मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
जिल्ला ब्युरो
२०७६ चैत ८ शनिबार ०६:४६:००
Read Time : > 6 मिनेट
मुख्य समाचार

नेपाल–भारत नाकामा भिड : कञ्चनपुरको गड्डाचौकीदेखि झापाको काँकडभिट्टासम्मको स्थलगत रिपोर्ट

Read Time : > 6 मिनेट
जिल्ला ब्युरो
२०७६ चैत ८ शनिबार ०६:४६:००

पश्चिम नेपालसँग सीमा जोडिएको भारत उत्तर प्रदेशका विभिन्न स्थानमा कोरोना भाइरस (कोभिड–१९)का संक्रमित भेटिएका छन् । पारिपट्टि संक्रमण देखिएपछि नेपालतर्फ त्रास बढेको छ । तर, जोखिमलाई नजरअन्दाज गर्दै दुई देशका नाका अझै खुला राखिएका छन्, जहाँबाट दैनिक हजारौँ मानिस निष्फिक्री ओहोरदोहोर गरिरहेका छन् । 

गड्डाचौकी नाका : दैनिक पाँच हजार मान्छे हुल बाँधेर भारतबाट भित्रिँदै छन् । नाकामा ११ स्वास्थ्यकर्मी रहेको हेल्थ डेस्क छ । तर, ज्वरो नाप्न दुईवटा मात्रै इन्फारेड थर्मोमिटर छन् । आशंका गरिएका व्यक्तिलाई महाकाली अञ्चल अस्पतालमा रेफर गरिन्छ । तर, त्यहाँ क्वारेन्टाइन र आइसोलेसन वार्ड छैन । 

कञ्चनपुरको गड्डाचौकीदेखि झापाको काँकडभिट्टासम्मका नाकाबाट दुई देशका नागरिक जोखिम मोल्दै हुल बाँधेर आउजाउ गरिरहेका छन् । २५ जनाभन्दा बढी भिड नलाग्न आह्वान गरेको सरकारले त्यसको व्यवस्थापनमा ध्यान दिएको छैन । ठेलमठेल लाइनमा उभ्याएर सीमित साधनस्रोतले उनीहरूको चेकजाँच भइरहेको छ । स्वास्थ्य परीक्षणका नाममा भारतबाट आउनेहरूको सामान्य ज्वरो नापेर नेपाल छिर्न दिइएको छ । कतिपय नाकामा त ज्वरो नाप्ने थर्मोमिटर र स्वास्थ्यकर्मी समेत पर्याप्त छैनन् ।

दिल्लीसँग सबैभन्दा छोटो दूरीको गड्डाचौकी नाकाबाट दैनिक पाँच हजार व्यक्ति भित्रिँदै छन् । यहाँ ११ स्वास्थ्यकर्मी रहेको हेल्थ डेस्क छ । तर, ज्वरो नाप्न दुईवटा मात्रै इन्फारेड थर्मोमिटर छन् । संक्रमणको आशंका भएका व्यक्तिलाई महाकाली अञ्चल अस्पतालमा रेफर गरिन्छ । तर, त्यहाँ क्वारेन्टाइन र आइसोलेसन वार्ड छैन । ‘दुईवटा डिजिटल थर्मोमिटरले ज्वरो जाँच गर्दै आएका छौँ । सामान्य ज्वरो देखिएकाहरूलाई उपचारपछि पुनः जाँचेर पठाउँछौँ, १०४ डिग्रीभन्दा माथि ज्वरो देखिए महाकाली अस्पतालमा रेफर गर्छौँ,’ हेल्थ डेस्क इन्चार्ज निर्मला जोशीले भनिन् । बिहान ५ बजेदेखि राति ९ बजेसम्म तीन सिफ्ट गरेर नाकामा ज्वरो नाप्ने गरिएको उनले बताइन् । 

गड्डाचौकी नाकाबाट फर्किनेहरू मजदुरीका लागि भारतमा रहेका नेपालीदेखि भारतीयसम्म छन् । भारतमा होटेल, उद्योगलगायत रोजगारीका क्षेत्र बन्द भएपछि घर फर्किने नेपालीको संख्या बढेको हो । महेन्द्रनगरबाट गड्डाचौकी नाका हुँदै दिल्ली, देहरादुन चल्ने नेपाल–भारत मैत्रीबस सेवा भने ३ चैतदेखि बन्द गरिएको छ । 

