१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
प्याट्रिक गाथारा
२०७६ चैत ७ शुक्रबार ०९:२०:००
Read Time : > 2 मिनेट
पालिका अपडेट

कोभिड–१९ लाई हराउन अफ्रिकाले बस्ती जलाउनुपर्दैन

युरोपको यात्रालाई निषेध गरेर महामारी रोक्न खोज्नु घर जलाएर महामारी नियन्त्रण गर्नुजस्तै अमानवीय देखिन्छ

Read Time : > 2 मिनेट
प्याट्रिक गाथारा
२०७६ चैत ७ शुक्रबार ०९:२०:००

अप्रिल, १९१४ जब युरोप युद्धतिर उन्मुख हँुदै थियो, सेनेगलको राजधानी डकार बुबोनिक प्लेगको महामारीबाट गुज्रिरहेको थियो । एक वर्षभित्र प्लेगका कारण १५ प्रतिशत सहरवासी मारिएका थिए । रोग नियन्त्रणमा लिन फ्रेन्च कोलोनियल प्रशासनले आवत–जावतमा रोक लगाउने, क्वारेन्टाइन क्याम्प बनाउने, जबर्जस्ती सुई लगाउने र बस्तीहरू जलाउनेजस्ता कदम चालेको थियो । यो सन् १९५५ देखि १९५९ सम्म विश्वभरि फैलिएको तेस्रो प्लेगको महामारी थियो । अन्य उपनिवेशमा पनि महामारी नियन्त्रण गर्न यस्तै गरिन्थ्यो ।

युरोपियनको आगमनसँगै अफ्रिकामा प्लेग देखिएको थियो । अफ्रिकी जनता प्लेग र यसको परिणामबारे अनभिज्ञ थिए । यद्यपि कोलोनियल प्रशासकहरू यसको गम्भीरताका विषयमा जानकार थिए । यसले अफ्रिकी कामदारको युरोपमा निर्यात तथा अफ्रिकाको स्थानीय उत्पादन एवं कोलोनियल अर्थतन्त्रमै असर पार्न सक्थ्यो । तर, महामारी नियन्त्रण गर्न तिनले अपनाएको विधि अफ्रिकामा अलोकप्रिय मात्र भएन, स्थानीयले यसको नियन्त्रणमा असहयोग पनि पु-याए  । रोगको सूचना तिनले प्रशासनलाई दिन छाडे । किनकि, प्रशासनले थाहा पाए तिनको घरै जल्ने थियो । शताब्दीपछि अहिले विश्व फेरि भयानक महामारीबाट गुज्रिरहेको छ । 

डिसेम्बर अन्त्यतिर चीनमा देखिएको कोभिड–१९ भाइरसले विश्वभर फैलिँदै हजारौँको ज्यान लिएको छ भने ठूलो स्तरमा आर्थिक संकट निम्त्याउँदै छ । धैरै मुलुकले अन्तर्राष्ट्रिय  आवागमन ठप्प पारेका छन् । अमेरिकाले पनि युरोपको हवाई उडान रद्द गरेको छ । अफ्रिकी सरकार पनि अफ्रिकामा भाइरस छिर्न नदिन सजग छन् । सुरुवातमा सबैलाई चीनबाट भाइरस छिर्छ कि भन्ने त्रास थियो । सर्वसाधारण र प्रशासन सबै चीनसँग सजग थिए । तर, भाइरस अर्को दिशाबाट छिर्न पुग्यो । 

यो साता झन्डै १८ अफ्रिकी मुलुकमा कोरोना भाइरस संक्रमण देखियो । अधिकांश संक्रमण इजिप्टबाहिर छन् र ती सबै युरोपबाट भित्रिएका छन् । पछिल्लोपटक बुकिनो फासोका एक संक्रमित जोडीलाई क्वारेन्टाइनमा राखिएको छ, उनीहरू भर्खरै फ्रान्सबाट फर्किएका हुन् । नाइजेरियामा एक ४४ वर्षीया इटालेलीले भाइरस ल्याएका थिए  भने क्यामरुन र टोगोमा समेत युरोपबाट आउनेले ल्याएका थिए । डब्लुएचओले  अहिले युरोपलाई महामारीको केन्द्रका रूपमा तोकेको छ, चरम संक्रमणबाट चीन गुज्रिरहेको वेलाभन्दा अहिले त्यहाँ दैनिक अत्यधिक संक्रमित बढिरहेका छन् । 

