मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ चैत ८ शनिबार १०:१६:००
Read Time : > 3 मिनेट
खेलकुद

कीर्तिमान राख्ने रोनाल्डो

Read Time : > 3 मिनेट
२०७६ चैत ८ शनिबार १०:१६:००

पोर्चुगलका कप्तान क्रिस्टियानो रानोल्डोले युभेन्टससँग अनुबन्ध हुँदा भनेका थिए, ‘म चुनौतीको सामना गर्न मन पराउने खेलाडी हुँ । जहाँ जान्छु, त्यहाँ नयाँ इतिहास बनाउने प्रयासमा हुनेछु ।’ दुई वर्षअघि रोनाल्डोले यस्तो प्रतिक्रिया दिँदा उनको पूर्वक्लब रियल म्याड्रिडका समर्थकको रिस भने सेलाएको थिएन । रियलमा १० वर्ष बिताउँदा रोनाल्डो स्टार खेलाडी मात्र नभएर समर्थकका प्रिय खेलाडी बनिसकेका थिए । तर, कसैसँग भलाकुसारी नै नगरी अचानक रोनाल्डो युभेन्टसमा जाँदा समर्थकले पछि उनलाई ‘सेल्फिस’ खेलाडीको ट्याग भिराए । रोनाल्डो र उनका समर्थक आ–आफ्नै स्थानमा सही छन् । लगातार तीनपटक युरोपियन च्याम्पियन्स लिग फुटबलको ट्रफीमाथि रियलले कब्जा जमाउँदा रोनाल्डोले तीनैपटक नायकीय भूमिका निर्वाह गरेका थिए । 

सान्टिएगो बनाएगोबाट उनको बहिर्गमनसँगै च्याम्पियन्स लिगमा रियलको उपस्थिति कमजोर बन्यो । यसपटक च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलमा रोनाल्डोले युभेन्टसलाई पहिलो लेगमा उत्कृष्ट सुरुवात दिलाउन सकेनन् । कोरोना भाइरसका कारण अहिले विश्व खेलकुद नै रोकिएको छ । युरोपियन फुटबल महासंघले च्याम्पियन्स लिगदेखि घरेलु फुटबल प्रतियोगितासमेत स्थगित गरेको छ । 

कोरोना भाइरसका कारण सिरिए लिग रोकिनुअघि रोनाल्डोले आफ्ना समर्थकसित दुई वर्षअघि गरेको वाचा पूरा गरे । लिगमा स्पालविरुद्ध २–१ को जित निकाल्दा रोनाल्डोले पनि एक गोल गरेका थिए । यस गोलसँगै उनले सिरिए लिगमा लगातार ११ खेलमा गोल गर्ने कीर्तिमान बराबरी गरे । युभेन्टसमा बिताएको दोस्रो सिजनमै दुई दशकदेखि एकै व्यक्तिको नाममा रहेको कीर्तिमान बराबरी गर्न रोनाल्डो सफल भए । अर्जेन्टिनी खेलाडी ग्राबिएल बाटिस्टुटाले सिरिए लिगमा लगातार ११ खेलमा गोल गर्ने रेकर्ड राखेका छन् । रोनाल्डोले बाटिस्टुटाको रेकर्ड तोड्न सकेनन् । इन्टरमिलानसँगको प्रतिस्पर्धामा गोल गर्न नसक्दा उनी अर्को कीर्तिमान बनाउन चुके ।

युभेन्टसमा रोनाल्डो एउटा अर्को लक्ष्यतर्फ पनि अग्रसर भएका छन् । हिगुइनले एकै सिजनमा ३६ गोलको रेकर्ड राखेका छन् । यस सिजनमा रोनाल्डोले १९ गोल पुर्‍याएका छन् । अब हिगुइनको रेकर्ड तोड्न उनले थप १७ गोल गर्नुपर्छ ।  रोनाल्डोले इंग्लिस, पोर्चुगाली, लालिगा तथा सिरिएमा गरी ९९४ खेलमा ७२० गोल संख्या पुर्‍याएका छन् । आधुनिक फुटबलकै उत्कृष्ट खेलाडी रोनाल्डोले व्यक्तिगत हजार खेल पनि पूरा गरे । रोनाल्डोले अहिलेसम्म आफूआबद्ध क्लब र राष्ट्रिय टोलीका लागि कीर्तिमानी प्रदर्शन गरेका छन् । उनको उपलब्धि यस्तो छ ।