भारतसँग जोडिएका कञ्चनपुरका अन्य साना नाका झन् अव्यवस्थित छन् । महाकाली र बेलौरी नगरपालिका क्षेत्रका नाकाका हेल्थ डेस्कमा पनि ज्वरो नापेर छाड्ने गरिएको छ । बेलौरीका मेयर पोतिलाल चौधरीले नाकामा आवतजावत नै बन्द गर्न छलफल भइरहेको बताए । महाकालीका प्रवक्ता दिलबहादुर सिँजालीले १० दिनका लागि आउजाउ बन्द गरिएको बताए । पुनर्वास नगरपालिका र बेलडाँडी गाउँपालिकाले समेत सीमा–नाका बन्द गर्ने तयारी थालेका छन् । 

भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजारमा बनाउने भनेको क्वारेन्टाइन र आइसोलेसन वार्ड व्यवस्थापन पनि अलपत्र छ । १८ कोठे सामुदायिक स्वास्थ्य संस्थाको छात्रावासमा क्वारेन्टाइन राख्ने निर्णय नगरपालिकाले गरेको थियो, तर अहिलेसम्म केही काम भएको छैन । त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले महाकाली अस्पतालको बिरामी कुरुवा घरमा सात बेडको आइसोलेसन वार्ड बनाउन थाले पनि काम सुस्त छ । हालसम्म कोठामा कुचो लगाउनेबाहेक अरू काम भएको छैन । बेड व्यवस्थित गरिएको छैन भने जनशक्ति पनि छैनन् । 

-त्रिनगर नाका (कैलाली) : भारतबाट किनमेल गरेर फर्किने नेपालीको स्वास्थ्य जाँच नै हुँदैन
-जमुनाहा नाका (बाँके) : पारि भारततिरको बहराइचमा संक्रमित भेटिएका छन्, तर पनि नेपाली नाकामा उच्च सतर्कता छैन । दैनिक हजारौँ ओहोरदोहोर गर्ने नाकामा आठ स्वास्थ्यकर्मीले दुई थर्मोमिटर बोकेर ज्वरो नाप्दै छन् । 
-भैरहवा नाका (रुपन्देही) : सरकारले झारा टारेको भन्दै स्थानीयको पहलमा बेलहिया नाकामा पाँच स्वास्थ्यकर्मी रहेको छुट्टै हेल्थ डेस्क सञ्चालन । 
-रक्सौल नाका (पर्सा) : देशको सबैभन्दा व्यस्त यो नाका अस्तव्यस्त छ । घन्टामै करिब पाँच सय ओहोरदोहोर गर्छन्, तर हेल्थ डेस्कमा दुई अहेब र एक अनमि मात्रै छन् ।  
-जोगबनी नाका (मोरङ) : यो नाकाबाट दैनिक १५ हजार मानिस आवतजावत गर्छन् । तर, सीमामा सामान्य स्वास्थ्य जाँच मात्रै हुन्छ । 

त्यस्तै, कैलालीको त्रिनगर नाकामा पनि स्वास्थ्य जाँच फितलो छ । सीमावर्ती भारतीय बजारमा किनमेल गरेर फर्किने नेपालीलाई स्वास्थ्य जाँच नै नगरी आउन दिइन्छ । दैनिक सयौँ नेपाली भारतको बनगावालगायत बजारमा किनमेल गर्न पुग्छन् । उनीहरू जाँदा गौरिफन्टास्थित भारतीय हेल्थ डेस्कमा चेकजाँच हुन्छ । तर, फर्किने वेला नेपालतर्फ जाँच नगरिएको त्रिनगरस्थित हेल्थ डेस्ककी अनमि धनपति खडायतले बताइन् । हेल्थ डेस्कमा एम्बुलेन्स र आइसोलेसन कक्ष छ । तर, स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्याप्त सामान छैनन् । ‘मास्क, ग्लोभ, सेनिटाइजर पर्याप्त छैनन्,’ अनमि खडायतले भनिन् । 

कैलालीकै टीकापुरस्थित खक्रौला नाकामा भारतबाट भित्रिनेको ज्वरो जाँच हुने गरेको छ । तर, शंकास्पद भेटिए हेल्थ डेस्कमा राख्ने ठाउँ छैन । टेन्ट लगाएर क्वारेन्टाइन बनाए पनि बस्ने कुर्सीसमेत छैन । 

