Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नवराज मैनाली काठमाडाैं
२०७६ चैत ६ बिहीबार ०९:३७:००
Read Time : > 4 मिनेट
मुख्य समाचार

हाई अलर्ट : अन्तर्राष्ट्रिय उडान रद्द, २५ जनाभन्दा बढी जम्मा हुन नपाइने, विद्यालयदेखि विश्वविद्यालय बन्द

Read Time : > 4 मिनेट
२०७६ चैत ६ बिहीबार ०९:३७:००

५५ मुलुकका यात्रुलाई नेपाल प्रवेशमा रोक, तर चीन, भारत, थाइल्यान्ड, सिंगापुर र अमेरिकाबाट आउन बन्देज छैन 

कोरोना रोकथामको उपायस्वरूप सरकारले कोरोना प्रभावित ५५ मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी क्षेत्रका देशहरू, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने तथा ती मुलुकलाई ट्रान्जिट बनाएर अन्य जुनसुकै मुलुकबाट आउने यात्रीलाई शुक्रबारदेखि नेपाल आगमनमा रोक लगाएको हो । यो बन्देज १७ वैशाख ०७७ सम्म लागू हुनेछ । यी मुलुकमा रहेका नेपाली पनि सो अवधिसम्म स्वदेश फर्कन पाउने छैनन् ।

तर, कोरोनाबाट प्रभावित चीन, भारत, थाइल्यान्ड, सिंगापुर, अस्ट्रेलिया र अमेरिकी मुलुकबाट नेपाल आउन भने बन्देज छैन । चीन र भारतबाट उपभोग्य वस्तु पनि आयात गर्नुपर्ने हुनाले आवागमन ठप्प गर्न अव्यावहारिक हुने सरकारी स्रोतको तर्क छ । तर, सिंगापुर र थाइल्यान्डबाट आउन रोक लगाउन नसकेको विषयमा सरकारसँग स्पष्ट जवाफ छैन । अमेरिकी मुलुकका यात्रु पनि सिंगापुर, थाइल्यान्ड र चीनलाई ट्रान्जिट बनाएर नेपाल आउन पाउनेछन् । तर, हङकङबाहेक चीनका अन्य सहरलाई ट्रान्जिट बनाएर यात्रुहरू नेपाल आउन यो अवधिमा सम्भव छैन । किनकि चीनका सबै एयरलाइन्सले १५ चैतसम्मका सबै उडान रद्द गरेको सूचना पठाएको प्राधिकरणले जनाएको छ । नेपाल एयरलाइन्सले भने हङकङ, बैंकक र दिल्ली उडान जारी राखेको छ । 

खाडी र खाडीको बाटोबाट आउने यात्रुलाई बन्देज लागेपछि शुक्रबारदेखि अन्तर्राष्ट्रिय विमानस्थल भने ठप्पजस्तै हुनेछ । अधिकांश एयरलाइन्सले उडान रद्द गर्ने सूचना विमानस्थल कार्यालयलाई पठाइसकेका छन् । ‘सरकारको निर्णयपछि नेपालीसमेत आउन रोकिने भएकाले विमानस्थल ठप्पजस्तै हुनेछ,’ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने । 

१८ वैशाखसम्म फिल्महलदेखि डिस्को र डान्सबार बन्द, २५ जनाभन्दा धेरै एकैठाउँ जम्मा हुन नपाउने

सरकारले फिल्महल, डिस्को, डान्सबार, जिम, रंगशाला, स्विमिङपुल पनि बन्द गर्ने निर्णय गरेको छ । यी स्थानहरू अहिलेलाई १८ वैशाखसम्म बन्द गर्ने निर्णय भएको छ । निर्णय कार्यान्वयन भए–नभएको गृह र पर्यटन मन्त्रालय तथा स्थानीय तहले अनुगमन गर्नेछन् । 

  • कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठक

सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा धेरै भेला हुन नदिने निर्णय पनि गरेको छ । अत्यावश्यक कामबाहेकको अवस्थामा घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ । त्यस्तै, होटेल, रेस्टुरेन्ट तथा सपिङमलमा हात सफाइ गर्ने सामग्रीको व्यवस्था गर्नसमेत समितिले निर्देशन दिएको छ । बैठकले कोरोनाबारे अफवाह फैलाउनेलाई पक्राउ गरेर कारबाही गर्ने निर्णय गरेको छ । 

एसइई स्थगित, शैक्षिक संस्था बन्द गर्ने सरकारको निर्णय, तर बिहीबारको परीक्षा भने चलाउने त्रिविको तयारी

सरकारले विद्यालय, सिटिइभिटीदेखि विश्वविद्यालयसम्मका पठनपाठन र परीक्षा स्थगित गरेको छ । बिहीबारबाट सुरु हुने एसइर्ई परीक्षा केही घन्टाअघि मात्रै स्थगित गर्ने निर्णय भएको हो । यस वर्षको एसइईका लागि देशभरि एक हजार नौ सय ९५ परीक्षा केन्द्र कायम गरिएको थियो । परीक्षामा कुल चार लाख ८२ हजार दुई सय १९ विद्यार्थी सहभागी हुँदै थिए । विद्यालय तहमा पढ्ने उमेर समूहका ७० लाख बालबालिका अब कम्तीमा तीन साता घरमै बस्नेछन् । 

तर, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले भने विश्वविद्यालयले पूर्वनिर्धारित गरेको बिहीबारको परीक्षा सञ्चालन हुने बताएका छन् । उपकुलपति बाँस्कोटाले भने, ‘बिहीबारको परीक्षा हुन्छ, त्यसपछि के गर्ने बैठक बसेर निर्णय गर्छौँ ।’ सरकारले विश्वविद्यालयका परीक्षासमेत बन्द गर्ने निर्णय गरे पनि विश्वविद्यालय स्वायत्त संस्था भएकाले आफ्नो निर्णय गर्ने बताए ।

परीक्षा केन्द्रमा पुग्न परीक्षा

  • बिहीबारबाट सुरु हुने भनिएको एसइईमा सहभागी हुन म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जास्थित जनकल्याण माविका विद्यार्थी हिउँको बाटो छिचोलेर परीक्षा केन्द्रतर्फ जाँदै । हेम मावि सिवाङमा रहेको परीक्षा केन्द्र पुग्न उनीहरूले आठ घन्टा हिउँमा यात्रा गरेका हुन् । हिमपातले बाटो पुरिएपछि जोखिमपूर्ण यात्रा गर्नुपरेको छ । तस्बिर : कमल खत्री

युनिसेफ भन्छ– नेपालका आधाभन्दा बढी नागरिकसँग साबुनपानीले हात धुने सुविधा वा अभ्यास छैन

सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट जोगिन साबुनपानीले राम्रोसँग हात धुन सल्लाह दिँदै आएको छ । तर, नेपालका आधाभन्दा बढी नागरिकमा साबुनपानीले हात धुने सुविधा नभएको संयुक्त राष्ट्रसंघीय बाल विकास कोष (युनिसेफ)ले जनाएको छ । 

युनिसेफले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालको सहरी क्षेत्रमा समेत धेरै मानिसमा साबुनपानीले हात धुने सुविधा छैन । सहरी क्षेत्रका ३३ प्रतिशत मानिसमा साबुनपानीले हात धुने अभ्यास नभएको युनिसेफले जनाएको छ । 

सर्वसाधारणका घरमा मात्रै होइन, स्वास्थ्य संस्थामा पनि साबुनपानी उपलब्ध छैन । नेपालका ५४ प्रतिशत स्वास्थ्य संस्थाका बिरामी जाँच्ने स्थानमा हात धुने सुविधा नभएको युनिसेफको तथ्यांक छ । स्वास्थ्य संस्थाका बहिरंग विभागमा कीटाणुनाशक तत्व ५९ प्रतिशत मात्र उपलब्ध छ । त्यस्तै, सुत्केरी गराउने कक्षहरूमा पनि ६९ प्रतिशत मात्र रहेको युनिसेफले जनाएको छ । 

