मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ माघ ७ सोमबार १७:००:००
Read Time : < 1 मिनेट
समाचार

पोलिमार नोट भ्रष्टाचारमा पूर्व गर्भनर रावलसँग १० लाख धरौटी माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ७ सोमबार १७:००:००

पोलिमार नोट छपाईमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएका नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. तिलक रावलसँग विशेष अदालतले १० लाख रुपैयाँ धरौटी माग गरेको छ । धरौटी बुझाएर उनी रिहा भएका छन् । डा रावल सोमबार विशेष अदालतमा उपस्थित भएका थिए ।

गत ५ पुसमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो  । नोट छपाइमा २ करोड ७३ लाख भ्रष्टाचार भएको ठहर गर्दै जनही ९१ लाख ९ हजार बिगो कायम गरी रावलसहित राष्ट्र बैंकको नोट विभागका तत्कालीन प्रमुख उपेन्द्रकेशरी पौडेल र ‘नोट प्रिन्टिङ अस्ट्रेलिया’का नेपाली प्रतिनिधि हिमालयबहादुर पाँडेविरुद्ध मुद्दा दायर भएको थियो ।

आर्थिक वर्ष ०५८/५९ मा अस्ट्रेलियाको केन्द्रीय बैंक मातहतको ‘नोट प्रिन्टिङ अस्ट्रेलिया’मार्फत १० रुपैयाँ दरका ५ करोड थान नोट छापिएको थियो । मिलेमतोको आधारमा सो कम्पनीलाई ठेक्का दिइएको र कमसल नोट छपाइ गरेको अख्तियारको अभियोग छ । कम गुणस्तरको भएकै कारण ती पोलिमर नोट हाल प्रयोगमा छैनन् । प्रतिहजार नोट छपाइका लागि ६८ अस्ट्रेलियन डलर लाग्नेमा पछि ४ डलर बढाएर बोलपत्र गरिएको थियो ।   

छपाइको क्रममा नेपाल राष्ट्र बैंकले नोट प्रिन्टिङ अस्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिएको, सञ्चालक समितिका निर्णय चुहाएको र जर्मन कम्पनीसँगको नोट छाप्ने साँचो नोट प्रिन्टिङ अस्ट्रेलियालाई हस्तान्तरण गर्न लगाएको आयोगको दाबी छ ।

नेपाल राष्ट्र बैंक र नोट प्रिन्टिङ अस्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधिबीच निरन्तर पत्राचार भएको, छापिएका नोटका कमीकमजोरी मिडियामा नल्याउन मिडियाकर्मीहरूलाई थाइल्यान्ड हुँदै अस्ट्रेलिया पठाउनुलाई समेत आयोगले भ्रष्टाचारको आधार मानेको छ । बोलपत्रअघि नै नोटको डिजाइन गर्न लगाउनुले पनि मिलेमतो प्रस्ट भएको  भन्दै मुद्दा दायर भएको थियो ।