 

काँकडभिट्टा नाका : यो नाकाबाट दैनिक १२ हजार नेपाली र भारतीय ओहोरदोहोर गर्छन् । यस्तो भिडभाड भएको नाकामा तीनवटा इन्फारेड थर्मोमिटर बोकेका तीन स्वास्थ्यकर्मी मात्रै हेल्थ डेस्कमा खटाइएका छन् । जोखिम न्यूनीकरण होइन, बढाउने ठेलमठेलबीच सामान्य रूपमा ज्वरो नापेर यात्रुहरूलाई छाडिन्छ ।

कैलालीमा कसैलाई संक्रमण देखिए उपचार तयारी झन् फितलो छ । त्रिनगर नाकाबाट भित्रिनेमा कोरोनाको शंका लागे सेती प्रादेशिक अस्पताल लैजाने गरिएको छ । तर, त्यहाँ पर्याप्त आइसोलेसन वार्ड छैनन् । चिकित्सकले प्रयोग गर्ने सुरक्षा सामग्रीको पनि अभाव छ । ‘सुरक्षा सामग्री छैन, जोखिम मोलेर काम गरिरहेका छौँ,’ सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डा. जगदीशप्रसाद जोशीले भने, ‘एकजनामा मात्रै संक्रमण देखिए पनि भयावह हुने अवस्था छ ।’ 

बाँकेको नेपालगन्जसँग सिमाना जोडिएको भारतको बहराइज जिल्ला सदरमुकाम बहराइचमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । पारिपट्टिसम्म कोरोना आइपुग्दा पनि जमुनाहा नाकाको भद्रगोल अवस्था हुँदा नेपालगन्जवासी त्रसित बनेका छन् । 

कामका लागि भारत गएकाहरू जमुनाहाबाट धमाधम भित्रिरहेका छन् । नाकामा हेल्थ डेस्क भए पनि भिडभाड व्यवस्थापन भएको छैन । दुईवटा इन्फ्रारेड थर्मोमिटर बोकेर आठ स्वास्थ्यकर्मी स्वास्थ्य चेकजाँचमा खटिएका छन् । भिडभाडको तुलनामा ज्वरो नाप्ने थर्मोमिटर कम भएको नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए । तर, खरिद गर्न थर्मोमिटर नै नपाएको उनको भनाइ छ । 

नाकामा परीक्षण गर्दा सय डिग्रीभन्दा बढी तापक्रम भएका व्यक्तिलाई सीधै भेरी अस्पताल पठाउने गरिएको छ । तर, अत्यधिक भिडभाड भएकाले व्यवस्थापन गर्न स्वास्थ्यकर्मीलाई हम्मेहम्मे परेको छ । ‘भारतबाट कतिपय डराउँदै आउँछन् । नाकामा स्वास्थ्य परीक्षण गराउनसमेत मान्दैनन्,’ चन्दले भने, ‘स्वास्थ्यकर्मीले प्रहरीको सहायता लिनुपर्ने भएको छ ।’

जोखिम नजिक छ, तर बाँकेमा अहिलेसम्म क्वारेन्टाइन बनेको छैन । क्वारेन्टाइनका लागि उपयुक्त भवन नभेटेको भेरी अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए । प्रदेश सरकारले खजुरास्थित कपास विकास समितिको परिसरमा भएका भवनमा क्वारेन्टाइन बनाउने निर्णय गरे पनि पर्याप्त र योग्य नभएको बताए । अब दुई–तीनवटा विद्यालयसँग समन्वय गरेर बनाउँदा प्रभावकारी हुने उनको भनाइ छ । 

बाँकेमा क्वारेन्टाइन मात्रै होइन, आइसोलेसन वार्डको पनि टुंगो लागेको छैन । भेरी अस्पतालले ६ बेडको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याए पनि नाम मात्रको भएको मेडिकल सुपरिटेन्डेन्ट डा. थापाले बताए । उनले जनरल वार्ड भएकै भवनमा आइसोलेसन वार्ड बनाउन नमिल्ने भए पनि अर्को विकल्प नभएको बताए । ‘जनरल वार्डसँगै जोडिएको भवनबाहेक अन्यत्र बनाउने विकल्प नभएपछि बाध्य भएर काम चलाउ आइसोलेसन वार्ड स्थापना गरेका छौँ,’ उनले भने ।