रोनाल्डोले अहिलेसम्म आफूआबद्ध क्लब र राष्ट्रिय टोलीका लागि कीर्तिमानी प्रदर्शन गरेका छन् । रियलबाट उनले चार च्याम्पियन्स लिग, दुई लालिगा, दुई कोपा डेल रोय तथा चारपटक फिफा वर्ष खेलाडीको ट्रफी उचाले ।

पोर्चुगल
पोर्चुगलमा धेरै स्टार खेलाडी जन्मिए । रोनाल्डोले ती स्टारबीच आफूलाई सर्वकालीन महान् खेलाडीमा राखेका छन् । रोनाल्डोको कप्तानीमा पोर्चुगलले युरोपियन कप (युरोकप), नेसन्स कप जित्यो । यही क्रममा उनले राष्ट्रिय टोलीबाट एक सय ५४ खेल खेल्दै गोलसंख्या ९९ पुर्‍याएका छन् । राष्ट्रिय टोलीबाट खेल्दै धेरै अन्तर्राष्ट्रिय गोल गर्ने पंक्तिमा उनी दोस्रो स्थानमा छन् । फुटबल इतिहासमा इरानका अल दाईले विश्व कीर्तिमानी एक सय नौ गोल गरेका छन् । दाईको रेकर्ड तोड्न रोनाल्डोलाई थप १० गोलको खाँचो छ । सन् २००३ मा काजिकिस्तानविरुद्ध डेब्यु गरेका रोनाल्डो राष्ट्रका लागि धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडीमा पर्छन् । रोनाल्डोले फरक ४० राष्ट्रविरुद्ध गोल गरेका छन् । 

युरोकप
चार वर्षअघिसम्म रोनाल्डो र मेसीले एउटै प्रश्नको सामना गर्थे– आधुनिक फुटबलकै महान् खेलाडीको दर्जा पाएका यी दुईले केवल क्लबलाई उपाधि दिलाउँछन्, तर राष्ट्रका नाममा केही जित्न सक्दैनन् । त्यसवेलासम्म दुवैसँग यसको उत्तर थिएन । चार वर्षभित्र रोनाल्डोले आफूलाई क्लबलाई मात्र नभएर मातृभूमि पोर्चुगललाई पनि उपाधि दिलाउन सक्ने खेलाडीका रूपमा प्रमाणित गरे । उनले मेसीलाई एक कदम पछाडि राखे । २०१६ को युरोकप उपाधि जितेर रोनाल्डोले एकल प्रयासमै पोर्चुगललाई पहिलोपटक सो उपाधि दिलाए । गत वर्ष युरोपमै आयोनजा भएको नेसन्स कप पनि पोर्चुगलले उनकै कप्तानीमा जित्यो । यसविपरीत मेसी अहिलेसम्म पनि सिनियर टोलीमा उपाधिविहीन नै छन् । युरोकपमा रोनाल्डोले लगातार चार संस्करणमा गोल गरेको रेकर्ड पनि बनाएका छन् । 

विश्वकप
रोनाल्डोले करिअरमा विश्वकप फुटबलको उपाधि भने जित्न सकेका छैनन् । ३४ वर्षीय रोनाल्डो अझै पनि जुलेस रिमेट ट्रफी जित्न चाहन्छन् । विश्वकपमा उनको उत्कृष्ट प्रदर्शन नै २००६ को जर्मनी संस्करणमा थियो । त्यसवेला पोर्चुगल सेमिफाइनलसम्म पुगेको थियो । युरोकपमा झैँ रोनाल्डोले विश्वकपमा पनि एउटा दुर्लभ रेकर्ड राखेका छन् । उनले लगातार चार विश्वकपमा गोल गर्ने कीर्तिमान राखेका छन् । उनले २००६, ०१०, ०१४ र ०१८ को संस्करणमा गोल गरेका हुन् । यससँगै पेले, मिरोस्लाभ क्लोज र सेलेरको रेकर्ड उनले बराबरी गरे । विश्वकपमा पाका खेलाडीका रूपमा ह्याट्रिक गर्ने उनी अहिलेसम्मकै एक्ला खेलाडी हुन् । सन् २०१८ को रसिया संस्करणमा पोर्चुगलले स्पेनलाई ३–३ को बराबरीमा रोक्दा रोनाल्डोले ह्याट्रिक लगाएका थिए । 