युनिसेफका अनुसार विश्वका तीन अर्ब मानिसका घरमा साबुनपानीले हात धुने सुविधा छैन । संसारभर हरेक पाँचमध्ये दुईजनामा हात धुने सुविधा नभएको उसको तथ्यांक छ । अफ्रिकाको सहारा उपमहाद्वीपको सहरी क्षेत्रमा बस्ने ६३ प्रतिशत जनसंख्या अर्थात् २५ करोड ८० लाखमा हात धुने आधारभूत सुविधा छैन । दक्षिण अफ्रिकामा ४७ प्रतिशत जनसंख्या अर्थात् एक करोड ८० लाख मानिसको घरमा हात धुने सुविधा उपलब्ध छैन । 

विश्वमा १६ प्रतिशत अर्थात् ६ मध्ये एक स्वास्थ्य संस्थाको बिरामी जाँच्ने स्थानमा योग्य शौचालय वा हात धुने व्यवस्था छैन । संसारका धेरै ठाउँका बालबालिका, अभिभावक, शिक्षक, स्वास्थ्यकर्मी तथा समुदायका अन्य सदस्यलाई घर, स्वास्थ्य संस्था, विद्यालय र अन्यत्र हात धुने आधारभूत सुविधा उपलब्ध नभएको युनिसेफले जनाएको छ । विश्वका ४५ प्रतिशत विद्यालयमा साबुनपानीले हात धुने सुविधा नभएका कारण विद्यालय जाने उमेरका ९० करोड बालबालिका प्रभावित भएका छन् । संसारभरका एकतिहाइ विद्यालय तथा अति कम विकसित राष्ट्रका आधाजसो विद्यालयमा बालबालिकालाई हात हुने ठाउँ नै उपलब्ध छैन ।

खाद्यान्नको माग ३५ प्रतिशत बढ्यो, मूल्य आकासियो

बजारमा खाद्यान्नको माग बढेसँगै मूल्य आकासिएको छ । खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार चिनी प्रतिकिलो पाँच रुपैयाँ बढेर ८५ रुपैयाँ पुगेको छ । त्यस्तै, नयाँ चामल बोरामा ५० देखि सय रुपैयाँसम्म बढेको छ । बोराको एक हजार पाँच सय ५० देखि एक हजार ६ सय ५० रुपैयाँसम्म पर्ने जिरा–मसिनो चामलको मूल्य एक हजार सात सय ५० रुपैयाँ पुगेको छ । अधिकतम एक सय ५० रुपैयाँ प्रतिकिलो रहेको मासको दालको मूल्य एक सय ७० रुपैयाँ पुगेको छ । नेपाली मुसुरोको दालमा पाँच रुपैयाँ बढेर एक सय ३० पुर्‍याइएको छ । त्यस्तै, मुगको छाँटा एक सय ५० रुपैयाँ प्रतिकिलोबाट बढेर एक सय ६० रुपैयाँ पुगेको छ । अध्यक्ष श्रेष्ठका अनुसार बजारमा खाद्यान्नको माग ३५ प्रतिशतले बढेको छ ।

पेट्रोलियमको आपूर्ति बढ्यो तैपनि पम्पमा लाइन घटेन

काठमाडौं उपत्यकामा सामान्य अवस्थामा पेट्रोल पाँच सय किलोलिटर र डिजेल सात सय किलोलिटर खपत हुने गर्छ । तर, पछिल्लो एक सातायता निगमले निरन्तर मागभन्दा बढी पेट्रोल र डिजेल बजारमा पठाएको दाबी गरेको छ । निगमको थानकोट डिपो प्रमुख बिनिमणि उपाध्यायका अनुसार मंगलबार पेट्रोल एक हजार एक सय ६९ किलोलिटर र डिजेल एक हजार चार सय ११ किलोलिटर वितरण भएको छ । तर, सामान्य अवस्थाको मागभन्दा दोब्बर आपूर्ति हुँदा पनि पम्पहरूमा लाइन भने घटेको छैन । उपभोक्ताले तेल जगेडा राख्न अतिरिक्त भाँडोमा भरेर पनि लैजान थालेका छन् ।