मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
कमल थापा
२०७६ चैत १० सोमबार ०९:०७:००
Read Time : > 6 मिनेट
दृष्टिकोण

राप्रपा एकता किन ?

राप्रपा एकीकरणमा कुनै देशी-विदेशी शक्तिको प्रत्यक्ष एवं परोक्ष भूमिका छैन

Read Time : > 6 मिनेट
कमल थापा
२०७६ चैत १० सोमबार ०९:०७:००

पटक–पटक फुटजुटको शृंखलाबाट गुज्रेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पुनः एकीकृत भएको छ । नेपालको राष्ट्रिय राजनीतिमा परम्परागत मूल्य–मान्यताको जगमा खडा भएको राप्रपाको एकीकरणपश्चात स्वभावतः सामान्य नै भए पनि केही तरंग देखा परेका छन् । एकताको पृष्ठभूमि तथा भविष्यको सम्भावनाबारे थुप्रै आशंका र आकलन देखिएका छन् ।

कतिपयले ‘पूर्वपञ्च’ र ‘राजावादी’को एकतामा पूर्वराजा ज्ञानेन्द्रको हात रहेको विश्वास गरेका छन् भने केहीले हिन्दूराष्ट्रको एजेन्डा बोक्ने दलको एकीकरणमा छिमेकी मित्रराष्ट्र भारतको सत्तारुढ दल भाजपाको प्रेरणा रहेको अनुमान गरेका छन् । यसैगरी विगतको पृष्ठभूमिलाई दृष्टिगत गर्दै राप्रपा एकता दिगो नरहने आशंकासमेत गरिएका छन् । पार्टीको वैचारिक चिन्तनबारे समेत अनेक प्रकारका टीकाटिप्पणी भएका छन् ।

पार्टी एकतामा विभिन्न शक्तिको भूमिका : राष्ट्रियता र प्रजातन्त्रका पक्षधर, हिन्दूराष्ट्रका हिमायती र राजसंस्थाप्रति आस्था राख्ने व्यक्ति, समूह र शक्तिले राप्रपा एकीकृत होस् भन्ने चाहना र सद्भाव राख्नु अस्वाभाविक होइन । तर, राप्रपा एकीकरणमा कुनै देशी–विदेशी शक्तिको प्रत्यक्ष एवं परोक्ष भूमिका छैन । वास्तवमा राप्रपाको एकता पार्टीलाई माया गर्ने कार्यकर्ता, सहयोगी र शुभचिन्तकको निरन्तरको दबाबको परिणाम हो ।

विगतमा राप्रपा एकीकृत भएर चुनावमा जाँदा सधैँ जनताबाट उत्साहवर्धक समर्थन प्राप्त गरेको छ । पटक–पटकको विभाजनले पार्टी, कार्यकर्ता र पार्टीले अवलम्बन गरेको विचारको भविष्यमाथि नै गम्भीर प्रश्न खडा भएको तथ्य सर्वविदित छ । यो तितो अनुभव बोकेका पार्टी कार्यकर्ताले कुनै पनि सर्तमा पार्टी एक होस् भन्ने चाहना राखेका थिए । पार्टी विभाजन कार्यकर्ताबाट भएको होइन । नेताहरूको संकीर्ण स्वार्थका कारणबाट भएको हुँदा, पार्टी एकता नभए पार्टी परित्याग गर्न बाध्य हुने धारणा आमकार्यकर्ता पंक्तिबाट आइरहेको थियो । वास्तवमा पार्टी विभाजनपछि धेरै कार्यकर्ता पलायनसमेत भएका छन् ।

अर्कातर्फ हिन्दूराष्ट्र र राजसंस्थासहितको लोकतन्त्रको एजेन्डा बोकेको एक मात्र दल राप्रपा गत संसदीय चुनावमा तीन प्रतिशत मत पनि प्राप्त गर्न नसकेर राष्ट्रिय पार्टी बन्नबाट वञ्चित रह्यो । सनातन धर्ममा विश्वास राख्ने ९४ प्रतिशत जनता भएको देशमा सो एजेन्डा बोक्ने एउटै मात्र दलले प्राप्त गरेको मत अत्यन्त निराशाजनक र विडम्बनापूर्ण रह्यो । यद्यपि विभिन्न निकायबाट भएका सर्वेक्षणले अझै हिन्दूराष्ट्रको पक्षमा बहुसंख्यक नेपाली जनता रहेको देखाएको छ । राप्रपाको यस्तो निराशाजनक परिणाम आउनुमा पार्टी विभाजन प्रमुख कारण रहेको देखिन्छ । यस तथ्यले पार्टी एकताको पक्षमा दबाब सिर्जना गरेको छ ।

