मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ चैत ६ बिहीबार १०:११:००
Read Time : > 1 मिनेट
खेलकुद

विजेता र उपविजेताले पाएनन् पुरस्कार रकम

Read Time : > 1 मिनेट
२०७६ चैत ६ बिहीबार १०:११:००

गण्डकी प्रदेश मुख्यमन्त्री कप

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा गत माघ दोस्रो साता सम्पन्न गण्डकी प्रदेश मुख्यमन्त्री कप फुटबल प्रतियोगिताका विजेताले अझै पुरस्कार रकम पाएका छैनन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट उद्घाटन र पुरस्कार वितरण गराएको प्रतियोगिताको पुरस्कार रकम वितरण गर्न एन्फाले ढिला गरेको हो । १४ माघमा पोखरामा भएको प्रतियोगिताको फाइनल खेलमा स्थानीय आदर्श युथ क्लबलाई २–० ले पराजित गर्दै लमजुङको त्रिवेणी क्लबले उपाधि जितेको थियो ।

त्यसअनुसार विजेता त्रिवेणीले पाँच लाख र उपविजेता टोली आदर्श युवाले तीन लाख प्राप्त गर्नुपर्ने हो । तर, प्रतियोगिता सकिएको ५० दिन बितिसक्दासमेत विजेता र उपविजेता दुवै टोलीले पुरस्कार रकम पाएका छैनन् । पुरस्कार रकम माग्न जाँदा विभिन्न बहाना मात्रै सुनेर फर्किनुपरेको आदर्श युथ क्लबका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारी गुनासो पोख्छन् ।

‘आज दिउँला, भोलि दिउँला भन्दाभन्दै दुई महिना बित्न लागिसक्यो । पुरस्कार रकम माग्न जाँदा पैसा उठेको छैन, यसले पैसा दिएन जस्ता बहाना मात्रै सुन्नुपर्छ,’ अध्यक्ष भण्डारीले नयाँ पत्रिकासँग भने, ‘कसले पैसा दियो–दिएन भन्ने हामीलाई सरोकार नै भएन । आयोजकले दिन्छु भनेको पुरस्कार रकम समयमै दिनुपर्ने हो । आयोजकले दिने पुरस्कारभन्दा बढी रकम खर्च गरेर हामी प्रतियोगिता खेल्न गएका थियौँ । त्यही रकम पनि समयमै नपाउनु दुःखद हो ।’

प्रतियोगिता संयोजकसमेत रहेका आयोजक एन्फाका उपाध्यक्ष कृष्ण थापाले गण्डकी प्रदेश सरकारबाट आउनुपर्ने रकम पूरा आइनसकेकाले नै पुरस्कार रकम दिन नसकेको बताए । ‘प्रतियोगिता सञ्चालन गर्न सहयोगस्वरूप गण्डकी प्रदेशले ४० लाख रकम दिने सहमति गरेको हो । त्यसमध्ये पहिलो किस्तामा २० लाख रकम ल्याएर खर्च पनि भइसकेको छ,’ उपाध्यक्ष थापाले भने, ‘बाँकी २० लाख अझै आउन बाँकी छ । रकमका लागि हामी पनि सामाजिक विकास मन्त्रालय धाइरहेका छौँ । तर, केही प्रक्रिया बाँकी रहेकाले आइसकेको छैन । यही रकम रोकिँदा पुरस्कार रकम दिन ढिला भएको हो ।’ लिगकम नकआउट आधारमा सञ्चालन गरिएको सो प्रतियोगितामा गण्डकी प्रदेशअन्तर्गत ११ मध्ये नौ जिल्लाबाट एक–एक टोलीले सहभागिता जनाएका थिए । 

प्रदेश समितिलाई ‘बाइपास’ 

एन्फाले प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगिता सुरु गर्नुअघि आफ्नो प्रदेश समिति गठन गरेको थियो । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा आफैँ उपस्थित भेलाले गत २७ कात्तिकमा धर्म लामिछानेको अध्यक्षतामा प्रदेश समिति गठन गरेको थियो ।

तर, समिति गठन भएको तीन महिनापछि प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्दा एन्फाले आफैँले गठन गरेको प्रदेश समितिलाई बाइपास ग¥यो । प्रतियोगिता सञ्चालनका लागि एन्फाले आफ्ना उपाध्यक्ष कृष्ण थापाको संयोजकत्वमा छुट्टै समिति गठन गर्‍यो । 

यस्तै, केन्द्रीय सदस्य रत्नमान श्रेष्ठलाई समिति सहसंयोजक र आर्थिक अनियमितताको आरोप लागेका जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको थियो । प्रतियोगिताको उद्घाटन समारोहमै प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे)ले कोषाध्यक्ष मिलनलाई मञ्चमै थप्पड हानेका थिए । त्यससँगै ठगी र आर्थिक अनियमितता गरेको उजुरी परेपछि कोषाध्यक्ष मिलन पक्राउ परेका थिए । उनी हालै मात्र धरौटीमा छुटेका छन् ।

अध्यक्ष लामिछानेले प्रदेश समितिलाई केन्द्र आफैँले निकम्मा बनाउने काम गरेको आरोप लगाए । ‘केन्द्रीय अध्यक्ष आएरै प्रदेश समिति गठन गरिएको हो । तर, प्रतियोगिता सञ्चालन गर्दा समितिलाई कुनै जानकारी नै दिइएन,’ अध्यक्ष लामिछाने प्रश्न गर्छन्, ‘प्रदेशस्तरीय प्रतियोगितासमेत केन्द्रले नै सञ्चालन गर्ने हो भने प्रदेश समिति केका लागि ? प्रदेश अध्यक्षका रूपमा मलाई प्रतियोगिताको तयारीका लागि मात्रै हैन, प्रतियोगिताका दौरान एकपटक पनि बोलाइएन । केन्द्रले हामीलाई बेवकुफ बनाउने काम गरेको छ ।’ उनले आर्थिक लाभ लिने उद्देश्यले केन्द्रबाटै ‘सेटिङ’मा समिति गठन गरिएको आरोपसमेत लगाए ।