपछि ल्याएको होइन, न त भाइरल हुन नै ल्याएको हैन,’ वसन्तले भने, ‘मैले उनलाई निकै अगाडिदेखि नोटिस गरेको थिएँ, अहिले समय मिल्यो, बीचमा उनको पढाइ पनि थियो ।’ एकपटक बिक्नेभन्दा पनि पछिसम्म टिकिरहने क्षमतावान् गायिकालाई आफूले बाहिर ल्याएको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा भाइरल हुन अचेल धेरै समय लाग्दैन । कतिपयले आफैँ गीत रेकर्ड गराउने, म्युजिक भिडियो बनाउने र आफ्नै युट्युबमार्फत सार्वजनिक गर्ने गरिरहेका छन् । कभर गीत गाउनेले पनि युट्युबमा राम्रो दर्शक पाउने गरेका छन् । कभर नृत्य, प्र्याङ्क, अन्तर्वार्ता, सर्ट मुभी आदि बनाएर आफ्नो युट्युबबाट सार्वजनिक गर्ने धेरै छन् ।

‘मागीखाने भाँडो बनाउनु हुँदैन’

शान्तिराम राई, प्राज्ञ तथा संगीतकार

लुकेका प्रतिभालाई उजागर गर्नु निकै राम्रो पक्ष हो । अवसरदिनेले यसलाई सामाजिकीकरण गर्दै व्यवसायिकीकरणतर्फ गर्दै लैजानुपर्छ । यसरी लुकेका प्रतिभा बाहिर आउँदा भाइरल भएकाहरुलाई गीत, म्युजिक भिडियोमा अवसर दिनुलाई सकारात्मक रुपमा लिनुपर्छ । आर्थिक अवस्था कमजोर भएका, जसले गीत गाउन र आफ्नो प्रतिभा उजागर गर्न सकिरहेका हुँदै, राष्ट्रिय स्तरसम्म आइपुगेका हुँदैनन्, उनीहरुलाई प्लेटफर्म दिनुपर्छ भन्ने मलाई लाग्छ । र पछिल्लो समय यस्तै भइरहेको छ । 

अझै धेरै त्यस्ता कला र क्षमता भएकाहरु छन्, जसलाई अवसर दिएर संगीतक्षेत्रमा लाग्ने बाटो देखाइदिनुपर्छ तर अवसर दिने नाममा भने मागी खाने भाँडो भने बनाउनु हुँदैन । यो राम्रो हैन । यसले संगीतक्षेत्रलाई विकृति तर्फ लैजान्छ । तर वीना स्वार्थ अवसर दिएर बाटो देखाउनु भने राम्रो कुरा हो । संगीतलाई व्यवसायिक बनाउनुपर्छ भन्ने हो । कतिपयलाई संगीतकार, अग्रज गायकहरुले अवसर दिएपनि स्वयम् उनीहरुको पारिवारिकलगायत अन्यकारणले निरन्तरता दिन नसक्ने हुन्छन् । जीवनभर संगीतकारले सँगै लैजाँदैन, स्वयम् पनि अगाडि बढ्न खोज्नुपर्छ । सामाज र संगीतमा भिज्नुपर्छ । देखाएको बाटोमा हिँड्न खोज्नुपर्छ ।