देशको परिस्थिति, भूराजनीतिक अवस्था र जनताको चाहनालाई दृष्टिगत गरी देशलाई एउटा बलियो र भरपर्दो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति दिने उद्देश्यले राप्रपाको एकीकरण भएको हो ।

यसका अतिरिक्त विगत १२ वर्षको राजनीतिक अभ्यासका क्रममा कांग्रेस र कम्युनिस्ट पार्टीहरू पटक–पटक असफल प्रमाणित भएको तथा जनआकांक्षाअनुरूप काम गर्न नसकेकाले कंग्रेस कम्युनिस्टबाहेक अर्को शक्ति भइदिए हुन्थ्यो भन्ने आमजनताको भावनाले समेत पार्टी एकीकरणलाई प्रोत्साहित गरेको हो । पूर्वराजा वा अन्य शक्तिको सद्भाव हुन सक्छ तर त्यो मूल कारक होइन 

तेस्रो धारको उदय : राप्रपा एकीकरणबाट देशले एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति प्राप्त गरेको छ । कांग्रेस र कम्युनिस्टबाट वाक्कदिक्क भएका जनताले भोट हाल्ने र भरोसा गर्न सकिने विकल्प पाएका छन् । साथै, यस एकीकरणबाट नेपालको राजनीतिमा तेस्रो वैचारिक धार र त्यसलाई प्रतिनिधित्व गर्ने ‘नयाँ शक्ति’को उदय पनि भएको छ । यहाँ नयाँ शक्ति शब्दको प्रयोग सोची–विचारी गरिएको हो । राप्रपाको इतिहास करिब तीन दशकको भए पनि यसपटकको एकीकरणका क्रममा कायम गरिएको मान्यता, अवधारणा र संकल्पलाई दृष्टिगत गर्ने हो भने राप्रपा नयाँ शक्तिका रूपमा स्थापित हुन उद्यत रहेको बुझ्न सकिन्छ ।

२००७ सालमा प्रजातन्त्र स्थापनादेखि हालसम्मको बहुदलीय प्रजातान्त्रिक अभ्यासमा नेपालको राजनीतिमा वामपन्थी र वामपन्थी झुकाव राख्ने विचारधारा र शक्ति निरन्तर हाबी रहँदै आएको छ । प्रजातन्त्र प्राप्त हुनुअघिका आन्दोलन र क्रान्तिको मुख्य लक्ष्य र विषयवस्तु स्वभावतः कसरी प्रजातन्त्र प्राप्त गर्ने भन्नेमा केन्द्रित थियो । जब प्रजातन्त्र प्राप्त भयो, त्यसबखत राजनीतिक दलहरूमा राष्ट्रनिर्माणको स्पष्ट खाका, दर्शन र मार्गचित्र थिएन । फलस्वरूप दलका नेताले पार्टीको आदर्श र नीति कायम गर्ने सन्दर्भमा नेपालको धरातलीय यथार्थका आधारमा मौलिक चिन्तन र राजनीतिक प्रणाली विकास गर्नुको साटो भारतीय राजनीतिक दलको अनुसरण गर्ने सजिलो बाटो छाने ।

तत्कालीन समयमा भारतका दलहरू पनि पश्चिमा मुलुकमा प्रचलित सिद्धान्त र विचारबाट अत्यधिक प्रभावित थिए । युरोप र पश्चिमका अधिकांश मुलुकमा त्यसवेला समाजवाद, पुँजीवाद, माक्र्सवादजस्ता विचारको बोलवाला थियो । बेलायत र युरोपका कतिपय देशमा औद्योगिक क्रान्तिले सिर्जना गरेको गरिबी र असमानताको पृष्ठभूमिमा समाजवादी विचारधारा प्रबल रूपमा देखा परेको थियो । सन् १८४८ मा माक्र्स र एंगेल्सले ’कम्युनिस्ट मेनिफेस्टो’ लेखेपछि वैज्ञानिक समाजवाद चर्चाको शिखरमा पुग्यो र अन्ततः साम्यवादको प्रयोग सुरु भयो । यी घटनाक्रमबाट भारतीय राजनीतिक दल प्रभावित थिए ।

