भारतमा बलात्कारीलाई फाँसी दिनुले महिलाको सुरक्षामा के अर्थ राख्छ ?
सामूहिक बलात्कार तथा हत्या मुद्दामा दोषी ठहर गरिएका चारजनालाई शुक्रबार बिहान ५ः३० बजे दिल्लीस्थित तिहाड जेलमा झुन्ड्याएर मृत्युदण्ड दिइएको छ ।
घटनाका दोषीहरू विनय शर्मा, अक्षयकुमार सिंह, मुकेश सिंह र पवन गुप्तालाई फाँसी दिइएको हो । घटनामा अदालतले ६ जनालाई दोषी ठहर गरेको थियो । तीमध्ये एकजनाले जेलमै आत्महत्या गरेका थिए भने अर्कालाई वालिग नभएको भन्दै सुधारगृहमा पठाइएको थियो ।
दोषी ठहरिएका ती चार पुरुषले क्षमादानका लागि गरेको निवेदनलाई भारतीय राष्ट्रपति तथा सर्वोच्च अदालतले अस्वीकार गरेका दिए ।
सन् २०१२ को डिसेम्बरमा गुडिरहेको बसमा २३ वर्षीया मेडिकल विद्यार्थी निर्भयाको सामूहिक बलात्कार भएको थियो । डिसेम्बरको अन्त्यमा उपचारका क्रममा उनको मृत्यु भयो । यो घटनापछि भारतभर प्रदर्शन चर्कियो, हप्तौँ विश्वव्यापी हेडलाइन्स बने ।
ती विद्यार्थीको सामूहिक बलात्कार र त्यसले सार्वजनिक रूपमा उब्जाएको आक्रोश र दबाबले भारत सरकारलाई कडा कानुन ल्याउन बाध्य बनायो ।
यस घटनापछि भारतमा भएका धेरै प्रदर्शन र यसले निम्त्याएको दबाब र द्रुत गतिमा न्याय प्रदान गर्ने सरकारको आश्वासनका बाबजुद पनि यो मुद्दा अदालतमा सात वर्षभन्दा बढी चल्यो ।
यस सजायको पीडित परिवारले स्वागत गरेको छ, निर्भयाकी आमा आशादेवीले अन्ततः न्याय पाएको प्रतिक्रिया दिएकी छिन् ।
मृत्युदण्ड दिने समयमा जेलबाहिर धेरै मानिसले ‘बलात्कारीलाई फाँसी दे’ भन्ने नारा लगाएका थिए ।
तर, यस घटनाले भारतीय महिलालाई सुरक्षित बनाउँछ ? वा भारतमा बलात्कारका घटनामा कमी आउँछ ?
यसको सीधा र स्पष्ट उत्तर ‘हुँदैन’ भन्ने आउँछ ।
सन् २०१२ को डिसेम्बरपछि महिलामाथि हुने अपराधविरुद्ध भारत सरकारले देखाएको सक्रियताका बाबजुद पनि यस्तै हिंस्रक घटना भारतका मुख्य समाचार बन्दै आइरहेका छन् ।
भारतको सरकारी तथ्यांकअनुसार हरेक वर्ष हजारौँ महिला बलात्कृत हुने गर्छन् र यो संख्या बर्सेनि बढिरहेको छ ।
भारतीय प्रहरीको राष्ट्रिय अपराध रेकर्ड ब्युरोको तथ्यांकअनुसार सन् २०१८ मा ३३ हजार नौ सय ७७ बलात्कारका मुद्दा दर्ता भएका थिए, जुन औसतमा एक दिनमा ९३ मुद्दा हुन्छन् ।
‘तथ्यांकले कथाको एक भाग मात्र बताउँछ,’ अधिकारकर्मीहरू भन्छन्, ‘हजारौँ बलात्कार र यौन दुव्र्यवहारका घटना प्रहरीमा दर्ता नै हुँदैनन् ।’
भारतमा त्यस्ता धेरै पीडित महिला छन्, जो हिंसा र दुव्र्यवहारका घटना लिएर प्रहरीमा पुग्दैनन्, समाजले आफूलाई नै दोषी बनाउने भएकाले सामाजिक लाञ्छनाबाट डराउँछन् ।
धेरै महिलाले आफूमाथि भएका दुव्र्यवहारका घटना सार्वजनिक नगर्दा पनि भारतमा दैनिक अखबारमा यौन हिंसाका डरलाग्दा घटना आउँछन्, जसले भारतका महिला सुरक्षित छैनन् भन्ने प्रस्ट पार्छ ।
