१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ५ बुधबार २०:४१:००
Read Time : > 2 मिनेट
समाचार

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणपछि बसेकाे नेकपा बैठकका पाँच फरक दृश्य

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ५ बुधबार २०:४१:००

नेकपा केन्द्रीय सचिवालयको बैठक बुधबार अपरान्ह सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण (२१ फागुन) भएपछिको यो पहिलो बैठक थियो । 

यसअघि नेकपा सचिवालयको बैठक १८ फागुनमा भएको थियो । प्रधानमन्त्री ओलीले २१ फागुनमा आफूले मिर्गौला प्रत्यारोपण गर्न लागेको जानकारी गराउन सो बैठक डाकेका थिए । 

मंगलबार भएको अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्ड’ बीचको छलफलपछि आजको बैठक डाकिएको थियो । प्रधानमन्त्री ओलीको दोस्रो मिर्गौला प्रत्यारोपणपछिको यो बैठक अन्य बैठक भन्दा केही अर्थमा भिन्न रहे । 

ओली–प्रचण्डको फरक कुर्सी 
केही महिनाअघिका सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीका लागि बैठक कक्षमा छुट्टै कुर्सी राखिएको हुन्थ्यो । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने सचिवालयका बाँकी सदस्यहरुसँगै सोफामा बस्ने गरेका थिए । सरकारी निवासमा आयोजित बैठकमा ‘अर्का अध्यक्ष प्रचण्डलाई होच्याएजस्तो देखिने गरी सिट व्यवस्थापन गरेको’ भन्दै पार्टीभित्र ओलीको आलोचना हुन थालेपछि मंसिरयता ओली–प्रचण्डका लागि बालुवाटारमा सँगै रहने गरी सिटको व्यवस्थापन गरिएको थियो । 

तर, मिर्गौला प्रत्यारोपणका कारण नजिकै मानिस रहँदा संक्रमण हुनसक्ने भन्दै चिकित्सकहरुले सचेत गराएका कारण आजको बैठकमा पहिलेजस्तै गरी ओली–प्रचण्ड भिन्दाभिन्दै बसे । प्रधानमन्त्री समेत रहेका ओलीका लागि बैठक कक्षको सबैभन्दा अघिल्तिर छुट्टै विशेष सिटको व्यवस्था गरिएको थियो भने प्रचण्ड स्थायी समितिका अन्य सदस्यहरुसँगै बसेका थिए । 

ओली–प्रचण्डबीचको दुरी ६ फिट
सचिवालयका एक सदस्यका अनुसार चिकित्सकहरुले ओलीलाई सकभर अन्य मानिसहरु भन्दा ६ फिट परै रहन सुझाव दिएका छन् । त्यसैले, बुधबारको बैठकमा पनि यही दुरी कायम गरियो । ‘चिकित्सकहरुले ६ फिट दुरी कायम गर्न भने अनुसार आजको बैठकमा अध्यक्षद्वयबीचको दुरी पनि त्यति नै कायम गरिएको थियो’ सचिवालयका एक सदस्यले नयाँ पत्रिकासँग भने, ‘अध्यक्षद्वयको सिट फरक फरक स्थानमा रहनुको कारण पार्टीमा पछिल्लो समय देखिएको विवादको कुनै भूमिका छैन ।’

आजको बैठकमा प्रचण्ड ओलीको देब्रेतिर रहेको सिटमा बसेका थिए भने उनको साथमा क्रमैसँग क्रमैसँग पूर्व माओवादी तर्फका नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा थिए । ओलीको दाहिनेतिरको सिटमा चाहिँ पूर्व एमालेतर्फका नेताहरु क्रमैसँग झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल रहेका थिए । यसपटक सचिवालय सदस्यहरु सिटमा बस्दा पहिलेको बैठकमा भन्दा अलिक बढी दुरी कायम गरेर बसेका थिए । 

सबैको मुखमा मास्क 
आजको बैठकको प्रमुख एजेण्डा थियो, कोरोना भाइरसका सम्बन्धमा छलफल र प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्नु । बैठकको निर्णय अनुसार नै ओलीको स्वास्थ्यलाभको कामना गरिएको र कोरोना भाइरस नियन्त्रण गर्न सरकारले चालेका कदमको बैठकले प्रसंशा र त्यसलाई सघाउने निर्णयपनि गर्यो । 

मिर्गौला प्रत्यारोपणपछि डिस्चार्ज हुँदा होस् वा त्यसपछिका भेटघाट– सार्वजनिक भएका तस्बिरमा प्रधानमन्त्री ओलीले मास्क प्रयोग गरेको देखिएको थिएन । तर, आजको बैठकमा सहभागी सबै नेताले मास्क प्रयोग गरेका थिए । दुई घण्टासम्म चलेको बैठकपछि निर्णय सुनाउँदा पनि प्रवक्ता नारायणकाजी श्रेष्ठले मास्क प्रयोग गरेका थिए । यसअघि १८ फागुनमा बसेको बैठकमा चाहिँ सचिवालय सदस्य वामदेव गौतमले मात्र मास्क प्रयोग गरेको देखिएको थियो । 

मुख्य निर्णय सार्वजनिक गर्न हिच्किचाहट 
विश्वव्यापी संक्रमणको रुप लिएको कोरोना भाइरसबारे निर्णय र प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्न बोलाइएको आजको बैठकको सबैभन्दा महत्वपूर्ण निर्णय हो, एसइई स्थगित गर्न सरकारलाई दिएको निर्देशन । बैठक लगत्तै सचिवालय सदस्य समेत रहेका ‘कोभिड–१९ (कोरोना भाइरस) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय नियन्त्रण समिति’ का संयोजक ईश्वर पोखरेलले एसइई परीक्षा स्थगित गरिएको जानकारी सञ्चारमाध्यमहरुलाई दिएका थिए । 

खासमा नेकपा सचिवालय बैठकले एसइई स्थगित गनुपर्ने सुझाव (निर्णय) दिएपछि पोखरेलले परीक्षा स्थगित गरिएको जानकारी गराएका थिए । जबकि, आजै दिउसो बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले बिहीबार (६ चैत्र) देखि सुरु हुने एसइई परीक्षा सुरक्षित रुपमा सम्पन्न गर्ने निर्णय गरेको थियो । समन्वय समिति बैठकको १५ बुँदे निर्णयको १२ औँ बुँदामा स्पष्टरुपमा भनिएको थियो, ‘२०७६ चैत्र ६ देखि सञ्चालन हुन गइरहेको एसइई परीक्षा प्रत्येक केन्द्रहरुमा स्वास्थ्य जाँच सहितको हेल्थ डेस्क स्थापना गरी सुरक्षित एवं व्यवस्थित रुपमा सम्पन्न गर्ने ।’ 

माधव नेपाल अनुपस्थित 
नेकपा केन्द्रीय सचिवालय ९ सदस्यीय छ । तर, बुधबारको बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डसहित ८ सदस्य मात्र बैठकमा उपस्थित थिए । बैठकमा अनुपस्थित हुने नेता थिए, माधव नेपाल । लुम्बिनीमा रहेका कारण वरिष्ठ नेता नेपाल आजको बैठकमा अनुपस्थित भएका हुन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आयोजना गरेको कार्यक्रमका लागि उनी लुम्बिनी पुगेका हुन् । उनी ७ चैत्रमा मात्र काठमाडौं फर्कने कार्यक्रम छ ।