मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सुनिता दुलाल, गायिका
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत ९ आइतबार ११:०९:००
Read Time : < 1 मिनेट
नयाँCity

गीत-संगीतमा कोरोना प्रभाव : कन्सर्ट धमाधम रद्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत ९ आइतबार ११:०९:००

नेपाली नयाँ वर्षको अवसरमा गायिका सुनिता दुलालका अस्ट्रेलियामा सातवटा कन्सर्ट तय भएका थिए । तर, कोरोनाका कारण सबै रद्द भए । यस्तै, जापान, युरोपेली मुलुक, अमेरिकाका कन्सर्ट पनि अनिश्चित बनेका छन् । ‘कोरोनाले संसारलाई त्रसित बनाएको छ,’ उनी भन्छिन् ।

नेपालमा पनि उनका आधा दर्जन कन्सर्टको मिति पछाडि सारिएको छ । गीत रेकर्डिङसमेत रोकिएको उनी बताउँछिन् । भिडभाडमा नजान सरकारले गरेको आग्रह मान्दै उनी रेकर्डिङ स्टुडियोसम्म पनि गएकी छैनन् ।

अरू वेला ढिला घर पुग्ने उनी केही दिनदेखि साँझ सात बजेभित्रै पुगिसकेकी हुन्छिन् । भन्छिन्, ‘महत्वपूर्ण बैठक र भेटघाटका लागि मात्र बाहिर निस्किन्छु । नत्र सेल्फ क्वारेन्टाइनमा बसेजस्तो अवस्थामा छु ।’

यस्तै, ‘भ्वाइस अफ नेपाल’का विजेता गायक राम लिम्बू बेलायतमा तय भएका १० मध्ये चारवटा मात्र कन्सर्टमा सहभागी भएर स्वदेश फर्केका छन् । बाँकी ६ वटा कन्सर्ट रद्द भएका छन् । ‘कोरोनाको त्रासले कार्यक्रमहरू प्रभावित बने,’ उनी भन्छन् ।

बेलायतबाट फिरेर उनी अहिले गीत रेकर्डिङमा व्यस्त छन् । आफ्नो ब्यान्ड ‘नेपालीसियन’सँगका रेकर्ड भने कोरोनाका कारण प्रभावित नभएको उनी बताउँछन् । भन्छन्, ‘स्टुडियोमा मान्छेको भिडभाड नहुने भएकाले गीत रेकर्ड गर्न सहज भएको छ ।’ उनको ब्यान्डमा चार सदस्य छन् ।