अफ्रिकाले सिंगापुर र दक्षिण कोरियाजस्ता एसियाली मुलुकबाट पाठ सिक्न सक्छ । तिनले ठूलो मात्रामा निःशुल्क परीक्षण र जनचेतनामूलक कार्यक्रम अघि सारेका छन्, भेटेजति संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरेका छन् ।

अफ्रिकाको युरोपसँग इतिहासदेखिकै लामो सम्बन्ध छ । त्यसैले युरोपको यात्रालाई निषेध गरेर महामारी रोक्न खोज्नु, घर जलाएर महामारी नियन्त्रण गर्नुजस्तै अमानवीय देखिन्छ । युरोपबाट अफ्रिका भित्रने यात्रुको संख्या कुल एसिया र मध्यपूर्वबाट भित्रिने यात्रुको भन्दा दोब्बर हुने गर्छ । युरोपेली पर्यटकले मात्र केन्यामा लाखौँ रोजगारीको अवसर सिर्जेका छन् । यद्यपि युगान्डाजस्ता कतिपय मुलुकले युरोपसँग हवाई सेवा बन्द गरिसकेका छन् । केन्याले पनि त्यस्तै गर्दै छ । यसले यस क्षेत्रको अर्थतन्त्र नै प्रभावित पार्नेछ । 

प्रश्न यो छ कि अफ्रिकाले कहिलेसम्म, युरोपसँगको हवाई सेवा बन्द गरिरहन सक्छ ? हुन त विश्व पर्यटनमा अफ्रिकाको हिस्सा न्यून छ । अफ्रिकी महादेशको कुल जिडिपीको ८.५ प्रतिशत हिस्सा र २४ मिलियन रोजगारी पर्यटनले दिएको छ । अहिले ११५ मुलुकमा कोरोना भाइरस देखिएको छ, केन्याका यातायातमन्त्रीले भनिसकेका छन्– यी सबै मुलुकमा यातायात बन्द गर्न असम्भव छ । डब्लुएचओले यसलाई विश्वव्यापी महामारीका रूपमा लिँदै नियन्त्रण प्रयास असफल भएको सकारिसकेको छ । यही साता यसले नियन्त्रणभन्दा संक्रमितको उपचार गर्न र खोप निर्माणतिर जोड दिइसकेको छ । 

विभेदकारी ढंगबाट आवागमन निषेध गर्दा अफ्रिकी महादेशको जीविकोपार्जनमै संकट उत्पन्न हुन सक्छ । यसमा सावधान रहनुपर्छ । यसको अर्थ कोरोना भाइरसको बेवास्ता गर्नुपर्र्छ भन्ने पनि होइन । बरु अफ्रिकाले भाइरस परीक्षण क्षमता विस्तार गर्नुपर्छ । अनि कतिपय मुलुकले  अपनाइरहेको जनचेतनामूलक अभियानमा जोड दिनुपर्छ । संक्रमितको तत्काल उपचार गर्नुपर्छ । आममानिसको सरकारप्रतिको विश्वास गिर्न दिनु हुन्न ।

अफ्रिकाले सिंगापुर र दक्षिण कोरियाजस्ता एसियन मुलुकबाट पाठ सिक्न सक्छ । तिनले ठूलो मात्रामा निःशुल्क परीक्षण र जनचेतनामूलक कार्यक्रम अघि सारेका छन् । भेटेजति संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरेका छन् । त्यहाँ इटालीमा जस्तो सहर नै ‘लकडाउन’ गर्नुपर्ने स्थिति आउन दिएका छैनन् । हो, अफ्रिकाले पनि कोभिड–१९ लाई परास्त गर्न सक्छ, यसका लागि घर र बस्ती जलाइरहनुपर्दैन । 

(गाथारा केन्याली लेखक तथा सुप्रसिद्ध कार्टुनिस्ट हुन्)

अलजजिरा डटकमबाट