मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत ७ शुक्रबार ०९:४२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

कोभिड–१९ को महामारीसँग जुध्न एडिबीको पौने ८ खर्ब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत ७ शुक्रबार ०९:४२:००


एसियाली विकास बैंकले आफ्ना विकासशील सदस्य मुलुकलाई कोभिड–१९ को महामारीसँग जुध्न करिब पौने ८ खर्ब (साढे ६ अर्ब अमेरिकी डलर) को उद्धार प्याकेज घोषणा गरेको छ । एडिबीले घोषणा गरेको सहयोगमध्ये करिब सवा ४ अर्ब रुपैयाँ (३.६ अर्ब डलर) महामारीबाट सिर्जना हुने स्वास्थ्य तथा आर्थिक असरसँग लड्न प्रदान गरिने एडिबीले जनाएको छ ।

त्यस्तै, करिब १ खर्ब ९० अर्ब महामारीबाट प्रभावित लघु, साना तथा मझौला उद्यम, आन्तरिक तथा क्षेत्रीय व्यापार गर्ने कम्पनीहरूलाई प्रदान गरिनेछ । १ खर्ब १९ अर्ब रुपैयाँ एडिबीका चालू परियोजनामा भइपरी आउने खर्चका रूपमा रहने गरी सहुलियतपूर्ण स्रोतका रूपमा राखिएको पनि जनाएको छ । करिब पौने ४ अर्ब रुपैयाँ भने एडिबीले प्राविधिक सहयोग र तत्काल खर्च गर्नुपर्ने अनुदानका लागि छुट्याएको छ । 

‘यो महामारी अहिलेको संंसारको सबैभन्दा ठूलो संकट भएको छ, यसका लागि राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी रूपमा सशक्त कदम चालिनुपर्छ,’ एडिबीका अध्यक्ष मासात्सुगु आसाकावाले भने, ‘हाम्रा विकासशील सदस्य मुलुकहरू यो महामारीविरुद्ध जुध्न, यसबाट गरिब तथा कमजोर जनतालाई जोगाउन आक्रामक उपायहरू अवलम्बन गरिरहेका छन् ।’

आफ्ना सदस्य राष्ट्र र अन्य यस्तै संस्थाहरूसँगको छलफलपछि तत्कालको आवश्यकता पूर्तिका लागि साढे ६ अर्ब डलर घोषणा गरेको  पनि अध्यक्ष आसाकावाले बताए । कोभिड–१९ को संक्रमण फैलिएपछि एडिबीले आफ्ना सदस्य राष्ट्रका सरकार तथा व्यवसायीलाई करिब पौने २७ अर्ब रुपयाँबराबर सहयोग गरेको पनि जानकारी दिएको छ ।