फलस्वरूप ब्रिटिस साम्राज्यवादविरुद्धको स्वतन्त्रता संग्रामको अग्रणी शक्ति भारतीय कंग्रेसले समाजवादको वैचारिक दर्शनलाई प्रयोगमा ल्यायो, जसलाई ‘नेहरूभियन समाजवाद’ भनिन्थ्यो । आफ्ना स्वर्गीय पिता जवाहरलाल नेहरूको बिरासतलाई निरन्तरता दिन तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले सन् १९७६ मा समाजवादलाई संविधानमै समावेश गराइन् । नेहरू नेतृत्वको समाजवादको विकल्पमा साम्यवाद मुख्य रूपमा देखा प-यो । नेहरूले अवलम्बन गरेको समाजवाद धेरै हदसम्म माक्र्सवादी चिन्तनबाट प्रभावित थियो । यही परिवेशमा नेपालका राजनीतिक दलले पनि भारतको वैचारिक एवं राजनीतिक प्रणालीको अन्धानुकरण गरे । कंग्रेसले जवाहरलाल नेहरू, जयप्रकाश नारायण र राममनोहर लोहियाको पदचिह्न आत्मसात ग-यो ।

नेकपाले पूर्ण रूपमा भारतीय कम्युनिस्ट पार्टीको वैचारिक पथ अवलम्बन ग-यो । करिब ६० वर्ष लामो अभ्यासपछि उपर्युक्त मान्यताको औचित्य र महत्वमाथि अहिले गम्भीर प्रश्न खडा भएको छ । समाजवाद, माक्र्सवाद र साम्यवादको युग अन्त्य हुन लागेको देखिन्छ । भारतमा कम्युनिस्ट पार्टी राजनीतिक मानचित्रबाटै हराउन थालेको छ भने भारतीय कंग्रेस आफ्नो अस्तित्व रक्षाको अन्तिम संघर्षमा रहेको आभास हुन्छ । यसै पृष्ठभूमिमा भारतीय दलहरूको वैचारिक अनुकरणबाट सम्पोषित नेपालका कंग्रेस र कम्युनिस्ट पार्टीको राजनीतिक एवं वैचारिक उपादेयता क्रमशः कमजोर हुँदै गइरहेको बुझ्न कठिन छैन । वैचारिक उपयोगिता शिथिल हुँदै गइरहेको हुँदा नेपालका दुवै प्रमुख दल राजनीतिक रूपमा असुरक्षित देखिन्छन् । यही असुरक्षाका कारण कंग्रेस र कम्युनिस्ट दुवैमा तीव्र वैचारिक विचलन, गुटबन्दी र भ्रष्ट प्रवृत्ति हाबी हुँदै गएको हो ।

विगत दुई दशकमा देश र जनताले आमूल परिवर्तनको आशामा ठूलो मूल्य चुकाएका छन् । तर, दुर्भाग्यवश यस अवधिमा जनताले सकारात्मक परिवर्तन अनुभव गर्न पाएका छैनन् । उपर्युक्त पृष्ठभूमिमा कांग्रेस र कम्युनिस्ट पार्टीको विकल्पमा जनताले तेस्रो राजनीतिक शक्तिको आवश्यकता महसुस गरेका हुन् । यस्तो आवश्यकता परिपूर्ति गर्ने होडमा अहिले अन्य केही राजनीतिक दल पनि देखिएका छन् । माओवादी, नयाँ शक्ति हुँदै उपेन्द्र यादवसँग सहकार्य गर्न पुगेका डा. बाबुराम भट्टराईदेखि रवीन्द्र मिश्रले नेतृत्व गरेका दलहरू आफू कंग्रेस र कम्युनिस्टको विकल्प भएको दाबी गरिरहेका छन् । दाबी गर्न पाउने सबैको अधिकार हो । कुनै दलको आकांक्षालाई अवमूल्यन गर्नु उपयुक्त पनि हुँदैन । तर, कंग्रेस र कम्युनिस्टको पदचिह्नमा हिँडेर वा तिनकै एजेन्डा बोकेर तिनैको विकल्प बन्न सकिन्न ।

