मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
दीपेन्द्र अधिकारी 
२०७५ पौष ३ मंगलबार ०६:३२:००
Read Time : > 1 मिनेट
प्रदेश

आफन्तबाटै बालिका असुरक्षित

Read Time : > 1 मिनेट
दीपेन्द्र अधिकारी 
२०७५ पौष ३ मंगलबार ०६:३२:००

राप्ती नगरपालिका २ मा २ बालिका ६० वर्षीय हजुरबुवाबाट बलात्कृत भएका छन् । २८ मंसिरमा घटना सार्वजनिक भएपछि आरोपितलाई गिरफ्तार गरी मुद्दा चलाइएको चितवन प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिए । अर्काको गाईगोठमा काम गर्न बस्ने हजुरबुवासँग १० वर्षीया र ८ वर्षीया नातिनी बस्दै आएका थिए ।  स्कुल जान नमान्ने उनीहरू बाआमा भए पनि सँगै नबस्ने गरेको प्रहरीले जनाएको छ । बालिकालाई जबर्जस्ती करणी गर्दै आएको गोठका साहूले देखेपछि घटना सार्वजनिक भएको हो । 

‘हजुरबुवासँग दिनभर काम गर्ने अलिअलि पैसा पनि लिने र रातिसँगै बस्ने गरेका रहेछन्,’ एसपी राठौरले भने । उनका अनुसार चितवनमा पछिल्लो समय भएका बलात्कार घटनामा बढी आफन्तकै संलग्नता पाइएको छ । 

भिनाजुबाट साली बलात्कृत
इच्छाकामना गाउँपालिका–१ बस्ने १७ वर्षीया किशोरीले आफूलाई जबर्जस्ती करणी गरेको भन्दै २७ मंसिरमा जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिइन् । इच्छाकामना १ बस्ने ४० वर्षीय भिनाजु नाता पर्ने कृष्ण पुरीले २७ असोजमा जबर्जस्ती करणी गरेको भन्दै पीडितले जाहेरी दिएकी हुन् । घटना भएको २ महिनापछि मात्र उनले प्रहरीमा जाहेरी दिएकी हुन् । 

यस्तै, माडी नगरपालिका– ६ बस्ने ३ वर्षीया बालिकालाई माडी ५ बस्ने ११ वर्षीय बालकले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी परेको छ । २९ मंसिरमा बालिका बलात्कृत भएको र आरोपित बालक पक्राउ परिसकेको चितवन प्रहरी प्रमुख एसपी राठौरले जानकारी दिए । 

आरोपी सबै पक्राउ
चितवन प्रहरी प्रमुख एसपी सुशिलसिंह राठौरले जिल्लामा भएका बलात्कार घटनाका सबै आरोपी पक्राउ परेको जानकारी दिए । चितवनमा चालू आर्थिक वर्षमा मात्रै ३ दर्जनभन्दा बढी बलात्कारका घटना भएका छन् । बलात्कारका सबै आरोपी पक्राउ परेको राठौरले बताए । केही आरोपी भागेर भारतसम्म पुगेको अवस्थामा पनि चितवन प्रहरीले दुईचार दिनमै पक्राउ गरेर मुद्दा चलाएको उनले बताए ।