यस्ता जघन्य अपराधको सिकार आठ महिनाको बच्चा पनि हुन सक्छ, ७०–८० वर्षका महिला पनि । यी घटना जुनसुकै वर्ग, क्षेत्र, समुदायका महिलामाथि हुन्छ, उनीहरू सडक, विद्यालय, कार्यालय वा आफ्नै घरभित्र पनि सुरक्षित छैनन् ।
गत नोभेम्बरमा दक्षिणी क्षेत्र हैदराबादमा २७ वर्षीया भेटेनरी डाक्टरको सामूहिक बलात्कारपछि जिउँदै जलाएर हत्या गरियो । त्यसको केही दिनपछि उत्तर प्रदेशको उन्नावमा बलात्कर भएपछि दोषीविरुद्ध उजुरी दिन जान लागेकी महिलालाई जिउँदै जलाइयो । उनको तीन दिनपछि उपचारकै क्रममा मृत्यु भयो ।
भारतीय जनता पार्टीका विधायकलाई एक किशोरी बलात्कार गरेको आरोप लागेको थियो । पीडित महिलाले प्रहरीले उजुरी लिन नमानेको र पीडकसँग मिलेमतो गरेको आरोप लगाएकी थिइन् ।
प्रहरीले उनका बाबुलाई पक्राउ गरी हिरासतमा राखेको थियो, उनको त्यहीँ मृत्यु भयो । पछि ती युवतीले आत्महत्या गर्ने बताएपछि मात्रै प्रहरीले ती विधायकलाई पक्राउ ग¥यो र डिसेम्बरमा आरोपीलाई दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनायो । अदालतले फैसला गर्नुअघि सन् २०१९ को नोभम्बरमा ती किशोरीलाई कार दुर्घटना गराएर मार्ने प्रयास गरिएको थियो ।
यी सबै घटनाले अपराधमा गरिएको क्रूरता र शक्तिमा रहेका मानिसले कानुनमा जमाएको प्रभावले सरकारले बनाएको कडा कानुनप्रति महिलाको विश्वास निर्माण गर्न असफल भएको छ ।
केही मानिस छिटो र तुरुन्तै दिइने सजायले बलात्कारका घटना केही कम हुन सक्ने तर्क गर्छन् । तर, विश्लेषकहरू पितृसत्तात्मक सोचको अन्त्य नभएसम्म बलात्कारका घटना कम नहुने बताउँछन् ।
उनीहरू भन्छन्– परिवार र समुदायले महिलाका लागि सुरक्षित स्थान बनाउन आफ्नो भूमिका बुझ्नुपर्छ र ‘पुरुष पुरुष नै हुनेछ’ भन्ने ट्याग परिवर्तन गर्नुपर्छ ।
गत वर्ष भारत सरकारले स्कुलमा ‘जेन्डर सेन्सिटाइजेसन’ कार्यक्रम सुरु ग¥यो । यसबाट साना बच्चालाई महिलाको इज्जत गर्न सिकाइयो । सरकारका अनुसार बच्चालाई सानैदेखि महिलाको इज्जत गर्न सिकाउनुपर्छ, जसका कारण उनीहरू पछि गएर यस्ता अपराध गर्न निरुत्साहित बनून् ।
यस कार्यक्रमले महिलाप्रति पुरुषको दृष्टिकोणमा परिवर्तन निश्चित नै ल्याउँछ, तर यसको नतिजा आउन लामो समय लाग्न सक्छ । जबसम्म पुरुषको दृष्टिकोणमा परिवर्तन आउँदैन त्यसवेलासम्म महिला कसरी आफ्नो सुरक्षा गर्न सक्छन् ?
यसको उत्तर हुन्छ– हामी सधैँ जे गरिरहेका छौँ त्यही गरेर वा आफ्नो स्वतन्त्रतामाथि प्रतिबन्ध लगाएर ।
भारतीय कानुनअनुसार दिल्ली सामूहिक बलात्कारपीडितको नाम खुलाइएको थिएन । सञ्चारमाध्यममा पीडितको नाम ‘निर्भया’ राखेका थिए, जसको अर्थ ‘भय नभएको’ ‘डर नभएको’ थियो । तर, भारतका धेरै महिला आफूलाई यस्तो महसुस नहुने बताउँछन् ।
आफूलाई सुरक्षित राख्न हामी बाहिर जाँदा भद्र कपडा लगाउँछौँ, धेरै अबेरसम्म बाहिर बस्दैनौँ, बाटोमा हिँड्दा सधैँ पछाडि फर्किएर हेर्छौँ, गाडी चलाउँदा झ्याल बन्द गर्छौँ । कहिलेकाहीँ हामीले अपनाएका यी सुरक्षाका उपायले हाम्रो जीवन बचाउन सक्छन् ।
(बिबिसीबाट)