भारतसँग जोडिएको देशकै दोस्रो ठूलो नाका रुपन्देहीको बेलहियामा सरकारी चेकजाँच प्रभावकारी नभएपछि स्थानीयको पहलमा बेग्लै हेल्थ डेस्क स्थापना गरिएको छ । स्थानीय बेलहिया गाउँ समाजले नाकामा पाँच स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क राखेर चेकजाँच सुरु गरेको हो ।  कोरोना महामारी सुरु भएपछि दशगजा क्षेत्रमा भारततर्फ एम्बुलेन्ससहित २० स्वास्थयकर्मीको टोलीले थर्मल स्क्यानरबाट चेकजाँच गरे पनि नेपालतर्फ थर्मोमिटरबाट ज्वरो नापिने गरेको थियो । जिल्ला प्रशासनले स्थापना गरेको हेल्थ डेस्क एउटा कर्मचारीको भरमा थियो । 

समाजको सक्रियतामा राखिएको हेल्थ डेस्कमा थर्मल स्क्यानर राखिएको छ । सिद्धार्थनगर नगरपालिका स्वास्थ्य सेवा केन्द्रको सहयोगमा थर्मल स्क्यानर व्यवस्था गरिएको हो । समाजका सल्लाहकार रमेश थापाले सरकारको भूमिका प्रभावकारी नभएपछि आफूहरूले पहल गरेको बताए । 

बेलहिया हुँदै दिल्लीसम्म चल्ने अन्तरदेशीय बससमेत अहिले सञ्चालनमै छ । दैनिक हजारौँ व्यक्ति भारतबाट नेपाल भित्रिन्छन् । खुला सीमाका कारण नेपालतर्फ जोखिम र त्रास छ । स्थानीयले आफैँ पहल गर्दा सरकार अझै गम्भीर बनेको छैन ।

प्रदेश ५ सरकारले शुक्रबार मात्रै ६ वटा आइसोलेसन अस्पताल बनाउने निर्णय गरेको छ । मुख्यमन्त्री शंकर पोखरेल अध्यक्षतामा बसेको बैठकले रुपन्देही, दाङ र बाँकेमा आइसोलेसन अस्पताल बनाउने निर्णय गरेको हो । मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले भैरहवाको भीम अस्पताल, बुटलाको धागो कारखाना भवन र देवदहर क्याम्पसलाई आइसोलेसन अस्पताल बनाउने निर्णय भएको बताए । त्यस्तै, दाङको बेलझुण्डीस्थित आयुर्वेद अस्पताल, बाँकेको नेपाल प्रहरी अस्पताल र अर्बुद रोग अस्पताललाई आइसोलेसन अस्पतालमा परिणत गर्ने निर्णय गरेको छ । 

यी अस्पतालमा उपचार प्रबन्ध मिलाउनसम्बन्धि प्रमुख जिलला अधिकारीहरूलाई जिम्मा दिइएको छ । कर्मचारी व्यवस्थापन प्रादेशिक अस्पताल, मेडिकल कलेज, निजी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताललगायतबाट गरिने निर्णय पनि भएको छ । 

नेपाल–भारतको प्रमुख नाका वीरगन्ज झन् अस्तव्यस्त छ । भारतबाट वीरगन्ज नाका हुँदै घन्टामै पाँच सय व्यक्ति भित्रिन्छन् । तर, नाकाको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले ज्वरो नापेर मात्रै पठाइदिने गरेका छन् । डेस्कमा दुई अहेब र एक अनमी छन् ।

शुक्रबार भारतबाट घरायसी सामान किनेर फर्किएका बहुदरमाई नगरपालिका–३ नगरदाहाका २० वर्षीय मेराज आलमलाई १०३ डिग्री ज्वरो देखियो । स्वास्थ्यकर्मीले उनलाई केहीबेर कुर्सीमा आराम गराए । ५ मिनेटपछि फेरि नाप्दा ९९ डिग्री देखिएपछि घर पठाइदिए । शुक्रबार मेराजजस्तै सयभन्दा धेरैको तापक्रम बढी देखिएको थियो । सबैको पछि घटेको भन्दै घर पठाइएको छ । जब कि वीरगन्ज महानगरपालिकाले कसैलाई बढी ज्वरो देखिए वा कोरोनाको शंका लागे महानगरको स्वास्थ्य शाखामा जानकारी गराउन भनेको छ । 