अबको विकल्प राप्रपा, सुशासन र समृद्धि प्राथमिकता : उपर्युक्त वास्तविकताको धरातलमा राप्रपामा मात्र वर्तमान अवस्थामा कंग्रेस र कम्युनिस्ट पार्टीको विकल्प बन्ने वैचारिक एवं सांगठनिक चरित्र र क्षमता छ । अनुभवले खारिएका र लामो राजनीतिक यात्राका बाबजुद भ्रष्टाचार र अनियमितताको कुनै दाग नगलागेका र इतिहासको अग्निपरीक्षामा उत्तीर्ण भएका नेतृत्व राप्रपामा छ । राप्रपा र राप्रपा (संयुक्त) बीच एकता हुँदा राष्ट्रियता, प्रजातन्त्र र उदारवादको बृहत् चिन्तनमा आधारित संवर्धनवाद एकीकृत राप्रपाको वैचारिक दर्शन हुने समझदारी भएको छ । संवद्र्धनवादको अवधारणा नेपालको राजनीतिक क्षितिजमा नवीनतम प्रयोग हो । क्रान्तिकारी परिवर्तन र परम्परागत मूल्य–मान्यताबीच सामञ्जस्यको मध्यमार्गी विचार हो । हिन्दूराष्ट्र र राजसंस्थाको मुख्य एजेन्डा बोकेको हुँदा राप्रपा राजनीतिक रूपमा पछि फर्कन खोजेको भ्रम कतिलाई परेको छ ।

वास्तवमा राप्रपाले ०६३ अघिको राजनीतिक व्यवस्था र संस्थाको पुनस्र्थापना गर्न खोजेको होइन । परिवर्तनकारी शक्तिहरूलाई समेत चित्त बुझ्ने सहमति र सम्झौताको शासकीय स्वरूप, राज्य संरचना र सांस्कृतिक व्यवस्था कायम गर्न खोजेको हो । कसैलाई निषेध नगर्ने, सबै अटाउने र सबै मिलेर देश बनाउने संस्कार र पद्धति निर्माण गर्न खोजेको हो । एकीकृत राप्रपाले सुशासन र समृद्धिलाई प्राथमिक कार्यनीति बनाएको छ । आर्थिक परिवर्तनविनाको राजनीतिक परिवर्तन टिकाउ नहुने हुँदा भ्रष्टाचार निवारण, रोजगारीको सिर्जना र सर्वसाधारण जनताको जीवनस्तरमा गुणात्मक सुधार राप्रपाको भावी कार्यदिशा हो । यस पृष्ठभूमिमा राप्रपा पुरानो विचार, प्रवृत्ति र कार्यशैली बोकेको दल होइन, नवीन सोच र प्रतिबद्धता ग्रहण गरेको ‘नयाँ शक्ति’ हो । तसर्थ, नेपालको राजनीतिमा अबको विकल्प राप्रपा नै हो ।

संवद्र्धनवाद के हो ? : संवद्र्धनवाद मूलतः ‘मध्य–दक्षिणपन्थी’ वैचारिक अवधारणा हो । यो अवधारणा परिवर्तनविरोधी होइन, निरन्तरतासहितको परिवर्तनको पक्षधर हो । संवद्र्धनवादले वैदिक सनातन मूल्य–मान्यतालाई आफ्नो विचारको स्रोतका रूपमा लिएको छ । भौतिक र आध्यात्मिक पक्षको समन्वयात्मक उत्थानबाट मात्र राष्ट्रको सर्वोपरि हित हुन्छ तथा शरीर, आत्मा, मन र चेतनाको एकात्मक विकास नै प्रत्येक व्यक्तिको आत्मोन्नतिको आधार हो भन्ने सिद्धान्त यस अवधारणाको मुख्य विशेषता हो । नागरिक स्वतन्त्रता, समावेशिता र मानवीय मूल्यप्रतिको प्रतिबद्धता यस विचारधाराको आधारशिला हुन् ।

