१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ८ शनिबार ०९:२२:००
Read Time : > 1 मिनेट
अर्थ

दक्षिण एसियामा थोरै सवारी साधन, धेरै सडक दुर्घटना

विश्वभरका १० प्रतिशत सवारीसाधन चल्ने दक्षिण एसियामा २५ प्रतिशत सडक दुर्घटना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ८ शनिबार ०९:२२:००

विश्वका अन्य क्षेत्रको तुलनामा सबैभन्दा कम सवारीसाधन भएको दक्षिण एसियामै सबैभन्दा बढी दुर्घटना हुने गरेको विश्व बैंकको एक अध्ययनले देखाएको छ । विश्वभरका सवारीसाधनमध्ये दक्षिण एसिया (नेपाल, भुटान, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, माल्दिभ्स र अफगानिस्तान) क्षेत्रमा १० प्रतिशत मात्र छन् । तर, सवारी दुर्घटनाबाट यस क्षेत्रमा हुने मृत्यु भने २५ प्रतिशत रहेको विश्व बैंकको अध्ययनले देखाएको हो । 

यसको अर्थ संसारभर १ सय सवारी चल्छन् भने दक्षिण एसियामा मात्र १० वटा चल्छन् । तर, संसारभर दुर्घटनाबाट १ सयको मृत्यु हुँदा दक्षिण एसियाका मात्रै २५ जना पर्ने गरेका छन् । 

त्योभन्दा पनि डरलाग्दो विषय त दक्षिण एसिया क्षेत्रमा मृत्यु हुनेमध्ये धेरै युवा रहेका छन् । यस क्षेत्रमा विशेष गरी १५ देखि २९ वर्ष उमेर समूहका युवा मृत्युको प्रमुख कारणमध्ये सडक दुर्घटना पर्ने गरेको विश्व बैंकले सार्वजनिक गरेको ‘रोड सेफ्टी इन साउथ एसिया’ प्रतिवेदनमा उल्लेख छ । यस क्षेत्रमा सडक दुर्घटना धेरै हुनुको मुख्य कारणमा सडक सुरक्षाका पूर्वाधारका लागि आवश्यक लगानी नहुनुलाई मानिएको छ । सन् १९९० देखि २०२० सम्मको अवधिमा यस क्षेत्रमा सवारी दुर्घटनामा १ सय ४४ प्रतिशतले वृद्धि भएको देखाएको छ । 

दक्षिण एसियाली देशमध्ये सबैभन्दा धेरै भारतमा वार्षिक करिब ३ लाखजनाको सडक दुर्घटनाबाट मृत्यु हुने गरेको छ । त्यसपछि पाकिस्तानमा २७ हजार, बंगलादेशमा २५ हजारको मृत्यु हुन्छ । नेपालमा वार्षिक २ हजार ५ सय ४१ जना सडक दुर्घटनाबाट मृत्यु हुने गरेको छ । 

दुर्घटना घटाउन वार्षिक १ अर्ब १८ करोड डलर लगानी आवश्यक

दक्षिण एसिया क्षेत्रमा सन् २०३० सम्म सवारी दुर्घटना आधामा झार्न यातायात क्षेत्रमा प्रतिवर्ष १ अर्ब १८ कारोड अमेरिकी डलर (करिब १ खर्ब ४० अर्ब रुपैयाँ) लगानी गर्नुपर्ने विश्व बैंकको अध्ययनले देखाएको छ । अन्तरदेशीय सडक सुरक्षालाई प्राथमिकता दिनुपर्ने विश्व बैंकको सुझाब छ । साथै, सडक सुरक्षाका लागि आवश्यक मापदण्ड कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । दक्षिण एसिया क्षेत्रमा १ अर्ब ७० करोड जनसंख्या र १७ करोड ७८ लाख सवारी रहेको तथ्यांक छ । दक्षिण एसिया क्षेत्रमा संसारको कुल जनसंख्याको झन्डै २५ प्रतिशत बसोवास गरे पनि न्यून सहरीकरण भएको क्षेत्रमा पर्छ । यस क्षेत्रमा कुल ३३ प्रतिशत मात्र सहरी क्षेत्रमा बसोवास गर्छन् ।  

दक्षिण एसियाको तुलनामा नेपालको दुर्घटना मृत्युदर उच्च

दक्षिण एसिया क्षेत्रको औसत १ लाख मानिसमा सवारी दुर्घटनाबाट वार्षिक १६ जनाको मृत्यु हुने गरेको छ । तर, नेपालमा १ लाख मानिसमा १७ जनाको मृत्यु हुने गरेको देखिन्छ । त्यस्तै, एसिया क्षेत्रमा १० हजार सवारीसाधनमध्ये १५ वटा दुर्घटनामा पर्ने देखिएको छ । नेपालमा हरेक १० हजार सवारीसाधनमध्ये ४० वटा दुर्घटनामा पर्ने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।