च्याम्पियन्स लिग
केही समयअघि स्पेनिस मिडियाले लेखेका थिए, ‘वास्तवमै रोनाल्डो च्याम्पियन्स लिग जित्न र गोल गर्नकै लागि जन्मिएका खेलाडी हुन् ।’ स्पेनिस क्लब रियल म्याड्रिडले कीर्तिमानी रूपमा १३ च्याम्पियन्स ट्रफी जित्दा रोनाल्डोको प्रशंसा गर्दै स्पेनिस मिडियाले यस्तो लेखेका थिए । च्याम्पियन्स लिगको प्रसंग उठ्दा रोनाल्डोले सबैलाई पछि पारेका छन् । पाँचपटक च्याम्पियन्स लिग जित्ने र एकै सिजनमा सर्वाधिक १७ गोल गर्ने रोनाल्डो एक मात्र खेलाडी हुन् । सन् २०१३÷१४ को सिजनमा उनले च्याम्पियन्स लिगमा व्यक्तिगत गोल गरेका थिए । रोनाल्डोले च्याम्पियन्स लिगमा व्यक्तिगत एक सय २८ गोल गरेका छन् । यो संख्यानजिक केवल मेसी मात्र छन् । अहिलेको अवस्थामा मेसीले मात्र रोनाल्डोको गोल रेकर्ड तोड्न सक्छन् । मेसीबाहेक अन्य खेलाडी धेरै टाढा छन् । रोनाल्डोले लगातार ११ खेलमा गोल गरेका छन् । युभेन्टसमा आएपछि सिरिएबाट युरोपकै प्रतिष्ठित लिग उपाधि जित्ने चाहना उनले राखेका छन् । सन् २००८ को सिजनमा रोनाल्डोले पहिलोपटक च्याम्पियन्स लिग उपाधि चुमेका थिए । त्यसवेला रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा थिए । त्यसको अर्को वर्ष उनी रियल म्याड्रिडमा आबद्ध भए । 

लालिगा
सन् २००९ मा युनाइटेडबाट रियलमा आबद्ध हुँदा रोनाल्डोले खेलाडी स्थानान्तरमा रेकर्ड नै राखे । उनी आठ करोड पाउन्डमा युनाइटेडबाट रियलसँग आबद्ध भए । त्यसवेला रियलले रोनाल्डोमाथि खर्चिएको रकम विश्व कीर्तिमानी थियो । एक दशक रियलमा बिताउँदा क्लबस्तरीय फुटबलका सबै उपाधि उनले आफ्नो नाममा लेखाए । लालिगामा सर्वाधिक पेनाल्टीमा गोल गर्ने र मिस गर्ने सूचीमा उनी नै अगाडि पर्छन् । रोनाल्डोले ७३ पेनाल्टी गोल गरेका छन् भने १२ पटक पेनाल्टी मिस गरेका थिए ।  लालिगामा उनको प्रतिखेल गोल औसत १.०३ थियो । रियलबाट उनले चार च्याम्पियन्स लिग, दुई लालिगा, दुई कोपा डेल रोय तथा चारपटक फिफा वर्ष खेलाडीको ट्रफी उचाले । जोसे माउरिन्होको प्रशिक्षण समयमा उनले एक फरक किसिमको रेकर्ड बनाए । त्यस सिजनमा रियलले लालिगा उपाधि उचालेको थियो । त्यहीँ नै रोनाल्डोले प्रत्येक प्रतिद्वन्द्वीविरुद्ध गोल गरेका थिए । लालिगामा लगातार ६ सिजनमा ५० गोल गर्ने उनी पहिलो खेलाडी हुन् । 

इंग्लिस प्रिमियर लिग
इंग्लिस प्रिमियर लिगमा एलेक्स फर्गुसनको राज चलेका वेला रोनाल्डो युनाइटेडमा आबद्ध भए । २००३ को सिजनमा फर्गुसनले पोर्चुगिज क्लब स्पोर्टिङबाट रोनाल्डोलाई युनाइटेडमा भित्र्याए । भर्खरको युवा अवस्थामा रहेका रोनाल्डोलाई निर्खाने काम फर्गुसनले गरे । फर्गुसनको प्रशिक्षणमा उनले युनाइटेडमा छिट्टै राम्रो स्थान बनाए । त्यसवेला रोनाल्डो र वाइनी रुनीको जोडी निकै जमेको थियो । ६ वर्ष युनाइटेडमा रहँदा रोनाल्डोले ८४ खेलमा एक सय ९६ गोल गरे ।
एजेन्सीको सहयोगमा