१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ चैत ७ शुक्रबार ०९:४७:००
Read Time : > 2 मिनेट
पालिका अपडेट

कोरोना त्रासले घर फर्किन थाले भारतमा रहेका नेपाली

त्रिनगर र गड्डाचौकी नाकामा घर फर्किनेको घुइँचो

Read Time : > 2 मिनेट
२०७६ चैत ७ शुक्रबार ०९:४७:००

कैलालीको गोदावरीका प्रेम रावल भारतको दिल्लीमा रहेको एक होटेलमा काम गर्थे । कोरोना भाइरसको प्रभावले होटेल बन्द भएपछि उनी बिहीबार घर फर्किएका छन् । ‘जताततै कोरोनाको त्रास मात्र सुनिन्छ, होटेल पनि बन्द भयो । त्यसैले घर फर्किएँ,’ धनगढीको त्रिनगर नाकामा भेटिएका उनले भने, ‘उता बेरोजगार बस्नुभन्दा घरमै सुरक्षित भइएला भनेर फर्किएको हुँ ।’ 

भारतको बैंग्लोरको एक होटेलमा १३ महिनादेखि काम गर्दै आएका डडेल्धुराका पदमबहादुर कार्की पनि कोरोना संक्रमणको भयले आफ्नै घर फर्किएका छन् । भारतमा कोरोना संक्रमण बढ्दै गएकाले सुरक्षाका लागि घर फर्किएको उनले बताए । कार्कीका अनुसार कोरोनाका कारण बैंग्लोरका ठूला होटेल बन्द भएका छन् । कोरोनाको त्रास नहटेसम्म भारत नफर्कने उनको सोच छ । ‘माहोल सामान्य बनेपछि फर्कनु पर्ला,’ नाकामै भेटिएका कार्कीले भने, ‘घरमै बसेर त परिवार पाल्न समस्या हुन्छ । रोजागरीका लागि भारत नगइहुँदैन ।’ 

 दुई नाकाबाट दैनिक आठ हजार जति फर्किन्छन् स्वदेश

रोजगारीका सिलसिलामा भारतका विभिन्न सहरमा रहेका नेपाली भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि धमाधम घर फर्कन थालेका छन् । हिजोआज सदूरपश्चिमका प्रमुख दुई नाका त्रिनगर र गड्डाचौकीबाट दैनिक सात–आठ हजार नेपाली स्वदेश फर्किरहेका सीमा नाकामा खटिएका सुरक्षा अधिकारीले बताए । फर्किने धेरैजसो कोरोनाको त्रास र कतिपय सुदूरपश्चिमको मौलिक पर्व बिसु मनाउन आएको पाइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक राजेन्द्र चन्दले जानकारी दिए ।

‘यो नाकाबाट दैनिक तीनदेखि पाँच हजारसम्म स्वदेश आइरहेका छन्,’ उनले भने, ‘त्रिनगर नाकाबाट दैनिक दुईदेखि तीन हजारसम्म नागरिक भित्रिन्छन् ।’ भारतबाट आउनेको स्वास्थ्य जाँचका लागि नाकामा हेल्थ डेस्क राखिएको छ । भारतबाट आएका सबैको ज्वरो जाँच्ने गरिएको डेस्ककी स्वास्थ्यकर्मी धनपति खडायतले बताइन् । ‘हिजो मात्र दुई हजारभन्दा बढीको स्वास्थ्य जाँच ग¥यौँ,’ उनले भनिन्, ‘कुनै पनि शंकास्पद पाएनौँ । सबैको स्वास्थ्य अवस्था सामान्य थियो ।’ 

 कोरोना संक्रमणले बेरोजगार बन्दै नेपाली

भारतका कतिपय सहरका होटेललगायत रोजगारीका क्षेत्र कोरोनाका कारण बन्द भएका छन् ।  होटेलसहितका कम्पनी बन्द हुँदा त्यहाँ कार्यरत हजारौँ नेपाली बेरोजगार बन्न थालेका पञ्जाबबाट फर्किएका डडेल्धुराका अनिराज पनेरुले बताए । ‘कोरोना सन्त्रासकै कारण मैले काम गर्ने होटेल पनि बन्द भयो,’ उनले भने, ‘त्यसैले कोरोनाको त्रास नसकिउन्जेल घरमै बस्ने सोचसहित फर्किएको हुँ ।’ पञ्जाबका धेरै होटेल, ठूला पसल बन्द भएका उनले बताए । 

मुम्बईबाट फर्किएका अछामका विकास धामीले केही समयपछि काममा आउनु भनेर होटेलले बिदा दिएपछि घर आएको बताए । ‘कोरोना संक्रमणको भयले होटेलमा ग्राहक आउनै छाडे । त्यसैले साहुले पनि हामीलाई बिदा दिए,’ उनले भने । मुम्बईमा फिल्म निर्माणसम्बन्धी अध्ययन गरिरहेका बैतडीका भरत रानाले कोरोना त्रासकै कारण क्याम्पसले बिदा दिएपछि घर फर्किएको बताए । ‘मुम्बईमा कोरोनाको त्रास धेरै छ । यता बिसु पर्व पनि मनाउन पाइने भएकाले घर फर्केको हुँ,’ उनले भने । 

भारतको दिल्लीसहितका सहरमा कोरोनाका बिरामी फेला परेका छन् । कोरोनाको संक्रमणबाट भारतमा अहिलेसम्म तीनजनाले ज्यान गुमाएका छन् । कोरोनाको संक्रमण बढ्दै गएपछि त्यहाँ कार्यरत नेपाली पनि त्रसित भएका छन् । 

 मुख्य नाकामा कडाइ

स्वदेश फर्कने नेपालीको संख्या बढेसँगै त्रिनगर र गड्डाचौकीमा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ । कोरोनाको संक्रमण भित्रिन नदिन भारतबाट फर्किने सबैको स्वास्थ्य जाँच अनिवार्य गरिएको प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बताए । ‘भारतका विभन्नि सहरमा संक्रमित भेटिएकाले त्यहाँबाट आउने नेपालीमा पनि संक्रमण हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्वास्थ्य जाँचलाई कडा गरेका छौँ,’ उनले भने । कोरोना संक्रमित भित्रिन सक्ने जोखिमलाई मध्यनजर गर्दै त्रिनगर नाकामा ‘आइलोसेन कक्ष’ पनि स्थापना गरिएको छ । धनगढी उपमहानगरपालिकाले आफ्नै भवनमा तीन शड्ढयाको आइसोलेसन कक्ष स्थापना गरेको हो । 

नाकामा रहेको हेल्थ डेस्कमा कोरोना जाँचका क्रममा शंकास्पद बिरामी भेटिए उपचारका लागि भन्सार कार्यालयको भवनको आइसोलेसन कक्षमा राखिने नगरप्रमुख नृपबहादुर बडले बताए । ‘शंकास्पद बिरामी भेटिए तुरुन्तै अस्पताल लैजाँदा होहल्ला र त्रास हुन्छ,’ उनले भने, ‘त्यसैले नाकामै आइसोलेसन कक्षमा राखेर उपचार गर्ने व्यवस्था मिलाएका छौँ ।’ सुदूरपश्चिमका प्रमुख दुई नाकामा कडाइ गरिए पनि सीमा क्षेत्रका अन्य नाकामा स्वास्थ्य जाँच फितलो हरेको स्थानीयले बताए ।