वीरगन्ज महानगरपालिकाले सरकारी र निजी गरी तीन अस्पतालमा आइसोलेसन बेड व्यवस्थापन गरेको छ । नारायणी अस्पतालमा ५ बेड, नारायणी बयोधा अस्पतालमा ४ बेड र नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा ५० बेड व्यवस्था गरेको महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुण महतोले बताए । तर, अहिलेसम्म शंकास्पद बिरामी नआएको उनले बताए । 

दैनिक १२ हजार भित्रिने काँकडभिट्टा नाकामा सुरक्षा जाँच प्रभावकारी हुन सकेको छैन । सयौँलाई एकसाथ ठेलमठेल लाइन लगाएर ज्वरो नाप्ने र छाड्ने गरिएको छ । तर, स्वास्थ्यकर्मीको टोलीले साबुनपानीले हात धुन लगाउने, ज्वरो नाप्ने र स्वस्थ भएको प्रमाणित भएपछि मात्रै प्रवेश गर्न दिने गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डिएसपी राजेन्द्र पोखरेलले बताए । सुरक्षा जाँचका लागि औजार र स्वास्थ्यकर्मी भने अभाव रहेको उनको भनाइ छ । 

तीन थर्मोमिटर दिएर तीन स्वास्थ्यकर्मी हेल्थ डेस्कमा खटाइएको छ । व्यक्तिगत सुरक्षा साधन छैन । प्रहरीले मास्क आफैँ बनाएर प्रयोग गरिरहेको पोखरेलले बताए । काँकडभिट्टा भएर अघिल्ला दिनहरूमा १२ हजार भित्रिने गरेकोमा शुक्रबार आठ हजार भित्रिएको बताए । 

प्रहरीले भारतबाट व्यक्तिगत रूपमा सामान ल्याउन पूर्ण रूपमा बन्देज लगाएको छ । झापाका स्थानीय दैनिक उपभोग्य सामान खरिद गर्न भारतको पानीट्यांकी पुग्ने गर्थे । अहिले बन्द गरिएको छ । काडमाडौं–सिलिगुडी बससेवा पनि अनिश्चितकालका लागि बन्द भएका छ । मेची पुलबाट रिक्सा, टेम्पोलाई समेत यात्रु बोक्न निषेध गरिएको छ । हालसम्म दुई युक्रेनीसहित २० जनाभन्दा बढी विदेशी नागरिकलाई भारततिरै फर्काइएको मेचीनगर स्वास्थ्य शाखा प्रमुख शशिकला राईले बताइन् । तर, एक सातादेखि तेस्रो मुलुकको कुनै पनि पर्यटक नाकाबाट नेपाल छिर्न नपाएको अध्यागमन कार्यालय काँकडभिट्टाका निमित्त प्रमुख माधव पौडेलले बताए । 

भारतबाट सुनसरीको भन्टावारी नाका हुँदै नेपाल प्रवेश गर्ने सर्वसाधारणको स्वास्थ्य जाँच पनि प्रभावकारी हुन सकेको छैन । नाकामा स्वास्थ्य परीक्षण गर्ने एउटा छाप्रो बनाइएको छ । एउटा टेबुल र तीनवटा कुर्सी छन् । दुईजना स्वास्थ्यकर्मी र एक प्रहरी जवान खटाइएको छ । ज्वरो नाप्न एउटा थर्मोमिटर राखिएको छ । तर, दैनिक हजारभन्दा बढी मानिस आवतजावत गर्ने नाकामा दुईजनाले चेकजाँच गर्न सम्भव नभएको बताउँछिन् स्वास्थकर्मी यशोधधा घिमिरे ।

-कञ्चनपुरमा मोहन विष्ट 
-धनगढीमा तेजराज भट्ट 
-नेपालगन्जमा विश्वराज पछल्डङ्ग्या 
-भैरहवामा दीपेश पछाईं 
-वीरगन्जमा तिवारी यादव 
-विराटनगरमा गणेश लम्साल 
-धरानमा देवेन्द्र कार्की