मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत ७ शुक्रबार ११:००:००
Read Time : > 1 मिनेट
नयाँCity

कांग्रेस प्रवक्ता शर्माको  कोरोना गीत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत ७ शुक्रबार ११:००:००

कांग्रेस नेता विश्वप्रकाश शर्मा घरमै केही सोचिरहेका थिए । केही नयाँ चिज फुर्छ कि भनेर घोरिइरहेका थिए । संसार कोरोनासँग जुधिरहेको थियो । नेपाल पनि त्यसबाट टाढा रहन सक्ने भएन । संसार किन कोरोनासँग यति धेरै आतंकित भइरहेको छ ? शर्माको दिमागमा यही प्रश्न घुमिरहेको थियो ।

आखिर जति कुरा भइरहेका छन्, मानवीय गल्तीले भएका छन् । कांग्रेस नेता शर्मालाई पनि भाइरसको उत्पत्तिमा मानवीय कारण नै प्रधान लाग्यो । र, उनी गीत लेख्न थाले । सँगसँगै कम्पोज पनि अगाडि बढाए । मध्यरात भयो, १ बज्यो र बिहान साढे ४ बज्दा गीत तयार भयो ।

उनलाई लाग्यो, कोरोनापछिको संसार रूपान्तरित बन्नेछ । कोरोनाअघि संसार हिंसा, प्रतिशोध र दुस्मनीबाट गुज्रिरहेको थियो– एउटा देशविरुद्ध अर्को देश, एउटा पार्टीविरुद्ध अर्को पार्टी, एक छिमेकीविरुद्ध अर्को छिमेकी । पूर्वाग्रह राखेर बाँचे, सबै । तर, अन्तिममा यस्तो चिज आयो, जसलाई कुनै क्षेप्यास्त्र र परमाणुले रोक्न सक्दैनथे ।
त्यसपछि फनन घुमिरहेको उनको दिमाग टक्क रोकियो– हामी मान्छेले मान्छेलाई माया गरौँ । यो प्रकृतिलाई, संसारलाई माया गरौँ । आखिर जति कुरा भइरहेका छन्, हाम्रै गल्तीले भएका छन् । उनी भन्छन्, ‘भाइरसको उत्पत्तिमा मानवीय कारण नै प्रधान छ ।’ र, उनी गीत लेख्न थाले । सँगसँगै कम्पोज पनि अगाडि बढाए । मध्यरात भयो, एक बज्यो र बिहान साढे ४ बज्दा गीत तयार भयो–

आऊ माया गरौँ, मान्छेले मान्छेलाई 
प्रकृतिलाई, संसारलाई माया गरौँ

कम्पोज तयार भएपछि विश्वप्रकाश आफ्नो सिर्जनात्मक कामको अड्डा साउन्ड डिजाइन स्टुडियो, नक्साल पुगे ।  एरेन्जर मनोहर सुनामलाई गीतबारे जानकारी गराए । रेकर्डिस्ट भोला पौडेललाई काम सुरु गर्न भने । र, पूर्ण संगीत तयार भयो । स्वर दिए, प्रमोद खरेल र शीतल मोक्तानले । डिजाइन स्टुडियोमा प्रमोद खरेललाई गीतको भाव, लय र स्केलबारे बताइरहेका विश्वप्रकाशले भने, ‘नाचिरहेको र पढिरहेका वेला मान्छे उही हुन्छ, तर पृथक पनि ।’

विश्वप्रकाशलाई सोधिएको थियो, ‘सर्जकको अवतारमा उनी आफूलाई कस्तो महसुस गर्छन् ?’ उनको जवाफ आउँछ, ‘मान्छे भौतिक कुरा भयो । ऊभित्र अमूर्त, चेतन, अवचेना कुरा हुन्छन् । आकांक्षा, आवेग, भावना, सन्तुष्टि, असन्तुष्टि, लोभ, मोह, क्रोध सबै हुन्छन् । यी भौतिक शरीरभित्रका अवयव हुन् । यस्तै अवयवमध्ये मेरो साहित्यिक र सांगीतिक अवतार पनि पर्छ ।’ आफूले यस गीत मनोवैज्ञानिक कोणबाट मानिस एकजुट हुन र मानवीय विपत्तिका कारण आउने समस्यासँग मिलेर लड्न उत्प्रेरित गर्न तयार गरेको उनी बताउँछन् ।