राष्ट्रियतालाई सर्वोपरि साध्य, प्रजातन्त्रलाई अपरिहार्य आधार र उदार अर्थतन्त्रलाई आर्थिक समृद्धिको अनिवार्य सर्तका रूपमा संवद्र्धनवादले अंगीकार गरेको छ । कांग्रेस र कम्युनिस्ट पार्टीहरू समाजवाद र साम्यवादको वकालत गर्छन्, तर व्यवहारमा राज्यनियन्त्रित पुँजीवादी अर्थतन्त्रलाई कार्यान्वन गर्छन् । राप्रपामा यस्तो विरोधाभास, द्विविधा र अन्योल छैन । राप्रपा आर्थिक उदारवादमा विश्वास गर्छ तथा अर्थतन्त्रमा बजार र निजी क्षेत्रको महत्वपूर्ण भूमिकालाई सुनिश्चित गर्छ । यिनै वैचारिक धरातलमा उभिएर राप्रपाले पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र, राजसंस्थासहितको लोकतन्त्र र सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली नेपालका लागि उपयुक्त हुन्छ भनेको हो । उपर्युक्त अवधारणाका कारण राप्रपा राष्ट्रिय राजनीतिमा अलग पहिचान र सुस्पष्ट विचार बोक्ने पार्टीका रूपमा स्थापित भएको छ । कांग्रेस र कम्युनिस्टको विचार र बाटो असफल प्रमाणित भएको सन्दर्भमा राप्रपाको संवद्र्धनवाद राष्ट्रनिर्माणको वैचारिक मेरुदण्ड बन्न सक्छ ।

राप्रपा पूर्वपञ्चहरूको पार्टी होइन : बहुदलीय प्रजातन्त्र पुनस्र्थापनापश्चात १५ जेठ ०४७ मा विगतमा पञ्चायतमा सँगै काम गरेका नेताहरूको अग्रसरतामा राप्रपा स्थापना भएको हो । साथै, विगतका कतिपय सकारात्मक पक्ष र उपलब्धिलाई राप्रपाले अवलम्बन गरेको छ । तर, राप्रपा पञ्चायतको उत्तराधिकारी वा पूर्वपञ्चको स्वामित्वको पार्टी भने होइन । पञ्चायती व्यवस्था अन्त्य हुँदा जन्म नै नभएका युवा तथा पञ्चायतविरुद्धको आन्दोलनमा सहभागी भएका धेरै व्यक्ति अहिले राप्रपामा संलग्न छन् ।

पञ्चायतको अनुहार नै नदेखेकालाई पञ्चायतको बिरासत बोकाउनु अन्याय हुन्छ । प्रजातन्त्रप्रति निष्ठावान् तथा जनताको सर्वोच्चता, संविधान र बहुलवादलाई आत्मसात् गर्ने राष्ट्रवादी प्रजातान्त्रिक शक्ति वास्तवमा राप्रपाको सही पहिचान हो । फरक विचार र मार्गचित्रका बाबजुद राप्रपा संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध छ । संविधानका कतिपय प्रावधानप्रति असहमत भए पनि राप्रपाले संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्ने नीति लिएको छ । संविधानको परिधिभित्र रहेर जनताको अभिमतबाट प्रजातान्त्रिक ढंगमा आफ्ना मान्यता स्थापित गर्ने राप्रपाको रणनीतिक उद्देश्य हो ।

अब राप्रपा कहिल्यै फुट्दैन ः देशको परिस्थिति, भूराजनीतिक अवस्था र जनताको चाहनालाई दृष्टिगत गरी देशलाई एउटा बलियो र भरपर्दो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति दिने उद्देश्यले राप्रपाको एकीकरण भएको हो । पार्टी एकताको निर्णयसँगै यो एकता कति दिन टिक्ने हो भन्ने आशंकासमेत गरिएको छ । एउटै विचार, एउटै उद्देश्य, एउटै पृष्ठभूमि र एकै दिन जन्म भए पनि स्थापनाकालमै दुई अलग दलका रूपमा अस्तित्वमा आएको राप्रपा विगतमा ६ पटक फुटजुटबाट गुज्रिसकेको हुँदा सो आशंकालाई स्वाभाविक ठान्नुपर्छ । तर, यसपटकको एकता दिगो रहने केही आधारभूत कारण छन् ।

कार्यकर्ताको चाहना, देशको आवश्यकता र सिद्धान्तको औचित्यमाथिको खतरालाई दृष्टिगत गर्दा अब पार्टी फुटाउने हिम्मत सायद कसैले गर्नेछैन । साथै, पार्टी फुटाएर त्यसलाई चलाउने र व्यवस्थित गर्ने क्षमता, उमेर र वातावरण पनि कुनै नेतालाई उपलब्ध छैन । फेरि यसपटक पार्टी एकताको घोषणासभामा नेताहरूले हिन्दूहरूको पवित्र धार्मिक ग्रन्थ ‘गीता’ छोएर कसम खाएकाले समेत अबको एकता स्थायी हुनेमा भर गर्न सकिन्छ ।

(थापा राप्रपा अध्यक्ष हुन्)